नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागले भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले यही मङ्सिर २१ देखि २३ गतेसम्म मकवानपुरको थाहा नगरपालिका–६ स्थित पालुङ, टिस्टुङ र चित्लाङ भेगलाई समेटेर टिस्टुङ–बज्रबाराही केन्द्रित स्थलगत चित्र सिर्जना गर्ने भएको छ।
प्रतिष्ठानले भ्रमण वर्षमा आउने पर्यटकलाई त्यस क्षेत्रका प्राचीन सम्पदा, पर्यटकीय गन्तव्य तथा स्थानीय बस्तीबारे प्रचार तथा नेपाली चित्रकलाको विकास गर्ने लक्ष्य राखेर उक्त कार्यक्रम गर्न लागेको हो।
प्रतिष्ठानले गत वर्ष उक्त नगरपालिका, स्थानीय संस्था, इथ्नोलोजिकल स्टडिज ग्रुप र बज्रबाराही बजार व्यवस्थापन समितिसँग कार्यक्रम आयोजना गर्नका लागि समझदारी गरेको थियो।
प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य नेतृत्वको वरिष्ठ कलाकार समूह त्यसतर्फ प्रस्थान गरी स्थानीय विषयवस्तुलाई विम्ब बनाएर स्थलगत चित्र सिर्जना गर्ने कार्यक्रम रहेको चित्रकला विभाग प्रमुख सुष्मा राजभण्डारीले जानकारी दिए।
उनले त्यहाँ सिर्जना गरिएका चित्रलाई काठमाडौँका महत्वपूर्ण पर्यटकीयस्थलमा ल्याएर प्रदर्शन गरी त्यस क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गरिने बताए।
सातै प्रदेशका कलाकृतिलाई देश विदेशमा प्रचार गर्ने लक्ष्य लिएको उक्त विभागले गत वर्ष वीरगञ्जमा पनि यस किसिमको कला सिर्जना गरेको थियो।(रासस)