सर्पदंश उपचारको केन्द्र बन्दै भरतपुर अस्पताल

तस्बिरः बिएल

आइतबार साँझ भरतपुर अस्पतालको आकस्मिक कक्षमा ११ जना सर्पले डसेका बिरामी उपचारका लागि आएका थिए। हिजोआज दैनिकजसो उक्त सङ्ख्यामा बिरामी अस्पताल आउने गर्दछन्। 

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ती ११ जना बिरामीमध्ये छ चितवनका, दुई नवलपरासीका, दुई मकवानपुरका र एक जना लमजुङका हुन्। अन्य समयमा बारा, पर्सा, धादिङ, रुपन्देही, तनहुँ, गोरखा र कपिलवस्तुका हुने गरेका छन्।
सर्पदंशको आशङ्काबाट ठूलो सङ्ख्यामा बिरामी आउने भए पनि विषालु सर्पले डसेका बिरामीको सङ्ख्या कम हुने गरेको छ। पौडेलका अनुसार एक वर्षमा सर्पले डसेको आशङ्कामा अस्पतालमा उपचारका लागि दुई हजार बढी आउने गर्दछन्। उनीहरुलाई २४ घण्टासम्म अस्पतालमा राख्ने गरिन्छ। विषालु सर्पले डसेकामा लक्षण देखा परेपछि उपचार शुरु गरिन्छ भने अन्यलाई सामान्य उपचारपछि घर पठाउने गरिन्छ। चालू आर्थिक वर्षमा हालसम्म विषालु सर्पको डसाइका ९३ बिरामीको उपचार गरिएको पौडेलले जानकारी दिए।
उपचारका लागि आएका एक बालकको बाल सघन उपचार कक्षको अभावमा मृत्यु भएको छ। यो मौसममा यस्ता बिरामी धेरै आउने गर्दछन्। पौडेलका अनुसार चालू वर्षको वैशाखयता विषालु सर्पले डसेका २३ जनालाई अस्पतालले उपचार गरिसकेको छ।
अस्पतालमा लामो समय सर्पको डसाइका सम्बन्धमा अध्ययन, अनुसन्धान र उपचारमा सक्रिय भएर केही दिनअघि मात्र निवृत्त हुनुभएका डा विजय पौडेलका अनुसार भरतपुर अस्पताल यस क्षेत्रको सर्पदंश उपचार केन्द्रका रुपमा विकास हुँदै गएको छ। विसं २०६० मा पौडेल फिजिसियनका रुपमा भरतपुर अस्पताल आउँदा सर्पदंश बिरामीको अवस्था कम थियो। विगतलाई सम्झँदै उनले भने, “सर्पले डसेका ५०० हाराहारी बिरामी अस्पताल आउथे। तीमध्ये १७५ जति विषालु सर्पका हुन्थे। उनीहरुमध्ये ३० प्रतिशतजतिको निधन हुने गर्दथ्यो।”
पौडेलकै नेतृत्वमा भरतपुर अस्पतालसहित देशका तीन स्थानमा अध्ययन र अनुसन्धान थालियो। जसको नतिजाले मृत्यु दरलाई पाँच प्रतिशत तल झारेको पौडेल बताछन्।
पहिले एउटै बिरामीलाई १६० भायलसम्म ‘एन्टी स्नेक भेनम’ दिइने भए पनि अनुसन्धानपछि अहिले बढीमा ३० भायल दिइने गरेको पौडेलले बताए। गत वर्षको तथ्याङ्कलाई समग्रमा हेर्दा प्रतिव्यक्ति १४ भायल दिइएको थियो।
उनीहरुले तयार गरेको निर्देशिका अनुसार नै देशभर धेरै मात्राबाट कम मात्रा दिँदै जाने नयाँ पद्धतिको थालनी गरेर बिरामी पनि बचाउने र औषधि पनि कम खपत हुने गरेको पौडेलको भनाइ छ। जसका कारण पछिल्ला वर्षमा औषधिको अभाव हुन छाडेको छ।
वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी भरतपुर अस्पताल यस क्षेत्रकै सर्पदंश उपचारको केन्द्र भएको बताउछन्। अस्पताल आइपुगेको बिरामी बचाउन सकिने भन्दै उहाँले सर्पले डसेको थाहा पाउनासाथ जे जस्तो साधन छ त्यसमा तत्काल ‘एन्टी स्नेक भेनम’ उपलब्ध हुने अस्पतालमा पु¥याउनुपर्ने सुझाव दिनुहुन्छ।
पछिल्लो अनुसन्धानयताको उपलब्धिसँगै बिरामी बचाउन सकिएको भन्दै उनले अस्पतालको सघन उपचार कक्षमा सर्पदंशका बिरामीकै लागि दुई वटा श्यया राख्ने गरेको अधिकारीले जानकारी दिए। यससँगै प्रत्यक्ष निगरानी र आकस्मिक कक्षमा पनि त्यस्ता बिरामीका लागि श्यया छुट्याएर राखिएको छ।
मौसम परिवर्तनसँगै विशेषगरी मङ्सिर, पुस, माघ र फागुनमा सर्पदंशका बिरामी आएको पाइँदैन। वर्षको अन्य समयमा बिरामी आउने गर्दछन्। उपचारका लागि आवश्यक पर्ने औषधि ‘एन्टी स्नेक भेनम’ अस्पतालले बिरामीलाई निःशुल्क उपलब्ध गराउँदै आएको छ। हालै मात्र भरतपुर अस्पताल केन्द्रीय अस्पताल बनेको छ। अन्य सेवामा पनि सुधार हुँदै गएपछि बिरामीको आकर्षण भरतपुर अस्पतालमा बढ्दै गएको छ।

प्रकाशित मिति: : 2019-07-01 14:25:49

प्रतिकृया दिनुहोस्