जाने हाे, तातोपानीमा नुहाउन? (भिडियोसहित)

बिएल
'भिजिट नेपाल २०२०'
 

अलि वर 'बाबिरा'। त्यहीँ छ, बाबिरा मष्टोको थान। कर्णाली भरिका बाबिरो मान्नेहरु मध्ये सबैभन्दा ठुलो, थान। मुल धामी बस्ने थलो। त्यहीँ कार्तिक पूर्णिमामा दिइएका थिए, पाँच सय बलि।

अलि पर छ,'लाछु जिउलो'। जहाँ बाबा चन्दननाथका बलशाली शिष्य लाछालकिर्ती पैकेलोले पहिलो पटक चुकको झाडी पन्छाएर खेत बनाएका थिए,'गुरु फोक्टो'।

नेपाली बजारमा हस्तक्षेपकारी ब्रान्डको रुपमा स्थापित मार्सी चामल उत्पादनको लागि पहिलो पटक काली मार्सी धान रोपिएको ठाउँ। अर्थात मार्सी धानको सफल परिक्षण गराउने जिउलो। जुन आज जुम्लाको अर्को परिचय बनेको छ।

यी दुई प्रसिद्ध स्थानको बीचमा, अर्को प्रसिद्ध स्थान छ,'तातोपानी धारा'। जहाँ मानव बस्तीभन्दा पहिलादेखि नै बगिरहेको छ,तातोपानी। जुम्लाको तापक्रम झरेर माइनस ११ डिग्री पुग्दा पनि तातोपानीले तपाईंको जीउ पोलिरहेकै हुन्छ।

बिस्तारै तापक्रम घटिरहेको छ। केही दिनमा तापक्रम घटेर माइनस पुग्नेछ। कतिले कल्पना गर्नेछन् अब त हावा पनि जम्छ होला। तर हावाको स्वतन्त्रता कस्ले छेक्न सक्नु र? बरु उल्टै मान्छेको शरीर सेक्ने घामलाई समेत चिसो बनाइदिन्छ। यस्तो बेला अक्सर आवश्यक पर्छ तातोपानी। अनि घरमा तताएको तातोपानी जस्तो होइन, जुम्लामा युगौंदेखि बगिरहेको तातोपानी। यसका अनेक विशेषता छन्।

तातोपानी प्राकृतिक चिकित्सालय नै हो। जहाँ नुहाउँदा छाला, नशा, बाथ लगायतका बिरामीलाई फाइदा पुग्छ भने पानी खाँदा ग्याष्ट्रिक चट हुन्छ। त्यसैले यहाँ अब भिड लाग्छ।

'दाई तपाईंले हाम्रो टावेल प्रयोग गरिहाल्नु भएछ। त ठिक छ। लेकिन जहाँबाट लिनुभएछ उहीँ राखिहाल्नुहोला,' तातोपानी-४ का रबि नेपालीले कपडा फेर्दै गर्दा नेपालगन्जका महोम्द अन्सारीले यस्तै बोलिरहेका थिए,'आज शनिबार साफ, सफाई गर्नाको लागि आयछम्। चिसो पानीले त कहाँ नुहाउन सकिन्छ र हजुर। यो पानी त बहुत अच्छा छ, हाम्रेलिए।'

जुम्लामा कस्मेटिक पसल गरि बसेका उनी हरेक शनिबार सकेसम्म नुहाउनको लागि तातोपानी पुग्छन्। पच्चीस रुपियाँ तिरेर जीउले आराम भएको महसुस गरुन्जेल नुहाउँछन् अनि फर्किन्छन्।

जाडो बढेसँगै जुम्लाको तातोपानीमा नुहाउनेहरुको संख्या बढिरहेको छ। तातोपानी-२ जर्मीका छक्कबहादुर बुढा टिकट बेच्दैछन्।'जिल्लाका (जुम्लाका)लाई बीस रुपियाँ, बाहिर जिल्लाका न पच्चीस रुपियाँ, स्थानीयकन पैसा लाग्दैन', अनि भन्दैछन्,'नुहाएपछि खाइन उठ्न्या, छालामा केही रोग भए फाल्छ। पानी खायो भने ग्यास्ट्रिक चट हुन्छ।'

स्थानीयलाई शुल्क नलाग्ने भएपछि यसैलाई निउ बनाएर धेरैले फ्रिमा पनि नुहाइरहेका थिए। हामीले चिनेका एकजना बजारतिरकाले भन्दै थिए,'हामी न्यैंका (यहीँका स्थानीय) हौं। पर लिताकोटका।' बुढाले चिनेका थिएनन् तीनले न्यैंका हौं भनेको पत्याएनन्। तर ननुहाउ भन्न पनि सकेनन्। बरु हामीलाई भने,'हजुर यस्तै गरि कतिले नुहाउँछन्, कतिले केही एकिनै हुन्न।'

