प्रधानमन्त्री ओलीबाट प्राध्यापक खम्बूको आत्म-संस्मरण ‘छायाँको लस्कर’ सार्वजनिक

तस्बिरः बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक केआर खम्बूको जीवनकथा 'छायाँको लस्कर' सार्वजनिक गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले खम्बूको पुस्तकले आफूलाई विगतका संघर्षशील दिनहरू सम्झना गराएको उल्लेख गरे ।

प्राध्यापक खम्बू झापाको बामपन्थी आन्दोलनदेखि नै राजनीतिमा क्रियाशील बामपन्थी व्यक्तित्व हुन्। उनी झापा आन्दोलनताका प्रधानमन्त्री केपी ओली लगायतका नेताहरूसँग निकट रहेर काम गरेका राजनीतिककर्मी पनि हुन्। पछिल्लो चरणमा भने उनी प्राज्ञिक क्षेत्रमा क्रियाशील छन्।

अमेरिकाकै पहिलो शिख सरिफ डेपुटीको टेक्सासमा गोली हानी हत्या

'यो पुस्तकले मलाई आफ्नो विगतको सम्झना गरायो। यस पुस्तकले एउटा राजनीतिक आन्दोलनको कथा समेटेको छ।‘ प्रधानमन्त्रीले आफ्नो लामो मन्तव्यको क्रममा भने- ‘यो पुस्तकको नाम ‘छायाँको लस्कर’ छ। यहाँ अनुहारहरूको कुरा छैन छायाँको कुरा छ; किनभने खम्बूजीको स्मृतिमा अहिले अनुहारहरू होइनन् छायाँहरू छन् र उहाँले तपाईं हामी कसैलाई पनि वा खुद उनकी जीवनसाथी शुभलक्ष्मीलाई पनि छायाँको रुपमा मात्र महसुस गर्न सक्नु हुन्छ।‘ 

नेत्र-ज्योति गुमेका प्राध्यापक केआर खम्बूको वर्तमान अवस्थालाई संकेत गर्दै प्रम ओली भन्दै थिए- ‘तर खम्बूजीले देख्न छोड्नु भएको छैन। उहाँको अन्तरदृष्टि खुलस्त छ।‘ प्रधानमन्त्रीको प्रतिक्रिया सुनिरहेका लेखक केआर खम्बू शीर हल्लाउँदै सहमती दर्शाइरहेका देखिन्थे।

अमेरिकामा आइसले फेरि मार्यो छापा : टेक्सासबाट ४५ र कोलोराडोबाट ४२ पक्राउ

मन्तव्यका क्रममा प्रधानमन्त्री ओलीले आफू भूमिगत हुँदा लेखकसँग निकट रहेको जानकारी मात्र गराएनन् उनले आफ्नै परिचित शैलीमा केआर खम्बूसँगको संगत र निकटताको प्रसंग कोट्याउँदै केही रोचक क्षणहरूको सम्झना गरे। उनका रोचक प्रसंगले सभा हलमा हाँसोको लहर फैलेको थियो।

‘यो किताबमा उहाँको संघर्षशील जीवनको गाथा, व्यथा प्रकट भएको छ। झापा आन्दोलन र त्यसको विस्तारमा र साथै कोअर्डिनेसन कमिटी बनाउँदा ताकादेखि खम्बूजीसँग मेरो संगत हो। तर यो पुस्तकमा मेरो मात्र होइन धेरैको कथा समेटिएको छ।'

कार्यक्रमा पुस्तक 'छायाँको लस्कर' र लेखकका बारेमा प्राध्यापक जङ्गब चौहानले परिचयात्मक टिप्पणी गरेका थिए। केआर खम्बू आफ्नो मन मिल्ने सहपाठी भएको जानकारी गराउँदै प्राध्यापक जङ्गबले पनि विगतका दिनहरूको सम्झना गरे। उनले विराटनगरमा क्याम्पस पढ्दाका दिनहरू सम्झँदै लेखक खम्बू बारे आफ्नो धारणा राखे।

चिनियाँ राष्ट्रपतिको भ्रमणपछि विकासको एजेन्डामा दौडेला नेपाल?

'छायाँको लस्कर' मा लेखकले उनले भोगेको समय र राजनीतिक परिघटनालाई समेटेका छन्। त्यसैले यो एउटा राजनीतिक दस्तावेज त हो नै। तर यो एउटा उत्कृष्ट साहित्यिक कृति पनि हो' प्राध्यापक जङ्गब पुस्तक बारे आफ्नो धारणा राख्दै थिए- 'पुस्तक लेखकको जीवनका भोगाइको वरपर घुमेको र यसका मूल पात्रहरू त्यसबेलाका माले, एमालेका नेताहरू छन्। तर पनि खम्बूको सरल अनि रसिलो भाषाले पुस्तक पढ्दा साहित्यिक कृतिको आनन्द आउछ।' पुस्तकका बारेमा प्राध्यापक जङ्गबको थप टिप्पणी थियो। जङ्गबले आफ्नो मन्तव्यको अन्तमा रुसी कवि पुस्किनको छोटो कविता लेखक खम्बूलाई समर्पण गर्दै सुनाएका थिए।

प्रधानमन्त्रीबाट आफ्नो पुस्तक सार्वजनिक गराउन पाएकोमा आफू प्रफुल्ल भएको जानकारी गराउँदै प्राध्यापक खम्बूले किताबको रचनागर्भको बारे प्रष्ट्याएका थिए।

विमोचन कार्यक्रमलाई प्रकाशन संस्था नेपालयका तर्फबाट युवा साहित्यकार भूषिता वशिष्ठले प्रकाशकीय धारणा राखेकी थिइन्। कार्यक्रम संचालनकै क्रममा भूषिताले किताबमा रहेका रोचक उद्दरणहरू वाचन पनि गरेकी थिइन्। उनले पुस्तकका लेखकको संगतका बेला कालीचरणका नाममा प्रधानमन्त्री ओलीले लेखेको कविता पनि वाचन गरेकी थिइन्। सो कविता विमोचित पुस्तक ‘छायाँको लस्कर’मा संकलित रहेको छ।

किन भारतले निजगढ एयरपोर्ट बन्न दिन्न? (भिडियोसहित)

नेपालय पब्लिकेसन्सले प्रकाशन गरेको 'छायाँको लस्कर' ३७० पृष्ठमा समेटिएको छ। पुस्तकको मूल्य ५४५ रुपैँया रहेको छ।

नेपाली चाड दशैँको छेक पारेर पब्लिकेसन्सले थप तीनवटा पुस्तक सार्वजनिक गर्ने भएको छ। कवि तथा गीतकारहरू कालीप्रसाद रिजाल, मञ्जुल र तीर्थ श्रेष्ठका पुस्तहरू यही शुक्रबार, शनिबार र आइतबार आयोजना हुने सांगीतिक कार्यक्रम पलेँटीमा सार्वजनिक गरिने भएको जानकारी नेपालयले गराएको छ।

 

प्रकाशित मिति: : 2019-09-28 21:17:48

प्रतिकृया दिनुहोस्