असुरक्षित बन्दैछन् एसिडबाट नेपाली महिला

बिएल

वीरगञ्ज पर्सा छपकैया–१४ कि मुस्कान खातुनलाई यही सेप्टेम्बर ६ सन् २०१९ मा बिहान स्कुल जाँदै गरेको अवस्थामा एसिड आक्रमण भयो।

१४ वर्षीय खातुनलाई स्थानीय गणेशमान चौक नजिकै सम्साद मियाका साथी मजिद आलमले एसिड प्रहार गरे। एसिड आक्रमणबाट जोगिन खातुनले एकहातले आँखा छोपेकी थिइन। जसका कारण उनको बायाँ हात, घाँटी, कान र टाउको वरिपरि केही भाग एसिडले पोल्यो। घटनापछि स्थानीयवासीले तत्कालै उनलाई नारायणी अस्पताल पुर्याएका थिए। जहाँ उपचार सम्भव नभएपछि उनलाई काठमाडौंको कीर्तिपुरस्थित ‘कीर्तिपुर बर्न अस्पताल’ मा राखेर उपचार गरियो।

प्रहरीले घटनामा संलग्न दुवै अपराधिलाई तत्कालै पक्राउ गर्यो। तर, १८ वर्षभन्दा मूनिका अपराधिलाई सजाय तोक्न नमिल्ने कानुनी बाध्यताका कारण उनीहरूलाई सुधार गृहमा पठाउन बाध्य हुनुपर्यो।

दोलखाकी २० वर्षीया जेनी खड्कासँग पनि यस्तै प्रकृतिको घटना १५ मे २०१९ मा भयो। उनलाई राति ८ बजे आफ्नै श्रीमानले एसिड आक्रमण गरेपछि पुरै अनुहार र शरीर जलेको थियो।

१५ वर्षको उमेरमा जेनीले प्रेममा फसेर विष्णु भुजेलसँग विवाह गरेकी थिइन। आर्थिक अवस्था कमजोर भएकी जेनीलाई प्रलोभनमा पारेर विष्णुले विवाह गरेका थिए।
विष्णु पहिला देखिनै विवाहित थिए। विवाहको धेरैपछि मात्र उनको पोल खुल्यो। यति बेला जेनीको काखमा साढे दुई बर्षको बच्चा थियो।

श्रीमानको असली कुरा थाहा पाएपछि जेनी माइत बस्दै आइरहेकी थिइन। एकदिन श्रीमानले जेनीलाई भेट्नै पर्ने आवश्यकता पर्यो भनेर बाटोमा बोलाएर एसिड प्रहार गर्यो।

उनलाई तुरुन्तै ओम अस्पताल लगियो। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई कीर्तिपुरस्थित ‘कीर्तिपुर बर्न अस्पताल’ मै लगियो। हाल उनी घर फर्किसकेकी छन्। उनको श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

मुस्कान खातुन र जेनी खड्कालाई जस्तै चितवन नगरपालिका वडा नं–१६ डन्डाबजार कावासोती घर भएकी ३० वर्षीया वसन्ती परियारलाई पनि एक छिमेकी युवाले एसिड प्रहार गरे।

वसन्तीलाई घरायसी सामान किनमेल गरेर फर्किदै गर्दा विमल श्रीपालीले धारिलो हतियारले पहिले आक्रमण गरेर एसिड प्रहार गरेका थिए।

नेपाल आर्मीको जागिर छोडेर विदेशिएका ३७ वर्षीय विमल देश फर्किएपछि वसन्तीको प्रेममा परेका थिए। दुवै विवाहित थिए। वसन्तीको श्रीमान भने वैदेशीक रोजगारीका क्रममा विदेशमै थिए। यी दुईको प्रेम सम्बन्धको विषयमा विमलको श्रीमतिले पत्तो पाएपछि सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्धा दर्ता गरेकी थिइन।

यसबीच विमलले पटकपटक वसन्तीसँग विवाहको प्रस्ताव राखे। तर, उनले आफू पहिलेदेखि नै वैवाहिक भएको भन्दै विवाह गर्न मानिनन्। वसन्तीको अस्विकारका कारण रिसाएका विमलले एसिड प्रहार गरे।

वसन्तीको टिचिङ अस्पतालको सिसियू कक्षमा राखेर उपचार गरिएको थियो।

माथिल्लो घटनाहरू महिलामाथि एसिड आक्रमणका केही प्रतिनिधि घटना मात्र हुन्। २०७१ देखि २०७६ सम्मको अवधिलाई कोट्याउने हो भने महिलामाथि एसिड आक्रमणको घटना बढ्दै गएको पुष्टी हुन्छ। पछिल्लो ५ वर्षको अवधिमा १४ महिलामाथि एसिड आक्रमण भइसकेको तथ्यांक नेपाल सरकारसँग छ। नेपालका पहाडी र तराईका केही गाउँहरूमा शिक्षाको अभाव, फितलो कानुनी व्यवस्था तथा पुरुष वर्चश्वका कारण यो तथ्यांक अझ् बढी हुन सक्ने सम्भावना छ।

नेपालमा बढ्दो महिला हिंसाका कारण सरकारले यस वर्षलाई ‘महिला हिंसाविरूद्धको वर्ष’ को रुपमा मनाउने घोषणा गरिसकेको छ। यसका लागि सरकारले विभिन्न प्रदेशमा चरणबद्ध कार्यक्रम पनि अगाडी सारिसकेको छ।

