प्रतिबन्धबाट फर्किएको १६ महिनापछि स्मिथको सतक

Agency

प्रतिबन्धको १६ महिनापछि टेस्ट टिममा फर्किएका अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथले इंग्ल्यान्डविरूद्ध शुक्रबारदेखि सुरु भएको एसेजको पहिलो टेस्टमा सतकबाट पुनरागमन गरेका छन्।

एजबस्टनमा सुरु भएको टेस्टको पहिलो इनिङमा स्मिथले १ सय ४४ रनको सतकीय इनिङ खेलेपछि अस्ट्रेलियाले २ सय ८४ रन बनायो। स्मिथको टेस्टमा २४ औं सतक थियो।

गत मार्चमा दक्षिण अफ्रिकाविरूद्ध बललाई बिगारेको आरोपमा उनीमाथि एक वर्षको प्रतिबन्ध लागेको थियो। यसै महिना सम्पन्न भएको एकदिवसीय क्रिकेटको विश्व कपबाट अस्ट्रेलियाली टिममा फर्किएका स्मिथले एसेजमार्फत टेस्टमा पुनरागमन गरेका हुन्।

स्मिथसँगै डेभिड वार्नर र बेनक्राफ्ट पनि यही खेलमार्फत टेस्टमा फर्किएका हुन्। वार्नर २ र बेनक्राफ्ट ८ रनमा आउट भएपछि अस्ट्रेलिया अफ्ठेरो अवस्थामा पुगेको थियो।
तर, स्मिथको उत्कृष्ट इनिङका कारण कंगारु टोली सम्हालिन पुग्यो। स्मिथले १६ चौका र २ छक्का पनि प्रहार गरेका थिए।

कप्तान टिम पेनले टस जितेर अस्ट्रेलियाले पहिलो ब्याटिङ गरेको थियो। अस्ट्रेलियाका लागि उस्मान ख्वाजाले १३, ट्रविस हेडले ३५, म्याथ्यु बेडले १, कप्तान पेनले ५, जेम्स पेटिन्सनले ० र पेट कमिन्सले ५ रन बनाएका थिए। पिटर सिडलले ४४ र लियोनले अविजित १२ रन बनाएका थिए।

इंग्ल्यान्डका लागि स्टुवार्ट ब्रोडले ५ र क्रिस ओक्सले ३ विकेट लिएका थिए। बेन स्टोक्स र मोइन अलीले १–१ विकेट बाँडे।

प्रकाशित मिति: : 2019-08-02 14:06:21

प्रतिकृया दिनुहोस्