एउटा ताजियाको मूल्य रु ९६ हजार

तस्बिरः बिएल

नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी चाँदबाबु राईले तीन वर्ष यता बाँके जिल्लामै सबैभन्दा अग्लो ताजिया राख्ने होडबाजी गरेका छन्।

मोहर्रम पर्वको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका–११ पासाङल्हामुरोडमा यो वर्ष उनले करीब ८५ फिट उचाइको ताजिया स्थापना गरेका हुन्।

भारतको उत्तरप्रदेश बहराइच जिल्लाको आलीनगरबाट खरीद गरेको उक्त ताजियाको मूल्य भारतीय रु ५० हजार परेको उनको भनाइ छ । उनका अनुसार, उक्त ताजिया नेपालगञ्जसम्म ल्याएको ढुवानीको भाडामात्रै भारतीय रु १० हजार लागेको छ । ‘पचास हजार भारुको ताजिया खरीद गरेको हो, ढुवानीमा भारु १० हजार लागेको छ’, राईले भने, ‘एउटा ताजिया खरीद गर्न ९६ हजार नेपाली रुपैयाँ लागेको छ।’

राईले चन्दा अथवा दानबाट नभई आफ्नो निजी रकम खर्च गरेर अग्लो ताजिया राख्ने गरेको बताए। ‘मैले आफ्नै खर्चमा ताजिया लगाउने गरेको छु’, राईले भने, ‘गत वर्ष ७० फिटको थियो, अहिले ८५ फिटको रहेको छ।’

बाँकेमा मात्रै एक करोडभन्दा बढीका ताजिया राखिएको राईको अनुमान छ । मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिक रुपमा आज घर नजिकै रहेका कर्बलाहरुमा विर्सजन गरेर बगाउने गर्छन्।

नेपालगञ्जमा मुस्लिम, हिन्दू तथा अन्य जातिले पनि आ–आफ्नो घर अगाडि ताजिया राखेर पूजाआजा  गर्ने गर्छन्। मोहर्रमको अन्तिम दिन घर–घरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिन्छ ।

आफ्नो आर्थिक हैसियत अनुसार ताजिया स्थापना गरिने परम्परा भए पनि पछिल्ला केही वर्ष ठूलो ताजिया राख्ने अस्वस्थ प्रतिष्पर्धा देखिएको मौलाना अब्दुल जब्बार मञ्जरीको भनाइ छ । उनले सानो–ठूलो जस्तो ताजिया राखे पनि विसर्जन गरिने भएकाले ठूलै राख्नुपर्ने कुनै जरुरी नरहेको बताए।

हिन्दूलगायत अन्य धर्म समुदायले समेत मनाउन थालेपछि मोहर्रम पर्व धार्मिक सद्भावको रुपमा विकसित हुँदै गएको छ । भाकल गरी घरमा स्थापना गरिएको ताजियालाई पूजा अर्चना गर्नाले पारिवारिक सुख, समृद्धि तथा मनोइच्छा पूरा हुने विश्वास रहेको उनले बताए।

प्रकाशित मिति: : 2019-09-10 16:18:53

प्रतिकृया दिनुहोस्