श्रीलंकाले यसरी जितेको थियो छैठौं विश्वकप क्रिकेट

तस्बिरः बिएल

छैठौं विश्वकप क्रिकेटको आयोजना सन् १९९६ मा भारत, पाकिस्तान, श्रीलंकाले संयुक्त रूपमा गरे । यतिबेला श्रीलंकामा गृहयुद्ध उत्कर्षमा थियो । त्यसैले वेष्ट इन्डिज र अस्ट्रेलियाले श्रीलंकामा निर्धारण भएको उनीहरूको समूहगत खेल नखेल्ने निर्णय गरे । गृहयुद्धका कारण आर्थिक अवस्थासमेत दयनीय भएको श्रीलंकाले छैठौं विश्वकपको उपाधि जितेर सबैलाई आश्चर्यचकित तुल्यायो।
अनुभवी अर्जुना रणातुङ्गाको कप्तानीमा उत्रेको श्रीलंकाले फाइनलमा अस्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै समूह चरणको खेल श्रीलंकासँग नखेल्ने निर्णयलाई गतिलो जवाफ दियो। भारतविरुद्ध सेमिफाइन र अस्ट्रेलियाविरुद्धको फाइनलमा लगातार सतक बनाउँदै अरबिन्द डि सिल्भाले नयाँ इतिहास रचे। भारतको कोलकातास्थित इडेन गार्डनमा श्रीलंकाले पहिलो इनिङमा बनाएको २ सय ५१ रन पछ्याउने क्रममा भारतले १ सय २० मा ८ विकेट गुमाएपछि दर्शकले खेल बीचैमा बिथोलेका थिए। श्रीलंकामा यही विश्वकपमार्फत सनथ जयसूर्याका रूपमा पिन्च हिटरको जन्म भयो ।
आइसिसीले ९ वटा टेस्ट राष्ट्रबाट बढाएर छनोट खेल खेलेको आधारमा थप ३ राष्ट्रलाई समावेश गराएको थियो। जसमा केन्या, युनाइटेड अरब इमिरेट्स (युएई) र नेदरल्याण्ड्सले पहिलो पल्ट विश्वकप खेले।
दक्षिण अफ्रिकाका ग्यारी क्रस्टर्नले युएईविरुद्ध १ सय ८३ रन बनाउने क्रममा विश्वकपमा कपिल देवको सन् १९८३ को उच्च योगफलको कीर्तिमान भंग गरे। छैठौं विश्वकपमा जयसूर्या म्यान अफ द सिरिज भए। तर, सर्वाधिक रन ५ सय २३ तेन्दुलकरले बनाए। सर्वाधिक विकेट भारतकै लेग स्पिनर अनिल कुम्बलेले लिए। छैठौं विश्वकपको प्रायोजन विल्स चुरोटले गरेको थियो। त्यसैले यस विश्वकपलाई विल्स विश्वकप पनि भनिन्छ।

प्रकाशित मिति: : 2019-06-23 14:56:35

प्रतिकृया दिनुहोस्