साहसिक पर्यटन र जुम्ला रारा म्याराथन (भिडियोसहित)

तस्बिरः बिएल

भिजिट नेपाल २०२०| श्रृंखला १

सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउने तयारी गरिरहेको छ। यो सबैको साझा लक्ष्य हो। त्यसैले कर्णाली प्रदेश सरकारले पनि उत्कृष्ट पर्यटकीय गन्तव्यहरु घोषणा गरेको छ। कर्णाली सरकारको नजरमा रारा एक प्रमुख पर्यटकीय गन्तव्य हो। दुःखको कुरा कर्णालीमा ट्रेकिङका लागि आइटिनरी नै बनेको छैन। ट्रेकिङ रूटमा डोजर चलेका छन्। विकास निर्माणमा दुरगामी दृष्टिकोण नहुँदा पर्यटकीय गन्तव्यहरुको आकर्षण नष्ट हुने क्रम बढ्दो छ।

दक्ष जनशक्ति छैन। संसारभरका सबै नगारिकको स्वादबारे जानेका कुक म्यान, दोभाषे, भरिया, रुट गाइडजस्ता आधारभुत जनशक्ति पनि नभएको ठाउँमा पर्यटन नारा मात्र हुने संसय बढी हुन्छ। यी सिमितताका बाबजुत पनि सरकारले लक्ष्य लिएको छ। यो हामी सबैको लक्ष्य हो। यसलाई पुरा गराउन हामी एकको भूमिका पनि महत्वपूर्ण हुनेछ।

तर, पर्यटनबाट मात्र समद्धि हाँशिल गर्ने योजना बन्छ भने त्यो हाम्रो कोरा कल्पना मात्र हुनेमा पनि सचेत हुन आवश्यक छ। पर्यटन भनेको सेवा क्षेत्र हो। सेवा क्षेत्रबाट रोजगारी त बढ्ला। तर, देश उभो लाग्दैन। देश माल्दिभ्स जस्तै हुन्छ।

पर्यटनलाई बसाल्न राम्रा होटल हाम्रा भए पनि त्यहाँ बेच्न राखिएका महंगा रक्सीदेखि स्तरीय खानेकुरा समेत विदेशी हुने हो भने हाम्रो समृद्धि सपनामा ब्रेक लाग्ने निश्चित छ। त्यसैले यी विषयमा सबैको सचेतता आवश्यक रहनेछ। 

ग्रेट हिमालयन ट्रेलको लोकेशन राम्ररी फाइन्ड आउट नगरेसम्म, भर्जिन हिमालहरू, संसारकै उचाईका बस्तीहरु, हिमाली भेगका समुद्र मानिने सुन्दर ताल तलैयाहरु, संसारमा विरलै पाइने जिवजन्तु र जडिबुटी भएको कर्णालीमा थान बनाएर वा डोजर चलायर मात्र पर्यटक भित्र्याउन सकिदैन। हाम्रो आफ्नो मौलिकता जोगाउँदै हाम्रा उत्पादनका ब्रान्ड स्थापित गर्न सकेमा मात्र आशा गर्ने ठाउँ रहन्छ। त्यसका लागि प्रचारप्रचारको बलियो संयन्त्र हुन जरूरी छ।

केही समयअघि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेर दोस्रो पटक जुम्लादेखि रारासम्मको अल्ट्रा म्याराथन भयो। जो गोल्डेन ट्रेल सिरिजको महत्वपूर्ण हिस्सा हो। धावक हरि बहादुर रोकायाका अनुसार यो एक गौरवमय उपलब्धि पनि हो। जुन विश्वविख्यात छ।

गोल्डेन ट्रेल सिरिजको सेमिफाइनलको रुपमा लिइएको यस म्याराथनले देशभरका मिडियामा राम्रो स्थान पायो।

