गोठाला बन्दै पर्यटन उद्यमी (भिडियोसहित)

पर्यटन उद्यमी तारानाथ पहारी। तस्बिरः बिएल

एशियाकै सुन्दर सहर–पोखरा । सफा र चिटिक्क । गण्डकी प्रदेशको राजधानी, धार्मिक तथा पर्यटकीय सम्पदाहरूको भण्डार । पोखरा पर्यटकहरूको क्रिडास्थल मानिन्छ। यहाँका ताल बाराही, विन्ध्यवासिनी, पातले छाँगो, चमेरे गुफा, महेन्द्र गुफा, फेवाताल, रुपा र वेगनास ताल आदि पर्यटकीय आकर्षण हुन् ।

त्यति मात्र होइन पोखरा, उत्तरमा टलक्क टल्केका अन्नपुर्ण हिमश्रृंखला, कुमारी माछापुछ्रे आदि हिमालले पोखरा उज्यालिएको छ । नेपालीको घुमफिर गन्तव्य त हुँदै हो, विदेशीले पनि असाध्यै मन पराउने सहर हो पोखरा ।

पोखराबाटै अन्नपूर्ण र धौलागिरि क्षेत्रका पदयात्रा सुरु र अन्त्य हुन्छ । पछिल्लो समय पोखरा साहसिक गन्तव्यका रुपमा पनि स्थापित हुँदैछ । प्याराग्लाईडिङ, क्यानोनिङ, बोटिङ, फिसिङ, राफ्टिङ, बञ्जि जम्प, अल्ट्रालाइट, जिप फ्लायर आदिको सुविधाले पोखरा झन् झन् तन्नेरी भएको महशुस हुन्छ ।

साँच्चै संसारभरका मानिसका लागि लोभलाग्दो गन्तव्य पोखरा । यस्तो सहरमा भाग्यमानीहरू मात्र जन्मन्छन् । हो यही सहरको फेवाताल किनारामा जन्मे÷हुर्केका तारानाथ पहारी पोखराका चर्चित पर्यटन उद्यमी हुन् ।

पोखराका पर्यटन व्यवसायीहरूको छाता संगठन ‘पोखरा पर्यटन परिषद’को कोषाध्यक्षका रुपमा जिम्मेवारी सम्हालिरहेका उनी गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपाल, गण्डकी शाखाका संस्थापक अध्यक्ष पनि हुन् । भिटोफ गण्डकी शाखा अध्यक्ष हुँदा उनले भिटोफ केन्द्रको भन्दा बढी उत्पादनमुलक कार्यक्रम गरेर स्याबासी कमाएका थिए। उनकै कार्यकालमा पोखरामा पहिलो पटक होमस्टे मार्ट भएको थियो ।

आफू होटल व्यवसायी हुँदाहुँदै पनि गाउँगाउँमा होमस्टे खोल्न र खोलिएका होमस्टेको प्रवद्र्धन गर्न उनले खेलेको भूमिका प्रशंसनिय छ ।

उनी सानैदेखि मेहेनती थिए । उनका पिताजीले सन् ९० को दशकमा फेवाताल किनारमा कन्टिनेन्टल बुक स्टोर चलाएका थिए । तिनताका तारानाथ कक्षा ८ मा पढ्दै पसलमा पिताजीलाई सघाउँथे ।

आफ्नै बारीमा चर्दै बाख्राहरू

उनले एसएलसी सकेर क्याम्पस पढ्ने बेला साथीहरूसँग मिलेर लहडमा ‘पोखरा पिस होम’ नामक गेष्ट हाउस चलाए । त्यतिमा मात्र सिमित रहेनन् उनी, ०५८ सालतिर चार जना युवा मिलेर रोयल सफारी टुर्स एण्ड ट्राभल सुरु गरे । काठमाडौंबाट सौराहा र पोखरामा पर्यटक बस चलाए ।

त्यतिबेला मुलुक माओवादी जनयुद्धमा होमिएको थियो । त्यही बेला संकटकाल पनि लाग्यो । त्यसको परिणाम उनीहरूको व्यवसाय घाटामा पुग्यो । पहारी एक्लैले पछि सबलाइम ट्राभल चलाउने प्रयास गरे तर त्यो धेरै समय टिकेन ।

व्यवासायको सिलसिलामा सानैदेखि काठमाडौं–पोखरा आउजाउ गरेका उनले पोखरामै केही गर्ने सोच बनाए । अनि ०७१ सालतिर आफ्नै जमिनमा होटल हेलो ईन निर्माण गरे । १८ कोठे होटल सञ्चालन भएको केही समयमै १२ वैशाख ०७२ को भुइँचालो आयो । पहिला संकटकालको पिडाले रन्थनिएका पहारी अब भुइँचालोको चपेटामा परे ।

