सांसदहरुको ब्यस्तताका कारण तिहारपछि मात्रै कारागारको अनुगमन हुने

फाइल तस्बिर

संसदको कानून, न्याय तथा मानव अधिकार समितिले तिहारलगत्तै देशभरका कारागारको अनुगमन गर्ने भएको छ ।

कारागारको भौतिक अवस्था, कैदीहरुको मानव अधिकार, भूकम्पपछिको पूनर्निमाण लगायतका विषय बुझ्न स्थलगत अवलोकनमा जाने तयारी गरिएको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।

यसअघि दशैं र तिहारको बीचमा सात वटै प्रदेशमा कम्तीमा दुई वटा नघट्ने गरी कारागारहरुको अनुगमन गर्ने समितिको निर्णय थियो । तर, सांसदहरुको ब्यस्तताका कारण दशैं बिदामा नभ्याइएको समिति सभापति पोख्रेलले बताए ।

कैदीहरु न्युनतम मानवीय सुविधाबाट बञ्चित रहेको, स्वास्थ्य उपचारमा समेत हेलचक्र्याईं भएको, क्षमता भन्दा बढी कैदी राखिएको जस्ता गुनासो समितिमा आएको छ ।

नेपालको अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदी रहेको सरकारी तथ्याङ्क छ । गृहमन्त्रालयका सचिव प्रेमकुमार राईका अनुसार नेपालमा करिब १९ हजार कैदी छन्, तर कारागारको क्षमता १२ हजार कैदी रहन सक्ने मात्रै छ ।

कारागारमा क्षमता भन्दा दोब्बर बढी कैदी हुँदा सरसफाइमा र स्वास्थ्य उपचारमा समेत हेलचेक्र्याँई गरेको लगायतका गुनासाहरु धेरै आएको जनाइएको छ ।

प्रकाशित मिति: : 2019-10-11 17:17:24

प्रतिकृया दिनुहोस्