देशका अधिकांश जिल्लाबाट सहभागिता जनाउन खेलाडीहरु जुम्ला पुगे। बेलायत, नेदरल्याण्ड, डेनमार्क र इटालीबाट एक एक जना गरी चार जना विदेशीहरु सहभागी भए भने छिमेकी देश भारतबाट दुई जना पुगे।

यो महत्वपूर्ण इभेन्टको अवसरमा बिएल नेपालीका लागि स्थलगत रिपोर्टिङ गर्न जुम्लादेखि रारासम्म पुगेको थिएँ। यसै सिलशीलामा देखिएका उत्कृष्ट दृश्यलाई सकेसम्म जस्ताको तस्तै उतार्ने प्रयास गरेको छु। यसले कर्णालीको पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने ठानिएको छ।

मधेशदेखि हिमालसम्म

महोत्तरीका नारायण कुमार कुशहवा अढाइ दिन लगाएर जुम्ला पुगे। उनी जुम्लासम्म आउन पहिला चितवन आए। त्यहाँबाट नेपालगन्ज, त्यसपछि एक दिनभरि गाडीको कठिन यात्रा गरेर जुम्ला पुगे। पूर्वी मधेशबाट पश्चिम हिमालसम्म एक्लै यात्रा गरे।

पाँच किलोमिटरको दूरीमा प्रतिश्पर्धा गरेका उनी प्रथम भए। मधेशबाट हिमाल चडेको ठिटोलाई प्रतियोगिता आगाडि नै केही पोजिसन आउँछ भन्ने आत्मविश्वास थियो। कालो चम्किलो मुहारलाई हँसिलो बनाउँदै बोल्दा उनका दाँत हिमाल झैं टल्केका थिए। उनले जुम्लालाई रमाइलो ठाउँ भने। गुरूको माध्यमबाट जुम्ला पुगेका उनी केही सिकिन्छ भनि आएका थिए।

उम्मकलीको उत्साह

 

जुम्ला रारा अल्ट्रा म्याराथनको मन छुने दृश्य हुन्- उम्मकली बुढा। उनले अघिल्लो वर्षको म्याराथनमा पनि भाग लिएकी थिइन्।

छोराको नागरिकता बनाउन रिणीदेखि जुम्ला बजार पुगेकी उनले म्याराथन हुँदैछ भन्ने थाहा पाइन्। उनलाई रहर लाग्यो। उतिखेरै फर्म भरेर कुर्तासँगै कुदिन्। र आठौं स्थान हाँशिल गरिन्। त्यसबेला कसैले थाहा पाएनन्। श्रीमानले पनि थाहा पाएनन्।

यो वर्ष केही दिन अगाडि म्याराथन हुँदैछ भन्ने थाहा पाएकी उनी प्रतियोगिताको अघिल्लो दिन साँझ घाँस काट्न जंगल पुगेकी थिइन्। प्रतियोगितामा सहभागी हुन बिहान दुई घण्टा हिँडेर बजार पुगिन्। छोरीका कपडा लगाइन् र कुदिन्।

धेरैले 'भाग नलेउ मुटु फुट्छ। कस्ता कस्ता मान्छे आएका छन् तिमी कार्टुन बन्छौ, नजाउ,' भनेका थिए। श्रीमानले पनि सक्दिनस् कि नजा,' भनेका थिए। तर, उम्मकलीले 'जे सुकै होस, दौडेरै छाड्छु,' भनिन्।

३९ वर्षकी उनका दुई वटा केटाकेटी छन्। जेठो छोरा १९ वर्षका भए भने कान्छी छोरी १४ वर्षकी भइन्।

कहिले पनि ‍औपचारिक तालिम वा कुनै खालका प्रतियोगितामा भाग नलिएकी उनी दोस्रो पटक जुम्लादेखि रारासम्मको लामो दूरीको म्याराथनमा सहभागी भइन्।

उनको अनुभव सानैदेखि लेकतिर यार्सा टिप्न गएको बेला हतारहतारको हिँडाई हो। त्यही अनुभवले लामो समय तालिम लिएका, औपचारिक रुपमा धेरै ठाउँमा दौडिएका खेलाडीलाई पछि पार्दै उनी चौथो भइन्।

