मानसिक स्वास्थ्यमा हाम्रो भूमिका

तस्बिरः एजेन्सी

विश्व स्वास्थ्य संगठनले मानसिक स्वास्थ्यलाई स्वास्थ्यको एउटा अभिन्न अंगका रूपमा परिभाषित गरेको छ।

यद्यपी मानसिक स्वास्थ्यलाई विश्व जगतमा स्थापित हुन लामो समय कुर्नुपर्‍यो। संसारका विकसित मुलुकले मानसिक स्वास्थ्यमा निकै ठूलो फड्को मारिसकेका छन्। विद्यालयस्तरदेखि नै यसलाई स्थापित गराउन मानसिक एवं मनोसामाजिक सवालका विषयलाई मध्यनजर गर्दै पाठयक्रममासमेत प्रस्तुत भएका छन्।

यति हुँदा हुँदै पनि विकसित देशमा मानसिक एवं मनोसामाजिक समस्या छँदै छैनन् भनेको होइन। फरक यति मात्र हो, हाम्रो जस्तो विकासोन्मुख मुलुकका जनताहरू अझै पनि समाजका स–साना कुरामा अल्मलिइरहेका छन्।

एकातिर वैज्ञानिक शिक्षाको अभावमा अझै पनि हाम्रो देशका विभिन्न किशोरी शरीरमा हुने वैज्ञानिक परिवर्तनको विषयलाई 'छाउपडी' को संज्ञा लिई बाँच्न बाध्य भएका छन्। फलस्वरुप यसै समयमा हुने शारीरिक सँगै मनोवैज्ञानिक पक्षलाई लिएर उनीहरू बाँचिरहेका छन्।

यस्तो प्रथा जोगाइराख्न विभिन्न वाद र धर्म जस्ता कुराले वैज्ञानिक शिक्षा भन्दा पनि छिटो प्रवेश पाइरहेका छन्। त्यस्तै गरी समाजमा विद्यमान कु–परम्परा जहाँ महिलालाई बोक्सीको आरोपमा विभिन्न लान्छना लगाई दोहोरो यातना दिइरहेका घटना पनि हामी अझै गाउँ समाजमा सुनिरहेका छौं।

अर्को महत्वपूर्ण पक्ष मानसिक सेवा लिने सेवाग्राही समाजमा प्रचलित विभिन्न व्यक्ति जस्तै धामी, झाँक्री, माताजस्ता व्यक्तिको सुनोजित मनोविज्ञानबाट सञ्चालित छन्। यसबाट समाजमा बेलाबेलामा विभिन्न दुर्घटनासमेत निम्तिएका छन्।

मानसिक स्वास्थ्यको उजागरणको इतिहास छिमेकी मुलुकको तुलनामा त्यति लामो छैन्। सन् १९६१ देखि हाम्रो देशमा यसको सुरूवात भएको हो। तर, छिमेकी मुलुक चीनको तुलनामा विगत १० वर्षमा हामी यो अभियानमा छिटो दौडन सफल भएका पक्कै छौं।

२०७२ सालको भूकम्प पश्चात मात्र हामी सबैले यसको महत्व बुझेर राष्ट्रियस्तरबाट पनि लागिपरेका छौं । हाल आएर नेपाल सरकारले पनि दिगो विकास लक्ष्य स्वरुप मानसिक स्वास्थ्यको प्रमुख कारकको रूपमा उभिएको आत्महत्यालाई २०३० सम्ममा प्रति लाख जनसंख्यामा १६.५ बाट घटाएर ४.२ मा लैजाने प्रतिबद्धता गरेको छ। तर यो सरकारको एकल प्रयासले पनि सम्भव देखिदैन। यसमा सबै क्षेत्रको प्रतिबद्धता जरूरत हुन्छ।

अझै पनि सबै क्षेत्रमा मानसिक एवं मनोसामाजिक अभिमुखीकरणका कार्यक्रमहरुको अभाव देखिन्छ।परिवारमा कुनै पनि व्यक्तिलाई मानसिक समस्या छ भने सिंगो परिवारले नै थप पीडा भोग्नुपर्ने अवस्था छ।

मानसिक सेवा अन्तर्गत खुलेका आवासीय सेवा गृह, पुर्नस्थापना केन्द्रहरूमा दक्ष जनशक्ति अभावले गर्नुपर्ने अनुगमनसमेत फितलो भइरहेको छ।

यसका लागि मानसिक क्षेत्रमा जनचेतना सबै उमेर, वर्ग र लिंगको समुदायमा फैलाउनु आवश्यक देखिन्छ।

मानसिक तथा मनोसामाजिक स्वास्थ्य सेवामा अटाउन नसकेको अर्को वर्ग अपांगता भएका व्यक्ति र तिनका परिवारले भोगेका तनावपूर्ण पाटाहरू हुन्। यस्तो क्षेत्रलाई सरकारले ध्यानसमेत दिन सकेको अवस्था छैन।

तथापि केही संघसंस्था र व्यक्ति विशेषले स्वतःस्फुर्त रूपमा यी मुद्दालाई विभिन्न संचार माध्यका सहायताले उठाइरहेका छन्।

देशमा सकारात्मक सोच लिएर अगाडि बढेका धेरै व्यक्ति छन्। अवश्य पनि नेपाल सरकारले लिएका मानसिक एवं मनोसामाजिक क्षेत्रको रकम र योजना अपुग छन्। तर

हामी सबैले यसमा ऐक्यबद्धता र चासो देखाउने हो भने केही वर्षमै ठूलो सफलता प्राप्त गर्न सकिने निश्चित छ।

(कार्की मानसिक एवं मनोसामाजिक सु–स्वास्थ्यको राष्ट्रिय अभियान नेपालकी राष्ट्रिय संयोजक हुन्।)

प्रकाशित मिति: : 2019-09-26 14:49:46

प्रतिकृया दिनुहोस्