प्रधानमन्त्री ओली अस्वस्थ, लगियो ग्राण्डी अस्पताल

फाइल तस्बिर

प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् । ओली अस्वस्थ भएपछि उनलाई काठमाडौको ग्राण्डी अस्पताल लगिएको छ । प्रधानमन्त्री ओलीलाई बुधबार बिहान १० बजे ग्राण्डी अस्पताल लगिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार नियमित स्वास्थ्य जाँचका लागि प्रधानमन्त्रीलाई अस्पताल लगिएको हो । सल्लाहकार अर्यालले स्वास्थ्य परीक्षणपछि आजै प्रधानमन्त्री बालुवाटार फर्कने बताएका छन् ।

प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमि आएको डाक्टरहरुले बताउँदै आएका छन्।

यसअघि प्रधानमन्त्रीको नियमित स्वास्थ्य जाँच त्रिवि शिक्षण अस्पताल परिसरको मनमोहन कार्डियो थेरासिस भासकुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा हुँदै आएको थियो । बीचमा एक पटक ओली वीरेन्द्र सैनिक अस्पतालमा पनि स्वास्थ्य परीक्षणका लागि पुगेका थिए ।

प्रधानमन्त्री ओलीको यसअघि सिंगापुरमा प्लाज्मा फेरोसिस गरिएको थियो । उनको सिंगापुरमा ६ पटक प्लाज्मा फेरोसिस गरिएको थियो ।

सिंगापुरमा प्लाज्मा फेरोसिस गरेर ओलीको शरीरमा जम्मा भएको एन्टी बडी नष्ट गरेर उनी गत भदौ २० गते काठमाडौं फर्किएका थिए । सिंगापुरमा ओलीको उपचारका क्रममा मुटुमा राखिएको पाइप महाराजगञ्जस्थित शिक्षण अस्पतालमा झिकिएको थियो ।

 

प्रकाशित मिति: : 2019-10-30 11:58:37

प्रतिकृया दिनुहोस्