यौन उत्पीडन मुद्धामा वैशाखी टेकेर पुलिस थानामा नेइमार, ५ घण्टा बयान

तस्वीरः एजेन्सी

ब्राजिलका स्टार स्ट्राइकर नेइमारलाई यौन उत्पीडनको मुद्धामा ब्राजिली प्रहरीले ५ घण्टा बयान लिएको छ।

चोटका कारण यसपालिको कोपा अमेरिका कप गुमाएका नेइमारलाई विहिबार दिउँसो ४ बजेदेखि राती ९ बजेसम्म ब्राजिली प्रहरीले साओ पाउलोमा बयान लिएको अन्तर्राष्ट्रिय मिडियाहरूले जानकारी दिएका छन्।

नेइमारलाई एक महिलाले सोशल मिडियामार्फत यौन उत्पीडनको आरोप लगाएकी थिइन। प्रहरीलाई बयान दिएर बाहिरिएका नेइमारले आफूमाथि मित्थ्या आरोप लगाइएको बताए। उनले केही दिनमै सत्यता बाहिर आउने दावी गरे।

नेइमार वैशाखीको सहारा लिँदै प्रहरी चौकी पुगेका थिए। नेइमारको बयान सकिएपछि यौन उत्पीडनको आरोप लगाउने महिला नजिला त्रिनदादेविरूद्ध प्रहरीमा अपमानको उजुरी दर्ता गराएका छन्।

नजिलाले यसअघि स्थानीय एक न्युज च्यानललाई अन्तर्वार्ता दिने क्रममा नेइमारले पैसाको बलमा प्रहरीलाई किन्न सक्ने आरोप लगाएकी थिइन।

ब्राजिलको एउटा अनलाइनले हालै गरेको एउटा सर्वेक्षणमा नेइमारलाई निर्दोष मान्नेको संख्या ६० प्रतिशत देखिएको थियो। २ हजार ७१ जनासँग गरिएको सर्वेक्षणमा १४ प्रतिशतले नेइमार गलत भएको बताएका थिए। २६ प्रतिशत मौन देखिए।

नजिलाले पेरिसको एउटा होटलमा नेइमारले आफूसँग जबदस्ती यौन शोषण गरेको आरोप लगाएकी थिइन। नजिला ब्राजिलकी महिला हुन्। उनले नेइमारसँग आफ्नो भेट इन्स्टाग्राममार्फत भएको बताएकी थिइन।

उनले पेरिस जान नेइमारले नै आग्रह गरेको र पेरिसको एउटा होटलमा नशामा धुत भएर आफूलाई जबरदस्ती गरेको आरोप लगाइन्।

नेइमारका बुवाले पैसाको लोभमा नजिलाले आफ्नो छोरालाई ब्ल्याकमेल गरेको दावी गरेका छन्।

प्रकाशित मिति: : 2019-06-14 12:44:29

प्रतिकृया दिनुहोस्