पाकिस्तान क्रिकेट बोर्डले पूर्व कप्तान मिस्बाह उल हकलाई प्रमुख प्रशिक्षक र छनोटकर्ताको जिम्मेवारी सुम्पिए बापत २८ लाख अमेरिकी डलर पाउने सम्झौंता भएको छ।
पाकिस्तानले मिस्बाहलाई तीन बर्षको लागि अनुबन्धित गरेको छ।
उनको अनुबन्ध श्रीलंकाको पाकिस्तान भ्रमणको क्रममा सुरु हुनेछ। श्रीलंकाको टिम सन् २००९ पछि पाकिस्तान आउन लागेको हो। १० वर्षअघि लाहोरमा खेल्न जाने क्रममा श्रीलंकाली टिमको बसमाथि आक्रमण भएको थियो। त्यसपछि श्रीलंकाले पाकिस्तानको भ्रमण गरेको थिएन।
यसै महिना पाकिस्तानले तीन एकदिवसीय र टि–२० शृंखला खेल्दैछ। पाकिस्तानी टिमको कप्तानमा सरफराज अहमद रहने छन्।
विश्व कपपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय शृंखला खेल्न लागेको हो। पाकिस्तान विश्व कपको सेमिफाइनलभन्दा अगाडि नै बाहिरिएको थियो। यसपछि पाकिस्तानले मिकी आर्थरलाई प्रशिक्षकबाट हटाएको थियो।
पाकिस्तानी मिडियाका अनुसार मिस्बाहले बार्षिक २८ लाख अमेरिकी डलर पाउने छन्। यसअघि छनोट कमिटीको अध्यक्ष रहेका इन्जमाम उल हकले १६ लाख अमेरिकी डलर पाउने गर्थे।
पाकिस्तानले बलिङ प्रशिक्षकमा वकार युनिसलाई नियुक्त गरेको छ। मिस्बाहकै अनुरोधमा वकार पाकिस्तानको टिमसँग जोडिएका हुन्।