एसिड घटनाको ताजा विश्लेषण गर्दा पछिल्लो समय महिलामाथि हुने हिंसाको स्वरुप बदलिँदै गएको हो कि? भन्ने भान हुन्छ। विशेषगरी उमेर नपुगेका युवाहरूले प्रेमप्रस्ताव अस्विकार गर्दा किशोरीमाथि एसिड प्रकार गर्ने गरेको तथ्य उजागर हुन थालेका छन्। अझ् विवाह गर्न नमान्दा बदलास्वरुप महिलाको अनुहारमा एसिड प्रहार गर्ने अमानवीय र मानवता विरोधी कार्य बढ्दो छ।

खुलारुपमा एसिडको बेचबिखन हुँदा पनि यस्ता घटनाले निरन्तरता पाइरहेका छन्। सरकारले एसिड जस्तो सावधानी अपनाउनु पर्ने पदार्थलाई खुल्लमखुल्ला बेचबिखन गर्न दिइरहेको छ। यसले पुरुषहरूलाई नारीमाथि हिंसा व्यक्त गर्ने माध्यम प्रदान गरेको छ।

हेटौडाकी बिन्दवासिनी कंसाकारमाथि पनि ९ बैशाख २०७० मा एसिड आक्रमण भएको थियो। उनी विगत ५ वर्षदेखि एसिड आक्रमणको पीडा बोकेर बाचिरहेकी छिन्।

उनलाई आफ्नै फुपुको छोराको साथी दिलिप राजकेशरीले प्रेम प्रस्ताव अस्विकार गरेको निहुँमा एसिड प्रहार गरेर फरार भएको थियो। दिलिपलाई यसै वर्ष १ नोभेम्वरमा भारतको गोरखपुरबाट पक्राउ गरी नेपाल फर्काउन प्रहरी सफल भएको थियो।

यसैगरी १० फागुन २०७१ मा एसएलसी परीक्षाको तयारीका लागि बिहान ५ बजे डेराबाट ट्युसनका लागि हिडेका सीमा बस्नेत र संगीता मगरको जोडीमाथि एसिड आक्रमण भएको थियो।

फागुपूर्णिमाको दिन जीवन विक नाम गरेका युवाले संगीतालाई प्रेम प्रस्ताव राखेका थिए। तर, उनले अस्विकार गरेपछि ती युवकले बिहानै एसिड प्रहार गरेका थिए।

सिन्धुपाल्चोककी सीमा केएमसी अस्पतालमा ३७ दिन उपचार गरेर घर फर्किएकी थिइन भने संगीताको ५ महिना उपचार भएको थियो।

अहिले दुवै १२ कक्षाको परीक्षा दिएर घर बसेका छन्। महिलामाथि बढ्दो एसिड आक्रमणको घटनाप्रति महिला, बालबालिका तथा जेष्ठ नागरीक मन्त्री थममाया थापा चिन्तित देखिन्छिन्। उनी कानुनमा देखिएको त्रुटीको फाइदा उठाउने व्यक्तिलाई पनि कार्यवाहीको दायरामा ल्याउन कानुनमा संसोधन गर्नुपर्ने बताउँछिन्।

भन्छिन्, ‘एसिड आक्रमण जस्तो जघन्य अपराधका लागि कानुनमै संसोधन गर्नु जरुरी देखिएको छ।’

हिंसामा परेका महिलाको लागि सरकारले लैंगिक हिंसा निवारण कोषको व्यवस्था गरेको छ। यस्तै लैगिंक हिंसा प्रभावित महिलाको लागि सुरक्षित अल्पकालिन आश्रयसहित सेवा केन्द्र संचालन समेत गरेको छ। तर माथि उल्लेखित पिडितमध्ये कसैले यो सरकारी सेवा पाएको प्रमाण छैन।

सरकारले एसिड बेच्नेलाई कारवाही नगर्दा पछिल्लो समय युवतीमाथि विभिन्न वहानामा एसिड आक्रमणको घटना बढ्दै गएको पाइन्छ।

नयाँ मुलुकी संहितामा एसिड आक्रमणमा अनुहार कुरुप पर्ने व्यक्तिलाई ८ वर्षे कैद र ५ लाख रुपैयाँ जरीवाना तोकिएको छ।

यस्तै, शरीरको अन्य अंग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा ३ देखि ५ वर्षसम्म कैद र ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

हाल एसिड बेच्ने मान्छे पक्राउ परेमा ज्यानसम्बन्धी महल अनुसार १० वर्ष कैद सजाय हुने व्यवस्था छ।

एसिड पीडित र चिकित्सको भनाइअनुसार एसिडको दुःखाई असिमित हुन्छ। यसको पीडालाई अरुले कल्पना पनि गर्न सक्दैनन्। शारीरिक चोट अनि त्यसको पोलाई र दुःखाई एकातिर छँदैछ, एसिड आक्रमणमा परिसकेपछि अनुहार र शरीर विग्रदा पर्ने मानसिक असर कम पिडादायी पक्कै हुदैन।

यसैले पछिल्लो समय एसिड आक्रमणका अपराधीलाई फाँसीको सजाय हुनुपर्ने आवाज उठ्न थालेको छ।

प्रकाशित मिति: : 2019-11-21 09:48:00

प्रतिकृया दिनुहोस्