अमेरिका मध्यावधि निर्वाचन २०२२

अमेरिकी चुनावमा दुई नेपाली ह्यारी र सराहना विजयी

डा. प्रदीप भट्टराई

बाल्टिमोर, अमेरिका

अमेरिकालाई नेपाली समुदायले दुई राज्य विधायक दिने सुनिश्चित भएको छ। मेरिल्याण्ड हाउस अफ एसेम्बेली सदस्यका लागि डिस्ट्रिक्ट ८ का डेमोक्रेट उम्मेद्वार डेलिगेट डा. ह्यारी भण्डारी र न्युयोर्क हाउस अफ एसेम्बेली सदस्यका लागि डिस्ट्रिक्ट १०३ की डेमोक्रेट उम्मेद्वार सराहना श्रेष्ठ दुबै विजयी भएका छन् । मेल इन ब्यालेटको गणना पूरै नसकिएको र प्रोभिजिनल मत गन्न बाँकि रहेकाले परिणामले औपचारिकता भने पाइसकेको छैन ।  ।

दोस्रो कार्यकालका लागि उम्मेद्वारी दिएका डा. भण्डारी १३,९४९ (२०.२७%) मत प्राप्त गरेका छन् । उनले अर्ली भोटिङबाट ३,५४२, मतदान केन्द्रबाट ९,४५६ र आंशिक रूपमा गणना भएको मेल इन ब्यालेटबाट ९५१ मत पाएका हुन्। उनले यी तीनै खालका मतमा आफ्नो अग्रता बनाएका छन् ।

अझै पनि मेल इन ब्यालेटको गणना पूरै सकिएको छैन भने प्रोभिजिनल मत भने गन्नै बाँकि छ । तर, सामान्यत: यी बाँकि मतले जीत-हारको निर्णय गर्दैनन् । यद्धपि, निर्वाचन आयोगले सबैखाले मत गणना गरिसकेपछि मात्रै निर्वाचन परिणामलाई औपचारिकता दिन्छ । 

तीन स्थानका लागि भएको चुनावमा उनलाई पछ्याउने अन्य दुईजना पनि डेमोक्रेटिक पार्टीकै उम्मेद्वार छन्। दोस्रो स्थानमा रहेका डेलिगेट कार्ल ज्याक्सनले १३,३०१(१९.३३%) मत र निक एलेन १२,५४७(१८.२४%) मत ल्याएका छन्। तीनैजना रिपब्लिकन उम्मेद्वारहरू तीनहजारभन्दा बढी मतान्तरले पछि परे । 

यस निर्वाचन डिस्ट्रिक्टबाट तीनजनै डेमोक्रेट्सले जितेकाले धेरै वर्षपछाडि यो डिस्ट्रिक्ट नीलो भएको छ। यसअघि २०१४ मा दुई रिपब्लिकन र १ डेमोक्रेटसले जितेको यो क्षेत्रमा २०१८ मा दुई डेमोक्रेट्स र एक रिपब्लिकनले जितेका थिए।

यसैगरी न्युयोर्क हाउस अफ एसेम्बेली सदस्यका लागि डिस्ट्रिक्ट १०३ बाट उम्मेद्वार रहेकी नेपाली-अमेरिकी सराहना श्रेष्ठले ३५,४९३
(५८.७०%) मतसहित भारी मतले विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी रिपब्लिकन उम्मेद्वार प्याट्रिक सिहान २३,१०४ (३८.२१%) मतका साथ धेरै पछि परे ।

यी दुबै नेपाली मूलका उम्मेद्वारको जीतले अमेरिकामा नेपाली अरू बढी देखिने र सुनिने भएका छन् । उनीहरूको जीतबाट अमेरिकी मूलधारको राजनीतिमा डा. ह्यारी भण्डारीले डेलिगेटका रूपमा खोलेको खाता एकबाट दुई भएको छ । २०१८ मा अमेरिकाकै सबैभन्दा पुरानो संसद मेरिल्याण्डको एनापोलिसमा नेपाली अनुहार देखिएको थियो, नेपाली स्वर सुनिएको थियो । यसपटक त्यो अनुहार अरू चीर परिचित हुने छ भने त्यो स्वर अरू मुखरित हुने छ। 

उता, एम्पायर स्टेट भनिने न्युयोर्कको राजधानी अल्बानीस्थित संसद भवनमा पनि सराहना श्रेष्ठ विधायकका रूपमा प्रवेश गरेकी छिन् ।  उनी अमेरिकामा यस्तो इतिहास बनाउने पहिलो नेपाली मूलकी नेपाली-अमेरिकी महिला हुन् । 

प्रकाशित मिति: : 2022-11-09 10:39:00

प्रतिकृया दिनुहोस्