अभिभावकलाई दैनिक रु १५

बिएल

दिवा खाजासहित विद्यालय पठाउने विद्यार्थीका अविभावकलाई दैनिक रु १५ दिइने भएको छ।

अमरगढी नगरपालिकामा दैनिक दिवा खाजासहित विद्यालय पठाउने विद्यार्थीका अविभाकलाई दैनिक रु १५ का दरले भुक्तानी दिने गरेको अमरगढी नगरपालिकाले जनाएको छ।

नगरपालिकाभित्रका २७ विद्यालयका बालविकासदेखि ५ सम्मका एक हजार ८२५ विद्यार्थीलाई दैनिक उक्त सेवा उपलब्ध गराउने गरेको जनाइएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा कक्षा ५ सम्मका विद्यार्थीलाई एक आर्थिक वर्षको १८० दिनसम्म सो सुविधा दिने व्यवस्था अनुसार नगरपालिकाका विद्यालयमा दिवा खाजा कार्यक्रम मङ्सिर १ गतेबाट शुरु गरिएको नगरपालिकाका शिक्षा प्रमुख शाखा अधिकृत हेमन्त पन्तले बताए।

विद्यार्थीले टिफिनमा मकै, चिउरा, चना, आलु, खिचडी, पुरी तरकारी, साग, रोटी र जाउलो जस्ता खाजाका परिकार दैनिकरुपमा ल्याउनेगरी गरी पहिलो चरणमा अभिभावकको भेला गरी दिवा खाजा अभियान शुरु गरिएको उनले बताए।

अमरगढी–७ को उग्रतारा मावि कक्षा ५ मा अध्ययनरत छात्रा आशा रैकालले अहिले दैनिक आमाले खाजाको टिफिन तयार गरेर विद्यालय पठाउने गरेकाले दिनभरि अध्ययनमा रुचि रहने गरेको बताइन्।

यस्तै दिवा खाजा कार्यक्रम शुरु भएयता विद्यालयमा आउने विद्यार्थीको उपस्थितिमा निकै बढेको शम्भुनाथ आधारभूत विद्यालय अमरगढी–६ का शिक्षक भक्त विकले बताए।

पहिले ७० देखि ८० प्रतिशत विद्यार्थी दैनिक उपस्थित हुने गरेपनि अहिले दैनिक शतप्रतिशतसम्म विद्यार्थी उपस्थित हुने गरेको उनले बताए। बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थी नै कम उपस्थित हुने भएकाले अहिले उनीहरुलाई प्रोत्साहनस्वरुप दिवा खाजा भएको शिक्षक विकले बताए।(रासस)

प्रकाशित मिति: : 2019-11-28 16:07:18

प्रतिकृया दिनुहोस्