श्रीलंकन खेलाडीसँग हारेपछि उसुमा नयाँ बखेडा,भारत र नेपालले गर्‍यो पदक बहिस्कार

तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत उसुको ताइजिजान थाउलो प्रतिस्पर्धाको रजत र कास्य विजेता खेलाडीले पदक बहिस्कार गरेका छन्।

बुधबार लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको थाउलोतर्फको खेलमा श्रीलंकाले स्वर्ण जितेसँगै विवाद सिर्जना भएपछि नेपाल र भारतले पदक बहिस्कार गरेका हुन्।

उक्त स्पर्धामा रेफ्रीले श्रीलंकाका थारिदु नमाल अनुरथलाई कुल १८ दशमलब ९० अंक दिएको थयो। तर, रजत विजेता भारतका ज्ञानदास सिंहले १८ दशमलब ७४ अंक र कास्य जितेका नेपालका हरिप्रसाद गोलले कुल १८ दशमलब ४९ अंक प्राप्त गरेपछि विरोध सिर्जना गरेका थिए।

फल्ट गणना गर्दा श्रीलंकन खेलाडीलाई धेरै अंक दिइएको भन्दै नेपाल र भारतका प्रशिक्षकले विरोध गरेका हुन्।

खेलका अफिसियलहरुले असन्तुष्टी व्यक्त गरिरहदाँ दर्शकले भने म्याटमा पानीको बोतले प्रहार गरेका थिए। यता नेपालका खेलाडी हरिप्रसाद गोलेले पनि म्याटमा नै करिब आधा घण्टा धर्ना दिए। त्यसपछि उनीहरुलाई प्रहरीले त्यहाँबाट हटाएको थियो। प्रहरीको बलमा हटाएसँगै राेकिएकाे खेल पुनः सुरु गरिएको थियो। तर,उक्त पदक वितरण समारोह भने नेपाल र भारतका खेलाडी गएनन्।

नेपाल उसु संघका अध्यक्ष विर बहादुर तामाङले आफूहरु करिब १० मिनेट जति नेपाल र भारतको खेलाडीलाई पदक दिन कुरेपनि स्टेजमा नेपाल र भारतका केही खेलाडी र उनीहरुका प्रतिनीधि नआएको बताए। 'श्रीलंकाका खेलाडी पदक लिन स्टेजमा पुगिसकेका थिए। त्यहीँ नजिकै नेपाल र भारतको खेलाडी र उनीहरुका प्रतिनीधि थिए। तर, हामीले बारम्बार बोलाउँदा पनि आएनन्,' उनले भने।

अध्यक्ष तामाङले उक्त पदक बहिस्कार गरेपछि पुरस्कार वितरण बिहिबारको लागि सारिएको बताए।

भारतका मुख्य प्रशिक्षक रभी प्रकाश त्रिपाठी र सचिदानन्दले आफ्ना खेलाडी विश्व वरियताको चोथौ स्थान रहेको र श्रीलंकाका खेलाडी कुनै पनि वरियतामा नभएको कारण आफूहरुले पदक पाउनुपर्ने दाबी गरे। उनले रेफ्रीकै मिलेमहतोमा श्रीलंकाका खेलाडीलाई जिताएको भन्दै पदक नतिजा स्विकार नहुने बताए।

'दक्षिण एसियाली जुरी संघका अध्यक्ष श्रीलंकाकै छन् त्यसैले उनीहरुले आफ्नै खेलाडीलाई जिताए।' उनले बिएल नेपालीलाई भने 'हामीलाई धाधली गरेर हराएका कारण पदक लिन गएनौं।'

उनले जुरी संघले निर्णय नसच्याए बिहिबारको लागि सारिएको पदक बितरण कार्यक्रम पनि बहिस्कार गर्ने चेतावनी दिए। अहिले दक्षिण एसियाली जुरी संघ,नेपालका प्रतिनीधि र भारतका प्रतिनीधि  छलफल गरेर उक्त विवाद मिलाउने प्रयास भइरहेकाे छ।

प्रकाशित मिति: : 2019-12-04 15:57:27

प्रतिकृया दिनुहोस्