स्मिथले तोडे विराट, सचिन र गावस्करको कीर्तिमान

Agency

अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथले १६ महिनापछि टेस्टमा फर्किने क्रममा भारतका तीन स्टार ब्याट्सम्यान कप्तान विराट कोहली, सचिन तेन्दुलकर र सुनिल गावस्करको कीर्तिमान भंग गरेका छन्।

दक्षिण अफ्रिकाविरूद्ध बल बिगारेको आरोपमा उनी प्रतिबन्धित भएका थिए। १६ महिनापछि इंग्ल्यान्डविरूद्ध एसेजमा फर्किने क्रममा उनले पहिलो इनिङमा १ सय ४४ रन बनाए। उनको टेस्टमा यो २४ औं सतक थियो। उनले १ सय १८ इनिङमा २४ सतक पुरा गरेका हुन्।

भारतीय कप्तान विराटले १ सय २३, सचिनले १ सय २५ र गावस्करले १ सय २८ इनिङमा २४ सतक पुरा गरेका थिए।

स्मिथ कम इनिङमा २४ सतक बनाउने विश्वको दोस्रो खेलाडी बन्न पुगेका छन्। यसअघि उनकै देशका महान ब्याट्सम्यान सर डन ब्रेडम्यानले ६६ इनिङमा २४ सतक बनाएका थिए।

एसेजमा स्मिथले पछिल्लो ९ इनिङमा ७ औं सतक पुरा गरेका हुन्। उनले एसेजमा नवौं सतक पनि पुरा गरेका छन्। उनी एसेजमा नौभन्दा बढी सतक बनाउने छैटौं ब्याट्सम्यान हुन्। यसअघि ब्रेडम्यानले १९, ज्याक हब्सले १२, स्टिभ वाँले १० सतक बनाएका थिए। स्मिथले ४२ इनिङमा ६० को औसतले ९ सतक बनाएका हुन्।

पहिलो इनिङमा सतक बनाएपछि भावुक बनेका स्मिथले भने, ‘प्रतिबन्धपछि क्रिकेटमा पुनरागमन हुने विश्वास पनि गरेको थिइन। प्रतिकुल स्थितिमा सतक बनाएकोमा आफूलाई नै गर्व लागिरहेको छ।’

स्थिम मैदानमा उत्रिँदा इंग्लिस समर्थकले रुइरहेको मास्क लगाएर उनको मजाक उडाएका थिए।

प्रकाशित मिति: : 2019-08-02 16:01:54

प्रतिकृया दिनुहोस्