दशकपछि पाकिस्तानले घरेलु मैदानमा श्रीलंकालाई हरायो

तस्बिरः एजेन्सी

श्रीलंकाविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा पाकिस्तान विजयी भएको छ। एक दशकपछि पहिलो पटक अन्तर्राष्ट्रिय टिमसँग घरेलु मैदानमा सिरिज खेलेको पाकिस्तानले पाहुना टोली श्रीलंकालाई ६७ रनले पराजित गर्‍यो ।

पाकिस्तानले दिएको ३०६ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका ४६.५ ओभरमा २३८ रनमा अलआउट भयो।

२८ रनमा पाँच विकेट गुमाएको श्रीलंकाका लागि शेहान जयसुरिया र दासुन शेनाकाले छैठौं विकेटका लागि १७७ रनको उत्कृष्ट साझेदारी गरे।

जयसुरियाले ९६ रन बनाएर आउट हुनु अघि १०९ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए।

शनाकाले ६८ रन जोड्ने क्रममा ८० बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे। अन्य खेलाडीको प्रदर्शन खराब रह्यो ।

श्रीलंकालाई हराउनका पाकिस्तानका उश्मान सिनवारीले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए। यस्तै सादब खानले २ विकेट हात पारे।

यसअघि कराँचीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै ३०५ रन बनायो। उसका लागि बाबर अजामले सतकीय पारी खेले। १०५ बलमा उनले ११५ रनको योगदान दिए। यस्तै फखर जमानले ५४ रन जोड्दा हरिस सोहिलले ४०, इफ्तिकर अहमेदले ३२, इमाम उल हकले ३१ बनाएका थिए।

जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । यसअघि पहिलो खेल भारी वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेल बुधबार हुनेछ। त्यसपछि तीनवटा टि–२० सिरिज खेल हुनेछन्।

प्रकाशित मिति: : 2019-10-01 07:40:59

प्रतिकृया दिनुहोस्