भीडमा घेरिएकी गायिकालाई जोगाउन प्रहरीको ‘लाठी चार्ज’

नयाँ दिल्ली (एजेन्सी)– भारतको राजधानी दिल्लीमा १२ तारिख हुन लागेको निर्वाचनका लागि स्टार प्रचारकहरू जुट्ने क्रम जारी छ।

यसै क्रममा उत्तर पूर्वी दिल्ली लोकसभा सिटका लागि प्रचार गर्न पुगेकी हरियाणाकी डान्सर तथा गायिका सपना चौधरीसँग एउटा रोचक घटना भएको छ।

उनी भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार मनोज तिवारीको पक्षमा प्रचार गर्न दिल्ली पुगेकी थिइन।

प्रचारका लागि उनी आएको खबर स्थानीयले थाहा पाएपछि उनलाई हेर्नेको भीड लागेको थियो। प्रहरीले स्थिति नियन्त्रण गर्न लाठी चार्जसमेत गर्नु पर्यो। घटना गत विहिबार भएको भारतीय मिडियाहरूले बताएका छन्।

सपनाले दिल्लीको मलकागञ्जमा ‘रोड शो’ गरिरहेको बेला उनलाई हेर्नेको भीड लागेको थियो। भीड अनियन्त्रित भएपछि सुरक्षाका लागि खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए।

प्रहरीले आफ्नै गाडीमा राखेर उनलाई सुरक्षित स्थानमा लगेको बताइएको छ। यसअघि उनी मनोज तिवारीसँग खुला गाडीमा प्रचार–प्रसार गर्दै हिडिरहेकी थिइन। केही महिनाअघि सपना चौधरीले भाजपाको सदस्यता लिएको खबर बाहिर आएको थियो।

तर, उनले आफू कुनै पनि राजनीति पार्टीमा आवद्ध नभएको स्पष्ट पारिसकेकी छिन्। हरियाणाको रोहतककी स्थायी वासिन्दा सपनाको गीत निकै चर्चित छ। उनले बलिउडको केही गीतमा पनि स्वर दिएकी छिन्। उनले सलमान खानको ‘बिग बोस’ शृंखलामा पनि भाग लिइसकेकी छिन्।

हरियाणा, बिहार, उत्तर प्रदेश र मध्य प्रदेशमा उनको ठूलो फ्यान फलोअर छन्। उनी एउटा शो गरेको पाँच लाख भारतीय रुपैयाँ लिन्छिन्। सपनाको हरियाणवी गीत ‘सोलिड बडी रे’ सुपर हिट छ। उनले ‘जर्नी अफ भांगओभर’ मा आइटम नम्बर गर्दै बलिउडमा डेब्यु गरेकी थिइन। उनले ‘वीरे कि वेडिङ्ग’ फिल्ममा आवाज दिएको ‘हट जा ताऊ’ गीत निकै चर्चित छ।

अभय देवलले अभिनय गरेको ‘नानु कि जानु’ फिल्ममा अभिनय पनि गरेकी थिइन। यस फिल्ममा उनले ‘तेरे ठुमके सपना चौधरी’ टाइटल गीत पनि गाएकी थिइन।

प्रकाशित मिति: : 2019-05-04 15:06:07

प्रतिकृया दिनुहोस्