भट्टराईकाे प्रश्न: प्रधानमन्त्री ज्यू नक्कली राष्ट्रवादबाट कहिले मुक्त हुने ?

फाइल तस्बिर

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रवादको कुरा गर्ने प्रधानमन्त्री ओलीले कालापानी, लिम्पियाधुरा मिचिँदासमेत किन कुरा उठाउन नसकेको भन्दै प्रश्न गरेका छन्।

आइतबार पोखरामा समाजवादी पार्टीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले सिमा विवादको कुरा उठिसकेपछि प्रधानमन्त्रीलाई भेटेर सीमा रक्षाका लागि सुझाव समेत दिएको उनले उल्लेख गरे। राजनीतिक उच्चस्तरीय संवाद गरेर कुटनीतिक तवरले यो विवादलाई समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको उनले सुनाए ।

भारतीय प्रधानमन्त्रीसँग सिधा सम्पर्क गरेर विवाद सुल्झाउनुको साटो सानो नोटजस्तो बनाएर पत्र पठाएको सुन्नमा आएको भन्दै उनले कडा आलोचना गरे। ‘उहाँले कुनै राजनीतिक पहल गर्नु भएको छैन।’ प्रधानमन्त्रीले बाहिर राष्ट्रवादको डङ्का पिटेर भित्रभित्रै सत्ताको डरले लत्रिएर बसेको भन्दै उनले कडा आलोचना गरे। ‘यस्तो नक्कली राष्ट्रवादबाट कहिले मुक्त हुने ?’ उनले प्रश्न राखे।

भारतीय नाकाबन्दीको समयमा प्रधानमन्त्री ओलीले लिएको अडानको स्मरण गर्दै अध्यक्ष भट्टराईले साँच्चै नै कडा अडान लिने आएछन् भन्ने भ्रममा परेर जनताले भोट हालेको बताए। लिपुलेकदेखि लिम्पियाधुरासम्मको सिमाना कालिनदीले निर्माण गरेको सिमानाभन्दा पूर्वको भाग नेपाली भू–भाग हो भनेर सुगौली सन्धिमा प्रष्ट लेखिएको जानकारी दिए।

प्रकाशित मिति: : 2019-11-24 18:00:13

प्रतिकृया दिनुहोस्