अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी तिब्र, म्याराथन मुख्य आकर्षक

तस्बिरः बिएल

दोस्रो अन्नपूर्ण सेन्चूरी पर्यटन महोत्सवको तयारी तिव्र पारिएको छ। अन्नपूर्ण सेन्चूरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा हुने महोत्सव आगामी जेठ १७ देखि २० गतेसम्म हुनेछ।

अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकास गरी पर्यटन प्रबर्द्धनका लागि भन्दै गत वर्षदेखि सुरू भएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवलाई निरन्तरता दिँदै महोत्सव गर्न लागिएको हो।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक ललित गुरूङका अनुसारमहोत्सवलाई एकै चरणमा सम्पन्न गर्ने गरी तयारी तिव्र पारिएको छ।

‘गतवर्षको महोत्सवबाट प्राप्त उपलब्धिले हामी थप उत्साहित भएका छौं, महोत्सव अवधिभर घान्द्रुक आउने पर्यटकलाई प्याकेजको व्यवस्थासमेत गरिएको छ’, गुरूङले भने।

यो महोत्सवको मुख्य आकर्षणनै अन्नपूर्ण म्याराथन हुने गुरूङले जानकारी दिए।

यस वर्षदेखि दोस्रो अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रूपमा लैजाने प्रयास गरेको पत्रकार सम्मेलनमा गुरुङले जानकारी गराए।

म्याराथनको लागि नेपाल एथेलेक्टिस संघसँग समन्वय गरी अन्तर्राष्ट्रिय धावकहरू सहभागी गराउन पहलसमेत गरिएको छ।

अन्नपूर्ण आधारशिविरबाट शुरुहुने म्याराथन माछापुछ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाँडापानी, भैंसीखर्कहुँदै घान्द्रुकमा समापन हुने गरी म्याराथन रुट कायम गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका महासचिव दिलिप गुरुङले जानकारी दिए।

फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले जुन ३ मा अन्नपूर्ण हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई अन्नपूर्ण आरोहण दिवस मनाउने गरिन्छ ।

म्याराथनमा प्रथम हुनेले नगद एक लाख पाँच हजार, द्वितीय हुनेले ७५ हजार र तृतीय हुनेले ५५ हजार रुपैयाँका साथमा पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्।

महोत्सवमा क्लब स्तरीय पुरूष भलिबल, खुल्ला महिला भलिबल, क्लब स्तरीय पुरुष बास्केटबल भेट्रान भलिबल, वडास्तरीय रस्साकसी, छेलो तथा विलालयस्तरीय निबन्ध लेखन प्रतियोगिता हुने महोत्सवका प्रचारप्रसार संयोजक टंकराज अधिकारीले जानकारी दिए।

गत वर्ष विभिन्न तीन चरणमा महोत्सव गरिएको थियो भने यस वर्ष भने एकै चरणमा हुन लागेको हो। गत वर्ष प्रथम चरणः २०७४,असोज २५ गते अन्नपूर्ण आधार शिविर, दोस्रो चरणः २०७४, पुस १० देखि १५ सम्म छोम्रोङमा र तेस्रो चरणः २०७५ जेष्ठ १७ देखि २० गतेसम्म घान्द्रुकमा सम्पन्न भएको थियो।

प्रकाशित मिति: : 2019-05-14 11:17:56

प्रतिकृया दिनुहोस्