‘जाऔं है जिरी’ अभियान चलाइने

दोलखाको पर्यटकीय नगरी जिरी। तस्बिरः बिएल

एक समय सगरमाथाको प्रवेशद्वारका रुपमा चिनिएको दोलखाको रमणीय उपत्यका जिरीमा अचेल फाट्टफुट्ट मात्रै विदेशी पर्यटक पुग्छन्। सोलुखुम्बुको लुक्लामा विमानस्थल बनेपछि अधिकांश पदयात्री उतैबाट सगरमाथा ओहोरदोहोर गर्छन्। त्यसैले पछिल्लो समय जिरीमा विदेशी भन्दा आन्तरिक पर्यटक बढी देखिन्छन्।

पर्यटकीय चहलपहलबाट जिरीको आर्थिकस्तर सुर्धान टेवा पु¥याउने उद्देश्यले प्रगतिशील युवा शसक्तिकरण केन्द्रले जिरीमा बेलाबेलामा विभिन्न कार्यक्रम गर्दै आएको छ। उसले केन्द्रीय राजधानी काठमाडौंमा जिरीको प्रचारमुलक कार्यक्रम चलाउँदै आएको छ।

यसैक्रममा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न उसले चाँडै नै ‘जाऔं है जिरी’ अभियान चलाउने भएको छ। ‘हामी अभियानकै रुपमा जिरीको प्रमोट गर्दैछौं’, केन्द्रका अध्यक्ष लिलाराम खड्का भन्छन्, ‘अभियान सफल बनाउन जिरी नगरपालिका, जिरी उद्योग वाणिज्य संघ, नेपाल पर्यटन बोर्ड र कन्सेप्ट नेपाल र जिरीमा क्रियाशील युवा संघसंस्थासँग सहकार्य गर्दैछौं।’

अभियानको शुभारम्भ काठमाडौंमा हुनेछ। त्यस्तै जिरीको पर्यटनमाथि जिरीमै विमर्श कार्यक्रम गरिनेछ। त्यसैगरि जिरीको प्रवद्र्धन गर्न पत्रकारहरुलाई जिरी भ्रमण गराइने छ। ‘मूलतः हाम्रो अभियान प्रचरात्मक कार्यक्रममा केन्द्रित हुनेछ’, उनले भने।

केन्द्रले जिरीको पर्यटनमा टेवा पुग्ने किसिमका प्रचारात्मक सामाग्रीहरू बुकलेट, पोस्टर, लिफलेट लगायत प्रकाशन गर्दैछ। उसले दोलखा घुम्ने प्याकेजहरू समेत बनाएको छ।

‘हामी जिरी र दोलखा प्याकेज बनाएर काठमाडौंका स्कुल, कलेजका साथै कर्पोरेट जमातमा पुग्दैछौं’, खड्का भन्छन्, ‘जिरीका लागि दुई राते प्याकेज र दोलखाका लागि ३ राते प्याकेज बनाएका छौं।’

जिरीमा जिरेश्वर महादेव, रमणीय उपत्यका, चैत्य, गुम्बा, चिया बगान, बुद्धपार्क, चिज कारखाना, सिक्रि, च्र्योदुङ, हनुमन्ते, यलुङ, हलेसी गुफा लगायत प्राकृतिक, धार्मिक एवं सांस्कृतिक सम्पदा छन्।

त्यसैगरी दोलखा प्याकेजमा जिरीका साथै भीमेश्वर, कालिन्चोक र शैलुङ क्षेत्र समेटिएको छ। केन्द्रले जटापोखरी र पाँचपोखरीको प्याकेज समेत बनाएको छ। 

असारदेखि सुरु गरिने अभियान वर्ष दिनसम्म सञ्चालन हुने केन्द्रले जनाएको छ।

 हेर्नुहोस् केही तस्बिरहरू

प्रकाशित मिति: : 2019-06-15 09:56:48

प्रतिकृया दिनुहोस्