मुस्ताङमा स्योपेन लव फालो (कुमार यात्रा) पर्वको रमझम (भिडियोसहित)

तस्बिरः सुरेन्द्र घुमफिरे

पोहोर साल मंसिरमा मित्र ज्ञानेन्द्र शेरचनसँग हिमालपारीको जिल्ला मुस्ताङको लार्जुङ गाउँ पुगेको थिएँ।

पाँच दिने लार्जुङ बसाईमा कोबाङ सेरोफेरो घुम्ने मौका जुर्‍यो। विन्टर सिजन परेकोले आकास सफा थियो, धौलागिरि, टुकुचे र निलगिरि हिमालको काखमा बसेको यो ठाउँ बिहानैदेखि मनमोहक दृश्यले मोहनी लगाउँछ।

तल्लो मुस्ताङमा पर्ने यो ठाउँलाई थाक सात सय क्षेत्रले पनि चिनिन्छ। इतिहास हेर्दा यहाँ ७०० घर धुरी थिए।  १३ गाउँमा १३ मुखियाले शासन गर्थे। घासादेखि मार्फा बोर्डरसम्म पर्ने यो क्षेत्र कालीगण्डकी किनारमा पर्ने सबैभन्दा ठूलो उपत्यकासमेत हो।

थकाली जातिका शेरचन, गौचन, भट्टचन र तुलाचन थरको थातथलो यो क्षेत्र २००७ सालभन्दा अगाडि भोटको नुनको मुख्य व्यापारीक केन्द्र थियो।

राणा शासनको अन्त्य र दक्षिण तिरबाट नुन भित्रिएसँगै यहाँका ब्यापारिक केन्द्र बन्द भयो। स्थानीय थकाली समुदाय देशको बिभिन्न ठाउँतिर ब्यापार ब्यवासयको सिलशीलामा बसाई सरे।

सन् १९५० मा नेपालले विदेसीहरूको आवतजावत खुल्ला गरेसँगै यहाँ पर्यटकको आगमनले स्थानीयको जीवनशैलीमा कोल्टे फेर्‍यो। सन् १९७० तिर यो क्षेत्र नुन ब्यापारको केन्द्रदेखि पर्यटन क्षेत्रमा रुपान्तरित भयो।

यसपल्ट फेरि स्यापेन फालो लव अर्थात कुमार यात्रा पर्व अवसरमा उही मित्र ज्ञानेन्द्रको निम्तोमा भदौ १९ गते कोबाङ पुगेँ।

पर्वको बेला भएकोले कोबाङको चहपहल निकै थियो। पर्व मनाउन देशका कुना कुनामा छरिएर बसोबास गरेका र विदेशमा समेत रहेका थकाली समुदाय गाउँ फर्किएका थिए।

स्योपेन लव फालो ( कुमार यात्रा) 

‘हाम्रो संस्कृति जोगाऔं, आफ्नो पहिचान बचाऔं भन्ने मुल नाराका साथ भदौ १९-२३ गतेसम्म हिमाली जिल्ला मुस्ताङको कोबाङमा स्योपेन फालो लव मनाएको थियो।

स्योपेन अर्थात कुमार कन्य केटाहरुलाई लामा गुरूहरू, मुखियाहरु, भद्रभलाद्मी, स्योपेनको अभिवावक र स्थानीयले प्रसस्त आशिर्वाद दिए।

यो वर्ष विशेष तरिकाले मनाएको पर्वमा थकाली आमा समूह र युवा युवतिले विभिन्न झाँकी प्रदर्शन र अन्य विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।

फालो पर्व (कुमार यात्रा) थकाली जातिको परापूर्वकालदेखि मान्दै आएको एक ऐतिहासिक धार्मिक र सांस्कृतिक पर्व हो। किम्बदन्ती अनुसार भगवान नरिच्ह्योव र पुर्खाहरूबिच वाचाकबोल गरे अनुसार पर्व मनाउने चलन छ।

