खेलाडीलाई सरकारले रोजगारीको सुनिश्चितता गर्नुपर्छ: नेता सिंह

१३ औं सागमा पदक विजेता कराँते खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्दै प्रकाशमान सिंह । तस्बिर: बिएल

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय खेलाडीहरुलाई नगद पुरस्कारले मात्रै नपुग्ने भन्दै रोजगारीको व्यवस्था गरिदिनु पर्ने बताएका छन्।

नेता सिंहले खेलाडीलाई नगद पुरस्कारका अतिरिक्त रोजगारीको सुनिश्चितता गर्न सकेमात्र खेल क्षेत्रबाट अपेक्षा अनुरुपको नतिजा आउने भन्दै त्यसतर्फ सोच्न सरकारलाई सुझाव दिए।

‘बिश्वमा खेलाडीलाई खेल क्षेत्रमा प्रोत्साहन गर्नका लागि रोजगारीको ब्यवस्था गर्ने गरेको उदाहरण छ, अब हामीले पनि यतातर्फ सोच्नु पर्छ,’ सिंहले भने।

कराँते महासंघ ललितपुरले आयोजना गरेको कार्यक्रममा १३ औं सागमा पदक जितेका कराँते खेलाडी तथा प्रशिक्षकहरुलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो। देशको गौरव बढाएको भन्दै सबै खेलाडीहरुलाई नेता सिंहले बधाई तथा प्रगतिको शुभकामना दिए ।

यही मंसिर १५ गतेदेखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजित सागको १३ औं संस्करणमा ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यसहित कूल २०६ पदकसहित नेपाल दोस्रो भएको थियो।

प्रकाशित मिति: : 2019-12-14 14:31:49

प्रतिकृया दिनुहोस्