परम्परानुसार विधिपूर्वक लिङ्गो ठड्याएपछि मंगलबारबाट विधिवत रुपमा इन्द्रजात्रा सुरु (भिडियाे सहित)

तस्बिरः बिएल

काठमाडौँको हनुमानढोकाको कालभैरव अगाडि परम्परानुसार विधिपूर्वक लिङ्गो ठड्याएपछि मंगलबारबाट विधिवत रुपमा इन्द्रजात्रा सुरु भएको छ। करिब ३२ हातको लिंगोमा इन्द्रध्वजा राखी सांस्कृतिक बाजागाजा, बैन्डबाजा र पञ्चैबाजा बजाएर मंगलबार बिहान ९ बजेर १७ मिनेटको शुभ साइतमा लिंगो ठड्याइएको थियो। नेपालभाषामा ’योसीं’ भनिने उक्त लिंगोमा विभिन्न प्रकारका मंगल सूचक चिह्नहरू अंकित पताकाहरू झुन्ड्याइएको थियो। लिंगोको फेदीमा हात्ती चढेको इन्द्रको सानो प्रतिमा राखी पूजाअर्चना गरिएको थियो।

लिंगो ठड्याएपछि सैनिकहरूले बन्दुक पड्काएर बढाइँ गरेका थिए। त्यसपछि गुरुजुको पल्टन, पञ्चैबाजा, बैन्डबाजा, मानन्धरहरूका क्वँचाः खीं बाजा मा मालश्रीको धुन बजाउँदै लिंगो परिक्रमा गरेका थिए। समारोहस्थलमा किलाघः टोलका ज्यापू समुदायले परम्परागत देवीनाच प्रस्तुत गरेको थियो । साथै, राजप्रतिनिधिका रूपमा राजखड्ग ल्याइएको थियो।

लिंगो ठड्याएको हेर्न निकै संख्यामा विदेशी पर्यटकसमेत भेला भएका थिए। राजधानीदेखि पूर्वमा पर्ने नाला भन्ज्याङको सल्लेरी वनबाट तानेर ल्याइएको उक्त लिंगोलाई बाजागाजासाथ तानेर त्यहाँ र्पुयाइएको थियो। इन्द्रजात्राको अवसरमा लिंगो ठड्याउने परम्परा राजा सिंहप्रताप शाहले चलाएका थिए । यस बर्षको इन्द्रजात्रा भाद्र २७ गते मनाईदै छ।

प्रकाशित मिति: : 2019-09-10 18:23:07

प्रतिकृया दिनुहोस्