उक्त यात्रामा भगवान नरिच्ह्योवबाट कुमार केटाहरुले आशिक प्राप्त गर्ने र अलौकिक शक्ति मिल्ने र सबै गाउँले र बासिन्दाको रक्षा गर्ने जनविश्वास छ। 

यसरी पुरा भयो चार दिने कुमार यात्रा

थकाली जातिको महान सांस्कृतिक पर्व स्योपेन लव फालो मुस्ताङ जिल्लाको कोबाङमा थकाली परम्परा अनुसार भदौ १९ गते बिहिबार सुरू भयो।

चार दिनसम्म चलेको पर्वमा ७ जना कुमार केटाहरूले भाग लिएका थिए।

थकाली धार्मिक परम्परा अनुसार विजोर उमेरका ५ देखि १३ वर्षका थकाली समुदायका गौचन, तुलाचन, शेरचन र भट्टचन थरका छेवर गरिसकेका कुमार केटाले कुमार यात्रामा भाग लिने चलन छ।

बिहिबार बेलुका कुमारलाई ट्हुम्व (लामा गुरू) द्वारा थकाली परम्परा अनुसार बिशेष पूजा गरेर कोट घरमा बुझाईयो।

पहिलो दिनः धार्मिक विधि (ल्होक्पच्हुजी) अनुसार कोटघरमा स्योपेन लव फालोको विधिवत रुपमा सुरुवात भयो।

दोस्रो दिन:  (म्हरस्याङ क्यू ह्यव स्यूता क्यू महाडतहेव) विधि अनुसार बिहानै साढे ५ बजे ४ किलोमिटर दूरीमा रहेको म्हरस्याङ क्यूमा कुमारहरुले चोखो पानीले नुहाएर र शुद्द भई चन्दन केसरीको टीका र फेटा लगाए।

चोखो भएर फर्किँदा टुकुचे मुखिया निरझरमान शेरचनको घरमा कुमारहरुको स्वागत (केल्साङ) भयो र आशिर्वाद ग्रहण गरेर चिया नास्तापछि यात्रा अगाडि बढ्यो।

कुमारहरू फर्किँदा खन्ति गाउँको कन्याहरूले फूल मालाले स्वागत (केल्साङ) गरेपछि कोटघरमा फर्किए।

कुमारहरूले १३ मुखिया, थकाली सेवा समितिका प्रतिनिधि, भद्र भलाद्मी र क्हुनदलहरू कोटघरमा जम्मा भई आशिर्वाद लिए।

दिउँसो खाना खाएर नर्साङ गुम्बामा पुगेर ट्हुम्व लामाद्वारा धार्मिक विधि अनुसार कुमारहरुले नरिच्योहव भगवानबाट आशिर्वाद प्राप्त गरे।

पूजा पाठ पश्चात फर्किने क्रममा यात्रामा सहभागी कुमारका अविभावक, भद्र भलाद्मीहरुले माङचो गीत गाउँदै कोटघर फर्किए। 

कोटघर पुगेर थप विधि अनुसार च्याङग्राको सिंह, छाला र आगो बोकेर करिब ३०० मिटर मुनि ल्ह्याङ क्यु खोला किनारमा ग्रह दशा सेलाएर कोटघरमै फर्किए।

दिनभरको फालो विधि पछि कोटघरमा थासाङ गाउँपालिका वडा न. २ को ६ गाउँ (खन्ति, कोबाङ, लार्जुङ, भुर्जुङकोट,नाखुम र नौरीकोट)का कलाकार टोलीले सन्देश मुलुक (स्ह्योमे) हाँस्य अभिनय प्रस्तुत गरे।

तेस्रो दिनः बिहानै स्नान गरेर कुमारहरू चार देवता (ल्हत्हिम, लहकाङ, कङ्क्युर र क्हाङ ) क्रमशः शेरचन, भट्टचन, गौचन र तुलाचनको गुम्बामा पुगेर धुप बत्ती बालेर पूजा गरे।