हर्क गुरूङले आफ्नो किताब 'देखेको देश' मा पहाडका हुलाकीको प्रसंग जोड्दै भनेका छन्, 'उनीहरुको दौडलाई हेरेर अन्तर्राष्ट्रियस्तरको म्याराथन जित्न सकिन्छ।' त्यस्तै लेकमा यार्सागुम्बा टिप्न जानेबाट पनि आश गर्न सकिन्छ। यसको गतिलो उदाहरण हुन्, उम्मकली।

इन्डिया टु नेपाल

५३ वर्षका जगदीश यादव भारतको गुडगाउँ हरियाणाबाट जुम्ला पुगेका थिए।  नेपाली नबुझ्ने उनले हिन्दीमा भने, 'ए जो ४९ किलोमिटरका रेस है, हाम पुरा कर्लेंगेँ। कही बार हामने रेस किया है। यस बार भी करके रहेंगेँ,’ उत्साहित उनले जसरी पनि दूरी पार गर्छु भनेका थिए। तर, उनले सकेनन्। आयोजकले उनको अवस्था हेरेर रोक्यो।

जुम्ला राराको मध्यविन्दु भुलभुलेमा फर्किनेबेलामा उनले भने, 'कोहीवाद नै हम अगले साल भी आएंगेँ, इन्डियामे बहुत सारे लोगौको प्रचार करेङ्गेँ।’

यादवसँगै जुम्ला पुगेका राजस्थानका कुलदीपसिंह चौधरीले भने रेस पुरा गरे। अघिल्ला वर्ष जुम्लाका खेलाडीहरु राजस्थान म्याराथनमा सहभागी भएका थिए।  यो वर्ष उनीहरु आए। यसले दुबै क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग गर्‍यो।

उनले राराको सुन्दरतालाई बयान गर्दै भने,‘यति सुन्दर ठाउँमासम्म पुग्न निकै कठिन छ। कष्टदायी छ। तर यो साहसिक कदम हो। संसारमा साहसिक कदम चाल्न चाहने धेरैका लागि यो उत्कृष्ट गन्तव्य हो। कहिले पनि उकालो ओरालो नदौडिएको मलाई बाटोमा एकदम परिसानी भैरहेको थियो। तर जब मैले चुचामारे लेकबाट रारा देखेँ, त्यसपछि सारा दु:ख बिर्सिएँ। रारा दु:ख बिर्साउने ठाउँ रहेछ।’

युरोप टु नेपाल

जुम्ला-रारा म्याराथनमा सहभागी हुन एलेन बेलायतबाट जुम्ला पुगेका थिए। उनी काठमाडौंबाट नेपालगन्ज आउँदा त्यहाँका होटेलहरू सफा थिए। बसाइ आरामदायी भयो।

त्यहाँबाट जुम्ला आउँदा उनले राम्रा हिमालहरु देखे। सुन्दर वातावरण देखे। वर्षाको समय भएकाले जहाज बादल माथिको आकाशमा उड्यो। निकै रमाइलो लाग्यो। जुम्ला पनि सफा थियो। त्यो भन्दा बढी सफा मन भएका जुम्लीहरू लाग्यो। उनले भने, 'सुनौलो अवसरका लागि आयोजकलाई धन्यवाद, म जुम्ला-रारा म्याराथनमा भाग लिएर निकै उत्साहित भएको छु। मलाई लाग्छ भविष्यमा नेपालको पर्यटन विकास गर्ने यसको ठूलो भूमिका हुनेछ। म आफ्नो तर्फबाट सकेको प्रयास गर्नेछु।’

उनले पनि रेस पूरा गरे। तर बाटोमा उनी झण्डै सात किलोमिटर वरपरको दूरीमा हराए। स्वयंसेवकको राम्रो व्यवस्था भएकाले उनको चाँडै उद्दार हुन पायो। उनी खुसी हुँदै फेरि दौडिए।

