अन्तिम मिनेटमा सम्हालिन नसक्दा एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको छ। छनोट अन्तर्गत समूह ए मा रहेको नेपालले जोर्डनको प्रिन्स मोहम्मद रंगशालामा खेलको ७४ औं मिनेटमा अग्रता बनाएको थियो। नेपालका लागि दिपेश राईले गोल गरेका थिए ।
तर,निर्धारित समयपछि थपिएको ५ मिनेटको इन्ज्यूरी समयको अन्तिम मिनेटमा कुवेतले पेनाल्टी पायो। अब्दुलवाहव अलहिन्दीले गोल गरी नेपालसँग अंक खोस्न सफल भए।
समूहको आफ्नो पहिलो खेलमा घरेलु टोली जोर्डनसँग ७–० को फराकिलो पराजय ब्यहोरेको नेपालका लागि आत्मविश्वास फर्काउने उपयुक्त अवसर थियो।
हालैमात्र विश्वकप तथा एसियाली छनोट अन्तर्गतको खेलमा सिनियर टोलीले कुवेतविरुद्ध ठूलो अन्तरको लज्जास्पद पराजय ब्यहोरे पनि युवा टोलीले पनि शानदार प्रदर्शन गरेका थिए।
पाँच टोली सम्मिलित समूह एमा बराबरीसँगै नेपालले २ खेलमा १ अंक जोडेको छ। २ खेलबाट कुवेतको ४ अंक छ। पहिलो खेलमा कुवेतले श्रीलंकालाई हराएको थियो।
समान १ खेल खेलेको जोर्डन र ताजिकिस्तानको ३–३ अंक छ। २ खेलमा पराजय ब्यहोरेको श्रीलंका अंकविहीन छ।
अब नेपालले तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानसँग खेल्नेछ । यस्तै अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ ।
छनोट चरणमा ११ समूहका शीर्ष हुने सन् २०२० मा आयोजना हुने एएफसी च्याम्पियनसिपका लागि छनोट हुनेछन्। त्यस्तै, उत्कृष्ट ४ उपविजेताले पनि अन्तिम प्रतियोगिताका लागि अवसर पाउनेछन्।