क्यानडामा जब यशकुमार र अन्नाको ‘गलबन्दी च्यातियो...’

यशकुमार र अन्ना ‘गलबन्दी च्यातियो...’ को भाकामा दोहोरीमा जम्दै । तस्बिर: क्यानडा नेपाल फ्रेण्डसीप एण्ड कल्चरल सोसाइटी

गायक यशकुमारलाई नचिन्ने नेपाली को होला ?
नाम र अनुहारले नचिन्नेले स्वरमार्फत चिन्लान् । जसले ‘मैले छोएको पानी चल्दैन...’ सहित धेरैवटा मन छुने गीत गाएका छन् ।

‘बाटोमुनिको फूल’सहितका चलचित्रमा अभिनयसमेत गरेका यशकुमारको ख्याति पहिल्यै देश विदेशका नेपालीमाझ पुगिसकेको छ ।

अनि, अन्ना स्टिरलाई चाहिँ क–कस्ले चिन्नुहुन्छ ?
जो कोही नेपालीले यो विदेशी नाम नसुनेको हुनसक्छ ।
तर, लोकदोहोरीको पारखी हो भने अन्नालाई पक्कै चिनेको हुनुपर्छ ।

अमेरिकी प्राध्यापक अन्नाले नेपाली लोकदोहोरीमा विद्यावारिधि मात्र गरेकी छैनन्, नेपालका धेरै स्टेजमा पलेंटी कसेरै घण्टौं दोहोरी गाएकी पनि छिन् ।

उनै गायक यशकुमार शनिवार क्यानडाको ब्रिटिश कोलम्बियास्थित सुरीमा हाजिर भए । त्यो पनि लोकदोहोरीकी जानकार अन्नाका साथ । उनीहरुले प्रकाश सपुतको चल्तीको ‘गलबन्दी च्यातियो...’ भाखामा आधा घण्टाभन्दा धेरै दोहोरी गाए । यशकुमार र अन्नालाई सामुन्ने सुन्दा झण्डै डेढ सय नेपाली दर्शक रम्नु रमाए ।

यशकुमारले ‘गलबन्दी च्यातियो...’ मा भाखा हालिरहँदा लाल बानियाँ, प्रेम केसी र बिरु महर्जनले मादल बजाएर माहोल तताएका थिए । यशकुमारको भाखालाई साथ दिने अर्थात् दोहोरीको लय छोप्नेमा थिए– सुमन बिमली र मानकाजी श्रेष्ठ ।

उता, मौलिक नेपाली पहिरनमा उपस्थित अन्ना झन् के कम ?

यशकुमारलाई एक्लै दोहोरीबाट जवाफ दिने चेष्टा गरिरहँदा पछिल्तिरबाट साथ दिए– सुष्मा प्रधान, अनु राई, सविता श्रेष्ठ, इभा प्रधान आदिले ।

गलबन्दी भाखामै आधा घण्टाभन्दा धेरै दोहोरी चल्यो । त्यसपछि यशकुमारले आफ्नो सिग्नेचर सङ्ग ‘मैले छोएको पानी चल्दैन...’ सहित केही गीत गाए । स्थानीय कलाकारले पनि प्रतिभा देखाए ।

त्यसपछिको अर्को एउटा प्रस्तुतिमा अन्ना र लाल बानियाँले सदावहार नेपाली लोकगीत ‘पानको पात...’ गाएर दर्शक नचाए ।

टोरन्टोमा प्रान्तिय सरकारको हातेमालोमा ‘नेपाल डे’ मनाएको ४८ घण्टा नबित्दै पश्चिमी क्यानडाको ब्रिटिश कोलम्बिया प्रोभिन्समा पर्ने सुरीमा पनि यसरी अझ रौनकसाथ नेपाल डे मनाइयो ।

त्यसैका पाहुना हुन्– यशकुमार र अन्ना । अनि उनीहरुको गायकी ‘नेपाल डे’ कै अवसरमा आयोजित एउटा साँस्कृतिक प्रस्तुति ।

मध्यरातसम्मै चलेको यो सांगीतिक प्रस्तुतिअघि दिउँसो त्यहीं नेपाली कला संस्कृति झल्कने सामग्री प्रर्दशनीमा राखिएको थियो । नेवारी संस्कृति झल्कने गरी लाखे नाच पनि देखाइयो ।



सांसद दीपक आनन्दको आतिथ्यमा अन्टारियो विधानसभामा ‘नेपाल डे’ मनाएलगत्तै सुरीमा फरक किसिमले ‘नेपाल डे’ मनाइएको हो । टोरन्टोबाट चार हजार किमी टाढाको सुरी क्षेत्रमा बसोबास गर्ने नेपाली ‘क्रिस्टल एट योर्क’मा भेला भएर ‘नेपाल डे’ मनाएका हुन् ।

‘थ्री डी’ को संगम अर्थात् दोहोरी, डान्स र डिनरसहित मनाइएको कार्यक्रमलाई आयोजकले ‘सुरीकै इतिहासमा भव्य नेपाली कार्यक्रम’ भनेका छन् । ‘क्यानडा नेपाल फ्रेण्डसीप एण्ड कल्चरल सोसाइटी’ले संयोजन गरेको कार्यक्रममा नेपाली मौलिकता झल्काउने कला प्रदर्शनीसहित सांगीतिक जमघट गरिएको हो ।

‘नेपाल डे’ अर्थात् संविधान दिवसका अवसरमा आयोजित नेपाली कार्यक्रमलाई राजनीतिक नभई सांस्कृतिक रङ दिएको आयोजक बिरु महर्जनले जानकारी दिए ।

‘भ्यान्कुभर क्षेत्रका नेपालीमाझ भाइचारा बढाउने र मनोरञ्जन दिलाउने उद्देश्यले आयोजित कार्यक्रम गज्जब भयो’ महर्जनले खुसी साटे, ‘यसले अझ राम्रा कार्यक्रम गर्न प्रेरणा मिलेको छ ।’ सोसाइटीले सुरीमै गत जनवरीमा नेपाली कला प्रदर्शनी र सांगीतिक कार्यक्रम सम्पन्न गरेको थियो ।

नेपालको ‘संविधान दिवस’ अर्थात् ‘नेपाल डे’ । विदेशमा ‘नेपाल डे’ भनेर परिचित छ संविधान दिवस । संविधानसभाबाट २०७२ असोज ३ गते संविधान घोषणा भएयता हरेक बर्ष त्यसै दिनलाई ‘संविधान दिवस’ मनाइन्छ । त्यसै अवसरमा सोमबार राजधानी अटोवास्थित नेपाली राजदूतावासमा पनि एक शान्त रात्रीभोज आयोजना गरिएको छ ।  

प्रकाशित मिति: : 2019-09-23 07:59:56

प्रतिकृया दिनुहोस्