प्रधानमन्त्रीको ट्वीट : मेरो स्वास्थ्यमा तीव्र सुधार भइरहेको छ

फाइल तस्बिर: बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अस्पताल भर्ना भएको तेस्रो दिन थप सुधार देखिएको छ।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान ट्वीटर ह्याण्डलमार्फत आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको बताएका छन्। उनले स्वास्थ्यस्थितिबारे चासो राख्ने तथा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यावादसमेत दिएका छन्।

उनले लेखेका छन्,

बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ। स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

 

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसीयूमा उपचाररत् प्रधानमन्त्री ओलीले पत्नी राधिकासहित सीमित व्यक्तिसँगमात्र भेटेका छन्।

उनले बिहीबार बिहानदेखि सामाजिक सञ्जालमा व्यक्त प्रतिक्रियाहरू समेत हेरिरहेको सचिवालयका एक सदस्य रामशरण बजगाईले बताएका छन्।

मंसिर १० गते एपेन्डिसाइटिसको अपरेसन गरेका ओली ‘त्रिविस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जमा उपचाररत छन्। ​प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै प्रमको सवास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जनाएका हुन्। उनलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित चिकित्सकको निरन्तर निगरानीमा राखिएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-28 11:25:19

प्रतिकृया दिनुहोस्