राष्ट्रपति सीसँग प्रचण्डको आग्रह- पार्टीस्तरमा पनि सहयोग र विचार आदानप्रदान गरिदिनुस् (भिडियाे सहित)

बिएल

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुबीच भेटवार्ता भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपाका सचिवालय सदस्यहरुले सीसँग सामूहिक भेटवार्ता गरेका हुन् ।

भेटमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल सहभागी थिए । यस्तै नेकपा नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि भेटमा सहभागी थिए ।

भेटमा राष्ट्रपति सीले आत्मअनुशासन बलियो बनाउन नेकपा नेताहरुलाई सुझाव दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीमा आत्मअनुशासन बलियो रहेको भन्दै उनले नेकपामा पनि आत्मअनुशासन बलियो हुनुपर्नेमा जोड दिए ।

यस्तै सीले नेपालले जुन राजनीतिक उपलब्धी र स्थायित्व हासिल गरेको र विकासको बाटोमा हिँड्न खोजेको भन्दै बधाई दिएका छन् । उनले आगामी दिनमा पनि चीन सधैं साथमा रहने बताए ।नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सीले नेपाल र चीनको सम्बन्ध राम्रो रहेको बताएका छन् ।उनले यसलाई अझ सुदृढ गर्दै लैजानुपर्ने समेत बताएका छन् ।

भेटमा नेकपा अध्यक्ष प्रचण्डले चीनसँगको सम्बन्धलाई आफ्नो पार्टीले महत्व दिने र राष्ट्रपतिको यो भ्रमणमा दुई देशको सम्बन्ध नयाँ उचाइमा पुग्ने बताए ।उनले एक चीन नीतिप्रति नेपालको प्रतिवद्धतालाई व्यवहारमा नै देखाउने समेत बताए ।

प्रचण्डले नेपाल विकासको बाटोमा अगाडि बढ्ने प्रयास गरेको भन्दै यसमा चीनले अहिले गर्दै आएको सहयोगमा गुणात्मक वृद्धिको अपेक्षा गरेको समेत बताएका छन् ।

उनले चीनको विकासबाट नेपाल लाभान्वित हुन चाहेको भन्दै पार्टीस्तरमा पनि सहयोग विचार आदानप्रदान चाहेको बताए । छलफलका क्रममा नेकपा अध्यक्ष प्रचण्डले शब्दमा मात्र नभइ एक चीन नीतिप्रति नेपाल व्यवहारिक रुपमा प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति: : 2019-10-13 12:29:48

प्रतिकृया दिनुहोस्