लोकसेवा परीक्षा बिथोल्न खोजेपछि नेपाल आदिवासी जनजाति महासंघका ४ जना पक्राउ

बिएल

लोकसेवा आयोगको परीक्षा विथोल्न खोजेको आरोपमा नेपाल आदिवासी जनजाति महासंघका ४ पदाधिकारीलाई प्रहरीले शनिबार बिहान खोटाङको दिक्तेल बहुमुखी क्याम्पसबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा महासङ्घ खोटाङका सचिव रवीन खम्बु, सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामे रहेका छन्।

खोटाङका प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको अवस्थामा विथोल्न खोजेपछि तीन पुरुष र एक महिलालाई पक्राउ गरिएको बताए।

‘परीक्षा केन्द्रमा प्रवेश गरेर हो–हल्ला गर्ने, प्रश्नपत्र र उत्तरपुस्तिका खोस्ने काम गरेको हुनाले पक्राउ गरिएको हो,’ उनले भने।

संविधानमा समावेशी र समानुपातिक व्यवस्था गरिएपनि त्यस विपरीत लोकसेवा आयोगले परीक्षा लिएको भन्दै महासंघले शनिबार १ नम्बर प्रदेश बन्दको आवहान गरेको थियो।

महासंघका अध्यक्ष हात्तीराम राईले आफ्ना कार्यकर्ता पक्राउ परेकोमा विरोध जनाएका छन्।

 

प्रकाशित मिति: : 2019-07-20 11:19:59

प्रतिकृया दिनुहोस्