करनकाे नायकत्वमा नेदरल्यान्डमाथि नेपालकाे सनसनीपूर्ण जित

फाइल तस्बिर

पाँचाैं विकेटकाे पतनपछि क्रिजमा प्रवेश गरेका करन केसीकाे नायकत्व ब्याटिङमा नेपालले नेदरल्यान्डमाथी सनसनीपूर्ण ४ विकेटकाे जित निकालेकाे छ। करनले शेन सान्टरकाे अन्तिम ओभरमा २ छक्का १ चाैका प्रहार गरेपछि नेपालले गुमाइसकेकाे खेल जितमा परिणत गर्याे। करणले ४ विकेट पनि लिएका थिए। उनले १४ बलमा ३ छक्का र १ चाैंकाकाे सहयाेगले अविजित ३१ रन बनाए।

उनी ब्याटिङका लागि आउँदा नेपाललाई जितका लागि ४ ओभरमा ४१ रन आवश्यक थियाे। पहिले विनाेद भण्डारीले २२ बलमा २६ रन बनाउँदै जितकाे आशा दिलाएका थिए। उनी आउट भएपछि करनले नायकी खेल खेले। उनले १ बल खेल्न बाँकी रहेकाे अवस्थामा नेपाललाई जित दिलाएका थिए।

यसअघि हङकङलाई अघिल्लाे खेलमा पराजित गरेकाे नेपालकाे ओमानमा जारी पेन्टागुलर टी–२० क्रिकेट प्रतियाेगितामा याे दाेस्राे जित हाे। साेमबार भएकाे खेलमा जितका लागि १ सय ३४ रनकाे लक्ष्य पाएकाे नेपालका लागि कप्तान पारस खड्काले ३३ रन बनाएका थिए। 

नेपालले ढिलाे ब्याटिङ गर्याे। पारस र पवन सरार्फकाे प्रारम्भिक जाेडीले ६ ओभरमा २५ रनकाे साझेदारी गरे। दाेस्राे नम्बरमा आएका आरिफ शेख २ र उपकप्तान दीपेन्द्रसिंह एरी ८ ले टिकेर खेल्न नसक्दा नेपालकाे अवस्था दयनीय बनेकाे थियाे। विनाेदले २ छक्का प्रहार गरेका थिए। पवनले ९ रन बनाए। राेहितले पाैडेलले ५ रन बनाए।  

यसअघि म्याक्स ओडाेडकाे ४३ रनकाे इनिङका कारण नेदरल्यान्डले १९ दशमलव ३ ओभरमा १ सय ३३ रन बनाएकाे थियाे। नेपालका लागि सन्दीप लामिछाने र करन केसीले ४–४ विकेट लिएका थिए। ललित राजवंशीकाे खातामा १ विकेट रह्याे। 

 

प्रकाशित मिति: : 2019-10-07 14:51:47

प्रतिकृया दिनुहोस्