नेकपा नेता प्रभु साहको पहलमा एसिड पीडित बालिकालाई ५५ हजार सहयोग

तस्बिरः बिएल

नेकपा प्रदेश नम्बर २ का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले एसिड आक्रमणमा घाइते पर्साकी मुस्कान खातुनलाई अस्पतालमा भेटेर उपचारका लागि सहयाेग गर्ने आश्वासन दिएका छन्।

कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरको आइसियूमा उपचार गरिरहेकी खातुनलाई भेट्न साेमबार पुगेका साहले उनको उपचारमा कमी हुन नदिने बताए। उनले अस्पताल प्रशाषनलाई भेटेर खातुनकाे उपचारमा विशेष ध्यान दिन निर्देशन दिएका थिए।

नेता साहले आफ्नै पहलमा खातुनकाे उपचारका लागि ५५ हजार रूपैयाँ संकलन गरि परिवारलाई उपलब्ध गराएका थिए। 

नेकपा रौतहटका जिल्ला सदस्य राकेश गिरीले १५ हजार, कटहरिया नगरप्रवक्ता चन्दन कुश्वाहाले १५ हजार, ईशनाथ नगरकमिटिका नेकपाका अध्यक्ष मोहन मेहताले १५ हजार तथा ईशनाथ नगरपालिकाका प्रशासकिय अध्यक्ष नन्दकिशोर गुप्ताले १० हजार सहयोग गरेका थिए ।

नेकपा प्रदेश २ का अध्यक्ष तथा रौतहट संसदिय निर्वाचन क्षेत्र ३ का संघीय सांसद प्रभु साह एसिड प्रहारबाट घाइते मुस्कान खातुनलाई शनिवार किर्तिपुर अस्पतालमा भेटेर आएपछी नेकपाका कार्यकर्तालाई घाइतेको उपचारमा सहयोग गर्न अनुुरोध गरेका थिए ।

उक्त सहयोग रकम खातुनका बुबा रसुल अन्सारीलाई सोमबार हस्तान्तरण गरिएको थियाे। सहयोग रकम हस्तान्तरण गर्दै राकेश गिरीले थप सहयोगका लागि जिल्लामा गएर अभियान चलाउने जानकारी दिए।

शुक्रबार बिहान करीब ६ बजे दुई युवाले वीरगन्जको गणेशमान चोकमा खातुनमाथि एसिड प्रहार गरेका थिए।

रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत वीरगञ्ज-३ श्रीपुर निवासी रसुल अन्सारीकी माइली छोरी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो।

एसिडले पोलेर उनी चिच्याउन थालेपछि स्थानीयले अस्पताल पुर्‍याएका थिए। उनको अनुहार, हात र शरीरको केही भाग एसिडले जलेको छ।

नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरेर उनलाई काठमाडौं ल्याइएको छ र कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2019-09-09 15:16:12

प्रतिकृया दिनुहोस्