समस्यामा परेपछि मात्र मान्छे खारिन्छ । उनले हिम्मत हारेनन, काममा जुटिरहे । यसैक्रममा रेष्टुराँ र प्याराग्लाडिङ व्यवसायमा समेत हात हाले । थुप्रै हण्डर आए र अनुभव बटुले । यतिबेला भने उनी एग्रो टुरिजममा काम गर्दैछन् ।

भिटोफको नेतृत्व सम्हालेर गाउँगाउँ पुगेका बेला उनलाई एग्रो टुरिजममा काम गर्ने सोच पलाएको हो । त्यसैले सहयात्री राजु दाहालसँग मिलेर उनले फेवातालको शिरानी चापाकोटमा एग्रो टुरिजम एण्ड फार्म स्टे सञ्चालन गरेका छन् ।

त्यहाँ बाख्रा पालिएको छ । तरकारी खेती गरिएको छ । जंगल छेउको शान्त ठाउँमा मन बहलिन्छ । पोखरा लेकसाइडबाट पामे हुँदै चापाकोटसम्म जम्मा १० किमि छ । करिब ५० रोपनिको क्षेत्रफलमा सुरु गरेको फार्ममा बाख्रा, कुखुरा र जर्र्सी गाइ पालिएको छ । बारीमा वारीमा सिमी, साग सब्जी, फलफुल फलाइएको छ ।

उनीहरूले पुरानो घर मर्मत गरेका छन् । नयाँ दुइटा इको कटेज बनाएका छन् । फार्म स्टेको निर्माण अन्तिम चरणमा पुगेको छ ।

‘एकै रातमा करिव ४० जना बास बस्न सक्छन्’, पहारी भन्छन्, ‘शान्त वातावरण, हरपन खोलाको सोन्दर्य र हिमालको दृश्यावलोकन गर्दै अर्गानिक खाना र बास बस्न पाइन्छ ।’  

एग्रो फार्मस्टेको अबधारणा कसरी आयो त ?

‘भिटोफको नेतृत्वमा छँदा कास्की, लमजुङ, पर्वत, स्याङ्जाका विभिन्न गाउँघरमा पुग्ने मौका मिल्यो । त्यही बेला कुषिमा आधारित पर्यटन गर्ने सोच पलाएकाले यता हात हालेको हुँ’, पहारी भन्छन्, ‘फार्म स्टे भनेको होमस्टे र जको हाइब्रिड हो । सहरी लजको झल्को र गाउँले वातावरण सहितको इको लज ।’

एकै छिन ख्याल गरौं त, नेपालमा अवसर छैन भन्दै हजारौ युवा बैदेशिक रोजगारमा गएका छन् । गाउँ रित्ता छन् । खेतबारी बाँझा भैसके । यस्तो बेला तारानाथ पहारी जस्ता केही युवा स्वदेशमै उद्यम गर्न सकिन्छ भनेर संसारभर छरिएका नेपालीलाई सुसन्देश दिइरहेका छन् ।  

उनको अर्गानिक फार्म सुरु भैसक्यो । इको लज पनि तयार हुँदैछ । निर्माणमा उनीहरू रात दिन खटेका छन् । हरेक बिहान लकेसाइडदेखि चापाकोट पुग्छन् । कर्मचारीसँगै बाख्रा र पाठको रेखदेख गर्छन् । तिनलाई घाँस हाल्छन् । पाठापाठीलाई दूध खुवाउँछन् । तरकारी बारी गोडमेल गर्छन् ।

दिनभर खटेर साँझ मोटर बाइकमा निवास फर्कन्छन् । कहिलेकाहिँ उतै रात विताउँछन् । यसरी श्रम गर्दैछन् पहारी ।

पोखरेली पर्यटनकर्मीद्वय पहारी र राजु दाहालको प्रयासलाई हार्दिक बधाई अनि शुभकामना । उनीहरूको सहयात्रा निरन्तर रहोस् । फार्मस्टेको सफलताको अग्रिम शुभकामना !

यसरी पुग्नेः पोखरा लेकसाइड अर्थात् हल्लनचोकदेखि सेदी बगर, खपौंदी, भुकुण्डे, पामे हुँदै लौरुपसम्म बस छुट्छ । त्यहाँबाट २० मिनेट हिँडे चापाकोट एग्रो टुरिजमस्थल पुगिन्छ । हल्लनचोकबाट बस चल्छ । मोटरबाइकमा जाँदा २० मिनेट लाग्छ । एग्रो फार्मसम्मै बाइक र गाडी लान सकिन्छ ।  

सम्पर्क
तारानाथ पहारीः ९८५११०५०५८
राजु दाहालः ९८५६०४१९७५

प्रकाशित मिति: : 2019-11-14 09:03:43

प्रतिकृया दिनुहोस्