कसरी चलाउँछन् विप्लबले पैसा असुल्ने धन्दा (पत्रसहित)

तस्बिरः बिएल

एक वर्षअघिको स्थानीय र प्रतिनिधि सभाको चुनाव ताका देशैभर एनसेल टावर र विभिन्न उद्योगमा बम राखेरै नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहले करौडौं चन्दा असुल्यो।

प्रहरी तथ्यांक अनुसार स्थानीय निकायको निर्वाचनका बेलामा मात्र विप्लव नेतृत्वको नेकपा माओवादीले ३ दर्जनभन्दा बढी स्थानमा विस्फोटको घटना गरायो। त्यति नै मात्रामा एनसेल टावरमा आगजनीसमेत गर्‍यो।

त्यसको उद्धेश्य भय र त्रास फैलाएरै चन्दा असुल्ने हो।

यता चुनाव भाड्न निर्वाचनको प्रचारमा जुटेका विभिन्न राजनीतिक दलका उम्मेदारलाई लक्षित गर्दै बम बिस्फोट गराउने, उता चन्दाका लागि बहुराष्ट्रिय कम्पनी एनसेलका टावर जलाउने।

त्यती बेलाका घटनालाई लिएर प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पक्राउ गरी मुद्दा चलायो। तर, सर्वोच्चले प्रमाण नपुगेको भन्दै उनलाई छाड्न आदेश दियो।

सर्वोच्चबाट पक्राउ नगर्न आदेश पाएपछि पार्टीले चन्दा असुलीलाई अझ ब्यापक बनायो।

स्रोतका अनुसार एनसेलबाट मात्र विप्लव माओवादीले डेढ अर्ब चन्दा मागेको छ। उक्त रकम नदिएपछि विप्लव समूहले गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा शक्तिशाली बम बिस्फोट गरायो। उक्त घटनामा एक जनाको ज्यान जानुका साथै २ जना घाइते भए।

सोही राति देशैभरका २१ विभिन्न स्थानमा रहेका एनसेल टावरमा आगजनी गर्‍यो।

यसअघि निर्वाचन अघि पनि विप्लव नेतृत्वको निसानामा परेको एनसेलले त्यतिबेला केही रकम चन्दा पाएपछि चुप बसेको थियो। अब फेरि सो समूह एनसेलमाथि खनिएको छ, चन्दा माग्ने काम तिब्र पारेको छ।

यस्तो छ विप्लव माओवादीले एनसेललाई पठाएको चन्दा मागको निवेदन

विप्लव माओवादीले मागेको चन्दा

स्रोतका अनुसार विप्लव समूहले एक वर्षको अवधिमा एनसेलसँग पटक पटक गरि डेढ अर्ब रकम चन्दा मागेको छ।

क पटक २० करोड, अर्को पटक ५० करोड र एनसेलले राज्यलाई तिर्नुपर्ने कर भराउन भन्दै सर्वोच्चले निणर्य गरेपछि पनि ७० करोड चन्दा माग गरेको र उक्त रकम दिन आनाकानी गरेपछि एनसेल मुख्यालयमा बम राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

‘बम विस्फोट गराएरै चन्दा लिन पल्किएको विप्लव समूहले माग अनुसार पछिल्लो समयमा चन्दा पाएन, अनि बम बिष्पोट तिर लाग्यो’, एनसेलका एक अधिकारीले ब्रेकिङ लिङ्ससँग भने,‘तीन पटक पत्र र अन्तिम पटक भौतिक कारबाही गर्ने धम्कीपछि बम राखियो।’

एनसेलमा बम राख्नुको कारण चन्दानै देखिएको एक उच्च प्रहरी अधिकारीले ब्रेकएनलिंकसँग भने।

‘विप्लव समूहलाई पटक-पटक चन्दा दिँदै आएको एनसेलले पछिल्लो माग पुरा नगरेकै कारण बम विस्फोट गराएको हो,’ ती अधिकारीले भने, ‘नख्खु बम काण्डमा प्रहरी अनुसन्धानबाट एनसेलले खासै सहयोग नगरेकै कारण हो, दुर्गमका टावरमा पनि आक्रमण।’

स्रोतका अनुसार विप्लव समूहले एनसेल मात्र होइन अन्य ठूला ब्यवसायी र तीनका उद्योगमा पनि चन्दा मागेका छन्।

तर डरका कारण चन्दा माग बारे प्रहरीमा सूचना आउँदैन।

विप्लव माओबादीको चन्दा आतंकबारे प्रहरी बेखबर पनि छैन। तर, यथेष्ट प्रमाण र उजूरि गर्ने मान्छे नभएकाले पक्राउ परेका कार्यकर्तालाई प्रहरीले बिना कारबाही छोड्नु परेको छ।

प्रहरीलाई भनेर के गर्नु हाम्रो उद्योगमा २४ घण्टा प्रहरीले सुरक्षा गर्न सम्भव छैन, करोडौको सम्पत्ति बम हानेर उडाईदेलान् भन्ने डर, अनि कसरी प्रहरीलाई उजूरि गर्नु?-व्यवसायी

नाम उल्लेख नगर्ने सर्तमा एक ब्यवसायीले ब्रेकएनलिंक्ससँग भने, ‘भनेर के गर्नु हाम्रो उद्योगमा २४ घण्टा प्रहरीले सुरक्षा गर्न सम्भव छैन, करोडौको सम्पत्ति बम हानेर उडाईदेलान् भन्ने डर, अनि कसरी प्रहरीलाई उजूरि गर्नु?’, उनले भने, ‘मलाई पनि ५० लाख चन्दा माग भएको छ, प्रहरी र पत्रकारलाई खबर गरियो भने, भोलिको जिम्मेवार हामी हुँदैनौ भन्ने धम्की छ, मागेको जति नदिएपछि अलिअलि दिनैपर्‍यो।’

चन्दा नदिएकै कारण नख्खुमा बम राखिएको दाबी नेपाल प्रहरीका प्रवक्ताको छ।

‘नख्खुमा बम राख्नुमा अहिलेसम्मको अनुसन्धाले चन्दा नदिएकै कारण देखाएको छ,’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने, ‘अनुसन्धान हुँदैछ, सत्यतथ्य बाहिर आउँछ।’

घटनामा संलग्न केहीलाई प्रहरीले पक्राउसमेत गरेको छ।

‘नख्खु घटनालाई टेकेर हामीले ३५ जनाभन्दा बढी घटनामा संलग्न ब्यक्ति पक्राउ गरेका छौं, ती सबै विप्लव समूहकै हुन्, उनीहरू मात्र होइन उनीहरुलाई निर्देशित गर्नेको पनि खोजी जारी छ’, प्रवक्ता सुवेदीले भने।

प्रकाशित मिति: : 2019-03-11 09:30:04

प्रतिकृया दिनुहोस्