त्यसपश्चात कुमारसहित अन्य सहयोगीलाई भुर्जुङकोटमा गाउँका भद्रभलाद्मीले स्वागत (केल्साङ) गरे। त्यहाँ युम्बान्हुर्व गुम्बामा धुप बत्ती बालेर दर्शन गरे। त्यसपछि नाफ्रुङकोटमा कुमारहरुले धुप बत्ती बालेर पूजा गरे, त्होर्छे गाडे र स्थानीयले केल्साङ गरे।

त्यहाँका भद्रभलाद्मीहरुले माङ्चो गर्दै कुमारसँगै गाउँ परिक्रमा गरे।

उक्त विधिपछि कोबाङबाट आएका भद्रभलाद्मी, बुढापाका र युवा युवतिहरू ओङस्ह यूजी गीत गाउँदै  ओरालो क्योङसरतिर झरे। टोलीले नरिच्योव प्रकट भएको गुफामा पुगेर दर्शन गरे। बाटोमा नाकुँ गाउँमा स्थानीयले टोलीलाई स्वागत (केल्साङ) गरे।

लार्जुङ कयोङसरमा कुमारहरूलाई स्थानीय टोलीले पुगेर स्वागत गरे। कुमारहरुलाई खादा ओढाएर फूलमाला लगाई दिए।

जम्मा भएको स्थानीयहरू गोलबद्द भइ कुमारहरूलाई बिचमा राखेर टोलि क्योङसर चौतारीलाई ३ पल्ट परिक्रमा गरेर कहुर्छेकन्त स्थापना गरी प्रार्थना गर्दै ५-५ चरण स्तुतिगान गरे।

तत्पश्चात सयोपेनहरु घोडा चढेर, धनुषवाणले पालै पालो दुष्टहरुको चित्रमा तीन पटक ताकेर हाने।

विजयको उपलक्षमा सहभागीहरुले केल्साङ गरी फेटा र खादासहित आशिर्वाद दिए।

खुशी र हर्षित हुँदै परम्परागत अहामाचेले, शेमढैमयास, चुट्के र दोहोरी गीतहरू गाउँदै, नाँच्दै क्योङसरबाट नाचगान र रमाइलो गर्दै स्योपेनहरुलाई कोटघरसम्म पुर्‍याउन साथ दिए।

फालोको चौथो दिन स्योपेन (कुमारहरू), भद्र भलाद्मी, युवा युवती र बाजा गाजा टोली नरसाङ गुम्बाको यात्रामा निस्किए। परम्पारागत रिति अनुसार कुमारहरुले नर्साङ गुम्बामा धुप बत्ति बालेर, चन्दन लागाए र राजाराम गीत गाउँदै नाचे। ओङस्ह्यव गीत  मानव स्तुति गीत, सुनयाङ चुन्यो मनुवा, मान्डाल्यान घ्होल्यो ग्यासुरे, शुभ सानि हो, शुभ सानी हो भन्ने गीत र मानव उत्पत्तिको गीत गाउँदै फूल विसाने गीत गाएर गुम्बा भित्र धुप बत्ती बाले।

त्यसपछि जम्मा भएका भद्र भलाद्मीसहित सबै जना धुप बत्ति बालेर ओङस्ह्युजी गीत गाउँदै, नाच्दै स्योपेनको पछि पछि कोटघरमा पुगेर पर्व विधिवत रुपमा समापन भयो।

बेलुका आमा समूहले थकाली समुदायको सांस्कृतिक कार्यक्रम आयोजना गरे।

स्योपेन लव फालोको मुख्य आयोजक थाकसात सय १३ मुखिया थिए र आर्थिक सहयोग थकाली सेवा समिति नेपाल (केन्द्र) को। स्थानीय थकाली आमा समूह र धौलागिरी युवा क्लबले हातेमालो गरेका थिए भने भने थासाङ गाउँपालिका-२ को पनि सहयोग थियो ।  

 

 

प्रकाशित मिति: : 2019-09-20 10:01:23

प्रतिकृया दिनुहोस्