भारतले दक्षिण अफ्रीकालाई सहजै हराएको छ। दोस्रो टी-२० मा भारतले पाहुना टोली दक्षिण अफ्रिकालाई ७ विकेटले सहजै हराएको हो। दक्षिण अफ्रिकाले दिएको १५० रनको सामान्य लक्ष्य भारतले १९ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो।
लक्ष्य पछ्याउने क्रममा रोहित शर्मा १२ रन बनाएर आउट भएपछि शिखर धवन र विराट कोहलीले दोस्रो विकेटको लागि ६१ रनको साझेदारी गरेका थिए।
१२ औं ओभरमा ताब्रिज शाम्सीले लंग अन बाउन्ड्रीमा उत्कृस्ट क्याच लिँदै धवनलाई आउट गरे। उनले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए।
धवनको विकेट पछि रिशभ पन्त ४ रन बनाएर आउट भए। त्यसपछि कोहली र श्रेयस ऐयरले चौथो विकेटको लागि अविजित ४७ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।
कोहलीले २१ औं अर्धशतक बनाउने क्रममा ५२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए। ऐयरले अविजित १४ बलमा २ चौका प्रहार गर्दै १६ रन बनाए।
प्लेयर अफ द म्याचसमेत रहेका कोहली टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।
कोहलीको ७१ खेलमा २ हजार ४ सय ४१ रन बनाए भने दोस्रो स्थानमा रहेका रोहित शर्माको २ हजार ४ सय ३४ रन छ।
तेस्रो स्थानमा न्युजिल्याण्डका मार्टिन गुप्टिलको २ हजार २ सय ८३ रन छ।
कोहलीको टेस्ट, एकदिवसीय र टी-२० तीनै फर्म्याटमा औसत ५० भन्दा माथि रहेको छ, जुन विश्व क्रिकेटमा कसैको पनि छैन।
यसअघि टस हारेर ब्याटिङ गर्ने क्रममा दक्षिण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो।
ओपनर तथा कप्तान क्विनटन डीककले सर्वाधिक ५२ तथा तेम्बा बभुमाले ४९ रन बनाएर राम्रो सुरुवात गरे पनि त्यस पछि मध्यक्रमका खेलाडीले रन बनाउन नसक्दा अफ्रिकी टोली मध्यम योगफलमा समेटियो।
ओपनर रिजा हेन्ड्रिक्स ६ रन बनाएर आउट भएपछि डीकक र बभुमाले दोस्रो विकेटको लागि ५७ रनको साझेदारी गरेका थिए। डीकक आउट भए पछि भने दक्षिण अफ्रीकाले ठूलो साझेदारी बनाउन सकेन।
भारतका लागि दिपक चाहरले २ तथा नभदिप सैनी , रभिन्द्र जडेजा र हार्दिक पान्ड्याले समान १/१ विकेट लिए।
सिरिज अन्तर्गत पहिलो टी-२० वर्षाको कारण नतिजाविहिन रहेको थियो। तेस्रो तथा अन्तिम टी-२० आइतबार बैंगलुरुमा खेलिनेछ।