गजलकार प्रकट पगेनी ‘शिव’को १९ औं एकल गजल वाचन उनकै गृहथलो पोखरामा भएको छ । बाबुको मुख हेर्ने दिन शुक्रबार घलेल गाउँमा पोखरा क्यानोनिङले आयोजना गरेको कार्यक्रममा उनले दर्शकहरूलाई मन्त्रमुग्ध बनाए ।
‘साँझपख फेवातालमा’ शीर्षक गजलबाट बाचन थालेका पगेनीले जीवनका रंगीन अनुभवसहित गजल सुनाउँदा दर्शक दीर्घाबाट परर तालि बजिरह्यो । ‘वान्स मोर !’ भनिरहे दर्शकले ।
पोखरा बजारबाट पुगेका र स्थानीय गाउँले गरी सय जना श्रोतामाझ उनले गजल सुनाएका हुन् । गजल सुन्नेहरूले ५ हजार रुपैयाँको टिकट काटेका थिए । टिकटमा गजल श्रबण, पोखराबाट आउने–जाने यातायात, ककटेल डिनर र बास सुविधा दिइएको थियो ।
याे पनि पढ्नुहाेस।
गजल बाचनको माहौल तातिरहेका बेला झमझम पानी पर्यो । त्यसैले उनले ७ वटा मात्र गजल वाचन गर्न भ्याए । जति बाचन गरे त्यतिमा दर्शकहरू रमाए ।
संचारकर्मी एवं प्रजातन्त्रवादी नेतृ सरस्वती गुरुङको सक्रियतामा पोखरा क्यानोनिङले पगेनीको एकल वाचनको मेसो मिलाएको हो । कार्यक्रमबाट बचत भएको रकमले गजलकार पगेनीको पहिलो उपन्यासकृति ‘अनुश्रिया’ प्रकाशन गरिने कार्यक्रमका संयोजक राम गुरुङले जानकारी दिएका छन् । घलेललाई क्यानोनिङ गन्तव्यका रुपमा चम्काउन सफल गुरुङ गाउँमा साहित्यिक पर्यटनको वातावरण बनाएर स्याबासी कमाउँदैछन् ।
पगेनी धमाधम अनुश्रीया उपन्यास सम्पादन गरिरहेका छन् । यस अघि उनका दुईटा गीत संग्रह–‘जुनको चिठी जुनालाई’ र ‘यो मन कतै अल्झेको छ’ प्रकाशित भएका थिए । त्यस्तै गजलकृति ‘प्रणयवेदका ऋचाहरू’ र कविताकृति ‘अक्षरभरि अक्षता’ छापिएका छन् ।
सरल शब्दमा गहिरो भाव बोकेका कविता, गीत, गजल र मुक्तक लेख्ने प्रभावशाली स्रष्टा हुन् पगेनी । अग्रजको सम्मान गर्दै अनुजहरूलाई साहित्य सृजनामा लाग्न प्रेरित गरिरहन्छन् उनी । बधाई रोमाण्टिक गजलकार !
याे पनि हेर्नुहाेस।