बारा-पर्सा फलोअप: पाइन्टदेखि त्रिपालसम्म बाड्यो सरकारले

देवकी बिष्ट/बीएल

आइतबार साँझ बारा र पर्सामा भएको बिनासकारी हावाहुरीबाट घरबारबिहीन भएका स्थानीयलाई सरकारले लगाउने पाइन्टदेखि रात काट्ने त्रिपालसम्मका राहत सामाग्री वितरण गरेको छ। गृहमन्त्रालयका अनुसार हावाहुरीबाट घरबारबिहीन भएका स्थानीयलाई सरकारले तत्कालका लागि आवश्यक सामाग्री वितरण गरेको हो।

चारसय ६४ थान त्रिपाल, चारहजार एकसय ३८ जनालाई लगाउने लुगा, र उनीहरुका लागी तत्काल तीन ट्क खाद्ययान्न वितरण गरिएको छ।वितरण गरिएको सबै सामग्री गृहमन्त्रालयले सोमबार नेपाली सेनाको हेलिकप्टर र सुरक्षाकर्मीको ट्रकवाट ओसारेको हो।

मानवीय क्षति कति भयो?

गृहमन्त्रालयका अनुसार सोमबार बेलुकासम्म हावाहुरीमा परी ज्यान गुमाउनेको संख्या २७ पुगेको छ।त्यसमा २६ जना बारा र एकजना पर्सामा गरी २७ पुगेको गृहले जानकारी दिएको छ।

प्रधानमनी केपी शर्मा ओलीले ट्वीटरमा बताएअनुसार घटनामा ६ सय ६८ जना घाइते भएका थिए। घाइतेमध्ये दुईसय ८४ जना उपचारपछि घर फर्केका छन् भने तीनसय ७५ जनाको बारा र पर्साका अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी घाइतेमध्ये गम्भीर भएका ९ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ, उनीहरुको काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ।

प्रकाशित मिति: : 2019-04-01 21:22:30

प्रतिकृया दिनुहोस्