सप्तरीमा ४३९ उद्योग दर्ता

तस्बिरः एजेन्सी

जिल्लामा उद्योगको सङ्ख्या ४३९ पुगेको छ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा १७५ उद्योग दर्ता हुँदा उद्योगको सङ्ख्या ४३९ पुगेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ। नयाँ उद्योग दर्ताबाट रु ३८ लाख ७२ हजार ६४० राजश्व सङ्कलन भएको र ५८३ लाई रोजगारी सिर्जना भएको उद्योग अधिकृत सन्तोषकुमार साहले बताए।

सो कार्यालयका अनुसार आर्थिक वर्ष ०७५÷७६ मा जम्मा ४३९ उद्योगले भने एक हजार ४०४ लाई रोजगारी दिएको छ। कूल पूँजी रु ३८ करोड ६९ लाख ८१ हजार रहेका उद्योगले प्रति उद्योग करीब चार जनालाई रोजगारी सिर्जना गरेका उद्योग अधिकृत साहले बताए।

सो कार्यालयले उद्योग र वाणिज्य दुवै तर्फबाट रु एक करोड ७९ लाख ७३ हजार ६६८ राजश्व आम्दानी गरेको उद्योग साहले जानकारी दिए। मुलुकको आर्थिक विकास र समृद्घिको आधार स्तम्भ उद्योग नै रहेको भन्दै साहले स्वावलम्बी तथा आत्मनिर्भर भई उद्योग व्यवसाय दर्ता गर्ने प्रक्रियामा तीव्रता आएको बताए।

घरेलु तथा साना उद्योग र उत्पादनले प्रोत्साहन पाएकामा खुशी व्यक्त गर्दै उद्योग वाणिज्य सङ्घका अध्यक्ष अरुण प्रधानले ठूला उद्योग स्थापना गर्न प्रदेश र सङ्घीय सरकारले जोड दिनुपर्ने बताए।

उद्योगको विकास नभए जिल्ला र मुलुकको विकास नहुने भन्दै प्रधानले सबै निकायले एक भएर औद्योगिक वातावरण बनाउनुपर्नेमा जोड दिए। (रासस)

 

प्रकाशित मिति: : 2019-11-28 15:34:23

प्रतिकृया दिनुहोस्