महरा कृष्णबहादुर त गए : पालो आउला कि अरू 'कृष्ण'को पनि ?

नेपाली राजनीतिका एक हर्कते 'कृष्णबहादुर' को पतनको दशी । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

अन्तत: सभामुख कृष्णबहादुर महराको राजीनामा आयो । यो राजीनामा 'महराप्रवृति' पतनको सुरूवात हो, अन्त्य हैन । यस्ता प्रवृति भएका नेता कार्यकर्ता नेपाली राजनीतिमा तलदेखि माथिसम्मै छन् । अहिले कृष्णलीला गरिरहेका छन्, कुनै पनि बेला रासलीला हुनासाथ अरू महराहरू ढल्नेछन् ।

अहिले सरकारमै पनि 'महराप्रवृति'का कम्तीमा आधादर्जन झण्डाधारी भएको बताइन्छ - उनीहरूको मुटुको ढ्यांग्रो बजेको हुनुपर्छ । यसले यो प्रवृतिको आंशिक भए पनि गियर डाउन भने अवश्य गर्ने छ ।

उता, महरालाई राजीनामा दिन आदेश दिने सत्ताधारी नेकपा सचिवालय बैठकमा सहभागीमध्ये आधाभन्दा बढी यस्तो प्रवृति र काण्डमा शंकाको सुविधा पाइसकेका व्यक्ति छन् । यसको अर्थ नेपाली कम्युनिष्ट राजनीतिमा यो एक किसिमको ओपन सिक्रेट जस्तै छ । यस्तै कथा/व्यथा भएका नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा पनि सयौ छन् । 

अहिलको ठूलो समाचार महराले राजीनामा दिएका छन् । उनको पार्टी पनि उनलाई जोगाउन लागेन, राजीनामा दिन भनेर सही बाटोमै लाग्यो । जनताले महरा र उनको पार्टीबाट अहिलेका लागि अपेक्षा गरेको पनि यही थियो । यसबाट महराप्रवृतिको हार र जनताको जीत भएको छ । अब यो विषयलाई धेरै गिजल्ट्याउनेभन्दा पनि सिधा भाषामा उनीमाथि निस्पक्ष छानबिन हुनुपर्छ र दोषी प्रमाणित भएमा कडाभन्दा कारबाही हुनुपर्छ भन्ने नै हो । त्यसका लागि र, अनि, तथा, यद्यपि केही पनि लागु हुनुहुदैन । 

सभ्य समाजमा जनताले कानून हातमा लिदैनन्, कानुनको हात दह्रो बनाउन सहयोग गर्छन् । नेपाली समाज जो घरदेशदेखि परदेशसम्म छ, यतिबेला उसले गर्ने पनि यही नै हो । हामी आफैं न्यायाधीश भएर फैसला गर्नतिर लाग्नु हुदैन । छानबिनका क्रममा निरन्तर खबरदारी गर्ने र फैसला सत्य-तथ्यमा आधारित भएर नआए त्यसमाथि प्रतिक्रिया दिनुपर्छ । 

महरालाई पदबाट राजीनामा दिन सुझाव दिएको छ।

अवको अध्याय भनेको घटनाको पीडित पक्षले आफूलाई कसरी प्रस्तुत गर्छिन्-त्यसैमा बाँकि कुरा निर्भर हुन्छ । अहिलेसम्मको पृष्ठभूमी हेर्दा यो कृष्णलीला जारी रहेको रहेछ, अहिले मात्र रासलीला भएको रहेछ भन्ने अनुमान गर्न सकिन्छ । नेपाली समाजको हरेक तह र तप्काले अहिलेसम्म यसरी नै बुझेको जस्तो देखिन्छ । आ-आफ्नो स्वार्थको तावा तताउनु भिन्नै कुरा हो । यसको अर्थ पीडितको चरित्रमाथि प्रश्न उठाएर उनलाई थप पीडा दिन खोजिएको हैन र दिनु पनि हुदैन । तर, यो घटनाको पीडित पक्षले कुनै पनि समय युटर्न गर्यो भने बाँकि बोल्नेहरू एक्स्ट्रा-जोकर नहोलान् भन्न सकिन्न । भनाइ नै छ- घोडालाई खोलासम्म लान सकिन्छ तर पानी पियाउन सकिदैन ।