लामो समयसम्म जीउ दुख्ने भएपछि धेरैले रागन (बाथ) भएको भने। धेरै ठाउँमा उपचार गर्दापनि निको भएन, सिंजा लुड्कुकी सपना हमाललाई। धेरैले तातोपानीमा नुहाएपछि ठिक हुन्छ भने। उनी लगत्तै गाडी चढेर तातोपानी पुगिन्।

नुहाउन लाग्दालाग्दै हामीसँग कुरा गरेकी उनलाई आफू निको हुन्छु भन्ने आशा लागेको छ। यदि निको भएमा आफूजस्तै समस्या परेकालाई पनि नुहाउन जाने सल्लाह दिने उनको सोच छ। 'छाला, नशामा समस्या आएपछि यहाँ नुहाउँदा ठिक हुन्छ भन्ने सुनेकी छु,' उनले भनिन, 'मलाई रागन छ। सन्चो हुन्छ भनेर यहाँ आएकी हुँ। आएको दुई दिन भयो।'

अरु दिनभन्दा शुक्रबार र शनिबार नुहाउन आउनेको संख्या बढि हुन्छ। पुस माघमा एकै दिन ढाई सयदेखि तीन सयसम्म नुहाउन आउने गरेको बुढाले बताए।

जिल्ला बाहिरबाट समेत जाडोको समयमा धेरै मान्छेहरु तातोपानीमा नुहाउनका लागि आइरहेका छन्। कालिकोट, मुगु लगायतका ठाउँबाट बढी आउने गरेका छन्। पछिल्लो समय जुम्ला, रारा लगायतका ठाउँमा घुम्न आउने पर्यटकहरु समेत नुहाउनलाई तातोपानी पुग्छन्।

म्याग्दीको तातोपानी कुण्डमा पनि तातोपानी छ। प्रधानमन्त्री हुँदा प्रचण्ड, उनकी श्रीमती र उनको पार्टीका नेताहरु शरीर तताउन पुगेका थिए। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापनि वरिष्ठ नेताहरुको लर्को लगाएरै म्याग्दी पुगे।

त्यस्तै विशेषतामा तलमाथि नभएको जुम्लाको तातोपानीमा सर्वसाधारण, बाहिरकादेखि यहाँका स्थानिय नेतासम्म पुगिरहेका छन्। यसको थप प्रचारप्रसार भएमा दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरुको लर्को लाग्नेछ।

जुम्लाको प्राकृतिक चिकित्सालय तातोपानी धारालाई व्यवस्थित बनाउन हाल समिति क्रियाशील छ। केही समय पहिलासम्म रातभरि नुहाउन पाइने भएपनि पछिल्लो समय राति झैझगडा बढी हुन थालेपछि ९ बजेभन्दा पछि नुहाउन नपाइने नियम लागू गरिएको छ।

तर, एउटा समस्या छ। पश्चिम नेपालको पहाडी भूभागमा प्रचलित छुई (छाउपडि) प्रथा तातोपानीमा पनि कायम छ। छुई नुहाउने भनेर अलग्गै धाराको व्यवस्था छ। त्यो धारा बनाउन नेपाल पर्यटन बोर्डले सहयोग गरेको लेखिएको छ। सरकारले नै छुई प्रथालाई कामय राख्न मलजल गरेको देखिन्छ। छुइ भएका महिलाहरु त्यहीँका धारामा नुहाउन लागेका देखिन्छन्।

शरीर पानीमा डुबाएर आनन्द लिनलाई पोखरी छ। महिला र पुरुषहरुका लागि छुट्टाछुट्टै धाराको व्यवस्था गरिएको छ। त्यसैले दैनिक सयौं मानिसहरु नुहाउनुलाई तातोपानी पुगिरहेका छन्।

कर्णाली प्रदेश सरकारले घोषणा गरेका सय वटा पर्यटकीय स्थलमा तातोपानी पर्दैन। तर पनि यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुगिरहेकै छन्। टाढाबाट आउनेलाई हेटेलको राम्रो व्यवस्था छ। खाना, खाजा, नास्ता पनि मन पसन्दकै खान पाइन्छ। हामी पनि जाडो छल्न तातोपानीको भरपुर उपयोग गरिरहेका छौं। जाडो मौसम छ, तपाईंलाई पनि काम लाग्ला। जाने होइन त नुहाउनलाई, तातोपानीमा?

 

प्रकाशित मिति: : 2019-11-24 16:31:23

प्रतिकृया दिनुहोस्