युरोपबाट नेपाल आउने टोलीका नेता नेदरल्यान्डका जिमी अस्ट्रम हुन्। उनको देशमा सबैभन्दा बढी उचाइ भनेको जम्मा दुई सय मिटर मात्र हो। तर पनि उनी ३१ सय मिटर उचाइको प्रतियोगितामा भाग लिन आए। यो उनको सोख हो। त्यो भन्दा बढी साहसिक गतिविधिमा सरिक हुने तिव्र चाहना।

जिमी पहिलो पटक जुम्ला आएका हुन्। राराका सुन्दर दृश्यहरू उनका लागि नयाँ हुन्। यी सबैले उनलाई खुब प्रभावित बनायो। जुम्ला पुगेकै दिन उनले फेष्टिबल पनि हेर्न पाए। यो झन् रमाइलो क्षण थियो।

सबैभन्दा बढी म्पाराथनको कुराले नै उनलाई उत्साहित बनायो। मैले उनीसँग जुम्ला र राराबाट फर्किने बेला ताल्चा ययरपोर्ट दुबै ठाउँमा कुरा गरेको थिएँ। लामो दूरी, उँचो लेकमा दौडिएका उनी शारीरिक रुपमा थाकेका भए पनि मानसिक रुपमा फ्रेस थिए।

उनको मन चंगा थियो। जाँदाजाँदै उनले स्वयमसेवक, नेपाल आर्मीको सहयोगी टोली, आयोजक, सरोज शाही सबैलाई धन्यवाद दिए र भने, ‘यो सुनौलो अवसर मैले प्राप्त गरेँ। यदि अर्को पटक पनि जुम्ला-रारा म्याराथन भयो भने हाम्रो पूर्ण सहयोग हुनेछ। मैले जुम्ला राराको राम्रो भविष्य देखेको छु। प्रचारप्रसारमा सकेको सहयोग गर्नेछु।’

उनीहरूसँगै आएकी डेनमार्ककी स्टेनीसँग मैले धेरै पटक कुरा गर्ने कोशिश गरेँ। तर, उनी तयार भइनन्। उनले कुराकानीको जिम्मा टोली नेता जिमीलाई नै लगाइन्।

यी दृश्यहरूले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने छन् भन्ने आशा हो। जुम्ला-रारा म्याराथन ‘भिजिट नेपाल २०२०’ को लागि मात्र नभएर सदावाहार पर्यटन प्रवर्द्धनको सहयागी बन्नेमा दुई मत छैन।

यसको कारण रारा लगायतका पर्यटकीय गन्तब्यको प्रचार हुनेछ। चुचामारे लेकबाट अपि, शैपाललगायतका सुन्दर हिमशृंखलाको दृश्यावलोकन हुने कुराले धेरैको मन लोभ्याउनेछ।

विश्व साइकल यात्री पुस्कर शाहका अनुसार नेपाल साहसिक खेल र साहसिक पर्यटनका लागि संसारकै स्वर्ण भूमि हो। यसलाई बेच्न सक्नुपर्ने उनको तर्क छ।

हाल कर्णाली क्षेत्रमा मौसममा मात्र पर्यटकहरू आइरहेका छन्। त्यसमा आन्तरिक पर्यटकको संख्या बढी छ। बाह्य पर्यटकहरु भित्र्याउन सकिएको छैन। यसका लागि साहसिक पर्यटन महत्त्वपूर्ण हुन्छ।

यतिमात्र नभई सदावहार पर्यटनका लागि पनि साहसिक पर्यटन प्रवर्द्धन जरूरी छ। जुम्ला-रारा म्याराथन पनि त्यसैको हिस्सा हो। र यो प्रचारप्रसारको बलियो संयन्त्र पनि हो।

प्रकाशित मिति: : 2019-09-22 12:03:53

प्रतिकृया दिनुहोस्