सुदूरपश्चिममा पनि 'गो ब्याक इण्डिया' : कञ्चनपुरमा मोदीको पुत्लादहन

जारी छ भारतीय प्रधानमन्त्रीको पुत्लादहनको सिलसिला । तस्बिर : सामाजिक सञ्जाल

भारतको नयाँ नक्सा प्रकरणले जागेको नेपालको राष्ट्रवाद यथास्थितिमा फर्कने कुनै छाँटकाँट देखिएको छैन।

सुदूर पश्चिमको उत्तरी सीमास्थित कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको नयाँ नक्सामा देखिएपछि नेपालमा राष्ट्रवाद जुर्मुराएको हो। 

काठमाडौंमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गर्दै सुरू भएको 'गो ब्याक इन्डिया’ प्रदर्शन सुदूरपश्चिमको सीमावर्ती जिल्ला कञ्चनपुरमा पनि गुञ्जेको छ। 

कञ्चनपुरबासीले महाकाली र भीमदत्त नगरपालिकास्थित सीमानाकामा भारतीय विस्तारवादविरूद्ध विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शन नेपाल-भारत सीमास्तम्भ ७९३/१ बाट सुरू भएको थियो ।

हातमा भारत विरोधी नारा लेखिएका प्लेकार्ड बोकेका प्रदर्शनकारीले भारतविरोधी चर्का नारा लगाएका थिए। प्रदर्शनको अन्तमा उनीहरूले भारतीय प्रधानमन्त्री मोदीको पुत्लादहन पनि गरेका थिए।

यसैगरी, भीमदत्तनगरमै सत्तारूढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले विरोधमा मोटरसाइकल र्याली निकालेको छ। स्थानीय पुष्पलालचोकबाट निस्किएको र्याली ७ नम्बर सीमास्तम्भमा पुगेर फर्किएको थियो। गड्डाचौकीमा पुगेर कोणसभामा परिणत भएको सभाका वक्ताले भारतले नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए।

प्रकाशित मिति: : 2019-11-08 10:21:33

प्रतिकृया दिनुहोस्