अहिलेलाई चाँहि 'महरा सर' ढलेकै हुन् । यो क्रम अन्त नहोस्, पहिलो होस्- हाम्रो समाजका हरेक तह र तप्कामा रहेका 'महरा सर'हरू ढल्नुपर्छ । त्यसका लागि हामी पनि आफ्नाले गरे कृष्णलीला र अरूले गरे रासलीला भन्ने सोचबाट माथि उठ्नुपर्छ । 

महराको व्यक्तित्व एक दिनले बनेको हैन-यसका लागि उनको लामो योगदान छ । तर,  एकछिनले नै गर्ल्यामगुर्लुम ढल्यो । सारमा यो अरू कसैले ढलाएको हैन, उनको आफ्नै हर्कतले ढलेको हो । अरूले धेरै गरे भने त्यसलाई गति मात्र दिएका हुन् । हुन त यसअघि पनि महरामाथि अरू संगीन आरोप नलागेका हैनन् , उनका दिन दह्रा भएर मात्र बचेका हुन्/बचाइएका हुन् । 

यो भिडियो पनि हेर्नुहोस्
महराकाे प्रष्ट राजीनामा आउनुपर्छ- नेपाली कांग्रेस

महराप्रवृति नांगिरहेको यति बेला यो चर्चा उप्काउन पनि असान्दर्भिक नहोला । त्यो के भने नेपाली समाज अझै पनि मूलत: पुरूषप्रधान समाज हो । 'मर्दका कति कति' वा 'खुट्टा भए जुत्ता कति कत' जस्ता भनाइले बनाएको मनोविज्ञानबाट अझै पनि हाम्रो समाज मुक्त भैसकेको छैन । यही मनोविज्ञानका साथ पुरूष हाबी हुने र महिलाले समर्पण गर्ने यो एक किसिमको आमचरित्र नै बनिसकेको छ । 

यही चरित्रका कारण हरेक तह र तप्कामा 'महराप्रवृति' कुनै न कुनै रूपमा हाबी छ । यो प्रवृतिबाट कुनै पनि क्षेत्र, भूगोल अछुतो छैन - घरदेशदेखि परदेशसम्मै । यो प्रवृतिका अर्को पक्ष पुरूषको त्यही कमजोरीबाट फाइदा लिएर जीवनमा ठूलो छलाङ मार्ने महिला पनि प्रशस्तै छन् । साहित्यमा लेखकका प्रिय हुँदा, पत्रिकामा सम्पादक दाहिने हुदा, कार्यालयमा हाकिमको नजरमा पर्दा, पार्टीमा नेताको धारोपधेरो हुँदा धेरै कुरा भएका छन् । फरक आफूलाई पर्दा ठीक र अरूलाई पर्दा बेठीक देख्ने हाम्रो द्वैध चरित्र मात्र हो । महराप्रवृति अक्षम्य छ तर यसमा पनि महरालाई भर्याङ बनाइएको तथ्य त स्थापित छ । 

यो पनि हेर्नुहोस्
महरामाथि छानबिन गर्न कांग्रेसका महामन्त्री शशांक कोइरालाकाे माग

तर, पछिल्लो समय हाम्रो समाजको पाराडाइम सिफ्ट भएको छ । त्यसअनुसार, सहमतिमा सबै सदाचार र असहमतिमा श्रीमान् श्रीमती बीच पनि बलात्कार हुने भएको छ । सोसाइटी सेन्ट्रिक पाराडाइम सिफ्टलाई अस्वीकार गर्न सहज हुदैन । यसबारेमा डिस्कोर्स हुदैछ - यो समाज विज्ञानको एक न्युनतम शर्त हो । 

अहिलेलाई चाँहि 'महरा सर' ढलेकै हुन् । यो क्रम अन्त नहोस्, पहिलो होस्- हाम्रो समाजका हरेक तह र तप्कामा रहेका 'महरा सर'हरू ढल्नुपर्छ । त्यसका लागि हामी पनि आफ्नाले गरे कृष्णलीला र अरूले गरे रासलीला भन्ने सोचबाट माथि उठ्नुपर्छ । 

 

प्रकाशित मिति: : 2019-10-01 20:06:47

प्रतिकृया दिनुहोस्