रोमाञ्चक खेलमा चेन्नईलाई १ रनले हराउँदै मुम्बई चौथो पल्ट आइपिएल विजेता

तस्वीरः एजेन्सी

काठमाडौं– मुम्बईले रोमाञ्चक खेलमा चेन्नई सुपर किङ्सलाई १ रनले पराजित गर्दै आइपिएलको १२ औं संस्करणको विजेता बन्न सफल भएको छ।

अघिल्लो ओभरमा २० रन खर्चेका लासिथ मालिङ्गाले चेन्नईलाई अन्तिम ओभरमा रोकेपछि मुम्बई चौथो पल्ट आइपिएल उपाधि जित्न सफल भयो।

चेन्नईलाई अन्तिम १ बलमा २ रन आवश्यक थियो। तर, मालिङ्गाले सार्दूल ठाकुरलाई एलबिडब्लुको धरापमा पारेपछि मुम्बईले उपाधि हात पार्यो।
चेन्नई चौथो पल्ट फाइनल पुगेर पराजित भएको हो।

टस जितेर पहिलो ब्याटिङ गरेको मुम्बईले ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो। प्रत्युत्तरमा चेन्नई ७ विकेटको क्षतिमा १ सय ४७ रन बनाउँदै खुम्चिन पुगे।

चेन्नईले बिस्फोटक सुरुवात गरेको थियो। ३५ बलमै ५० रन, त्यो पनि एक विकेट पनि नझारिकन पुरा गरेको चेन्नई जसप्रीत बुमरा र राहुल चाहरको बलमा उल्झिन पुगेको थियो। चाहरले ४ ओभरमा १४ रन मात्र खर्चेर १ विकेट लिएका थिए। बुमराहले पनि १४ रन खर्चेर २ विकेट लिए।

शेन वाट्सनले ८० रन बनाएर खेल तान्ने ठूलो प्रयास गरेका थिए। तर, अघिल्लो ओभरमा मालिङ्गालाई १ छक्का र तीन चौका प्रहार गरेका वाट्सन अन्तिम ओभरमा दूर्भाग्यपूर्ण रुपमा रन आउट भएका थिए। यसपछि चेन्नईले खेल गुमाएको थियो। उनले ४ छक्का र ८ चौका प्रहार गरे।

डु प्लेसिसले पनि २६ रन बनाएका थिए। वाट्सन र डु प्लेसिस मिलेर पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए। सुरेश रैना (८), रायडु (१) र कप्तान महेन्द्रसिंह धोनी (२) चाँडै आउट हुनु पनि चेन्नईका लागि दूर्भाग्य सावित भयो। धोनी रन आउट भएका थिए। उनी इशान किशनको सिधा थ्रोमा रन आउट भएका थिए।
ड्वान ब्राभो (१५) ले पाँचौ विकेटका लागि वाट्सनसँग मिलेर खेललाई अगाडि बढाउने प्रयास गरेका थिए।

यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको मुम्बईका लागि कप्तान रोहित शर्माले १५, क्विन्टन डी काकले २९, सूर्यकुमार यादवले १५, इशान किशनले २३, किरोन पोलार्डले अविजित ४१ र हार्दिक पाण्ड्याले १६ रन बनाएका थिए।

४ छक्का हानेर घातक बनिरहेका डी काकलाई सार्दूल ठाकुरले विकेट पछाडि कप्तान महेन्द्रसिंह धोनीबाट क्याच गराएपछि मुम्बईको ठूलो योगफल जोड्ने योजनामा कमी आएको थियो। १५ ओभरसम्म १ सय २ रन मात्र बनाएको मुम्बईका लागि पोलार्ड र पाण्ड्याले पाँचौ विकेटका लागि बिस्फोटक साझेदारी गरे। १६ ओभरमा पाण्ड्याको क्याच सुरेश रैनाले छोडेका थिए। उनले यसपछि एउटा छक्का र चौका हिर्काएका थिए। उनी दीपक चहरको बलमा एलबिडब्लुको शिकार भए। उनीहरूले २२ बलमा ३९ रनको साझेदारी गरेका थिए।

पोलार्डले मुम्बईबाट सर्वाधिक रन बनाए। उनले ३ छक्का र ३ चौकाको सहयोगले २५ बलमा ४१ रन बनाए।

राहुल शर्मालाई आउट गरेका दीपक चहरले ३ विकेट लिए। इमरान ताहिरले २ तथा सार्दूल ठाकुरले २ विकेट लिए।

यस सिजनको आइपिएलमा मुम्बईले चेन्नईलाई चौथो पल्ट पराजित गरेका हो।

प्रकाशित मिति: : 2019-05-13 00:23:16

प्रतिकृया दिनुहोस्