प्रधानमन्त्री प्रचण्डको अमेरिका यात्रा, छोरी र नातिनीको ‘घडी–ब्याग’को सिद्रा व्यापार

प्रदीप भट्टराई

न्युयोर्क, अमेरिका

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका आएका प्रधानमन्त्री प्रचण्डको भ्रमण उनकी छोरी र नातिनीको घडी–झोला–सेण्डिल चर्चाको छाँयामा परेको छ। लाग्छ, प्रधानमन्त्री प्रचण्डको अमेरिका यात्रा, छोरी–नातिनीको घडी–ब्याग–सेण्डिलको सिद्रा व्यापार नै भयो।

प्रचण्डपुत्री गंगा दाहाल स्वकीय सचिवको हैसयतमा भ्रण दलमै छिन् भने उनकी छोरी स्मिता दाहाल केही दिनअघि अमेरिकामा आयोजित एक नेपाली चलचित्र महोत्सवमा सहभागी हुन अमेरिका आएकी थिइन्। गायिकाको परिचय बनाएकी स्मिता प्रचण्डकी कान्छी छोरी गंगा दाहालकी पहिलो श्रीमानतिरकी छोरी हुन्।

उनी विन्दास भएर अमेरिकाको म्यानहट्टन, लसभेगासतिर घुमिरहेका तस्बिरहरू सार्वजनिक भएका थिए। उनी अझै अमेरिकामै छिन् कि नेपाल फर्किसकिन्?, त्यसबारेमा भने एकिन भन्न  सकिन्न। तर, उनी न्युयोर्कमा रहेका हजुरबा प्रचण्ड र आमा गंगासँग नदेखिएकाले उनी नेपाल फर्किसकेको अनुमान गर्न सकिन्छ।

माओवादी सुप्रिम कमाण्डर प्रचण्ड आफूलाई सर्वहाराको मुक्तिदाता ठान्छन्। यस अर्थमा उनको लवाइ, खवाइ, उठाइ बसाइ सामान्य हुनुपर्ने आमा मानिसको बुझाइ हो। तर, प्रचण्डको पछिल्लो लाइफस्टाइललाई हेर्ने हो उनी एक ब्रुजुवा रोलमोडल देखिन्छन्। उनका सुट र घडीहरूको चर्चा यसअघि पनि पटकपटक भएकै हो।

बावु प्रचण्डको बिडो मात्रै हैन, त्यो भन्दा दश पाइलाअघि छिन् छोरी गंगा दाहाल। अझ आमा गंगाभन्दा अरू २० पाइलाअघि छिन् उनकी छोरी स्मिता। एक सर्वहारावादी नेताका छोरी र नातिनी भन्ने नसकिने किसिमको भावभङ्गीमा प्रस्तुत हुने यी आमाछोरी कुन पनि सभ्रान्त परिवारका छोरी नातिनीभन्न्दा कम छैनन्। उनीहरूले लगाउने लुगा, घडी, बोक्ने झोलाहरू महङ्गा ब्राण्डका हुन्छन् भने गहना पनि सुनभन्दा माथि हिरामा उक्लिसकेको अवस्था छ।

उनीहरूको यो ब्रुजुवाकरणको बारेमा नेपाली मिडियामा प्रशस्तै आलोचना पनि भएको छ। स्वयं माओवादी पार्टीभित्र पनि यो लज्जाको विषय बनेको छ। केही माओवादी नेता, कार्यकर्ताले उनीहरूको लाइफस्टाइललाई लिएर आलोचना पनि गरेका छन्। तर, प्रचण्डको किचन क्याविनेटको बागडोर सम्हालेकी गंगा यति शक्तिशाली छिन् कि उनी स्वयं प्रचण्डलाई पनि काबुमा राख्ने हैसियत राख्छिन्।

आफूलाई  प्रचण्डकी वास्तविक स्वकीय सचिव बनाएकी उनी पार्टीमा केन्द्रीय सदस्य भैसकिन। उनको कान्छो श्रीमानलाई पार्टीको केन्द्री सदस्य मात्र हैन, प्रदेश सांसद हुँदै प्रदेशको मन्त्री पनि बनाइ सकिन्।

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका आएका प्रधानमन्त्री प्रचण्डको भ्रमण उनकी छोरी र नातिनीको घडी–झोला–सेण्डिल  चर्चाको छाँयामा परेको छ। लाग्छ, प्रधानमन्त्री प्रचण्डको अमेरिका यात्रा, छोरी–नातिनीको घडी–ब्याग–सेण्डिलको सिद्रा ब्यापार नै भयो।

अहिले उनको नाम ठूलाठूला ठेक्कापट्टामा जोडिन थालेको छ। माओवादीभित्रका केही युवाहरू नै भन्न थालेका छन् कि 'गंगा गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाताकै लाइनमा छिन्।'

अमेरिका भ्रमणमा रहेकी यिनै 'बिचौलिया' गंगाको झोला, घडी र उनकी छोरी स्मिताको झोला अनि सुकमारी पहिरनको चर्चा अहिले चुलिएको छ। केहीले व्यक्तिगत मामला हो भनेर उनीहरूको बचाउमा निम्सरो तर्क गरेका छन् भने केहीले जमेर आलोचना गरेका छन्।

यो पंक्तिकारको विचारमा प्रचण्ड सबैभन्दा रफ्तारमा सांस्कृतिक विचलनमा परिरहेका एक पेटी ब्रुजुवा हुन्। उनी पहिला यस्तो रवाफ गर्ने हैसियतमा नभएकाले कम्युनिष्ट भएका रहेछन्। मौका पाउँनासाथ त उनले आफ्नो जात देखाइ हाले। 'जब माउ नै यस्तो कर्कलो छ भने उनका छोरी, नातिमा यस्तो विचलन आउनु कुन ठूलो कुरा भयो र ?'

जहाँसम्म यो उनीहरूको निजी मामला भन्ने कुरा छ, त्यसमा सहमत हुन सकिन्न। प्रचण्डकै छोरी, नातिनाका रूपमा ब्राण्डिङ भएर यी सबै आर्जन भएपछि त्यसो गर्ने ब्लाइन्ड चेक दिन सकिदैन। यी छोरी नातिनीको यो किसिमको रजाइँ गर्ने पुग्दो हैसियत भएको भए पनि केही छुट दिन सकिन्थ्यो कि ?

यस अर्थमा पनि, यिनीहरूले निजी जीवन भनेर छुट पाउँदैनन् त्यसमा पनि माओवादी सुप्रिम कमाण्डरका छोरी–नातिनीलाई त यो छुट हुनै सक्दैन। क्रान्तिका नाममा मारिएका र मर्नबाट बाँचेका दुबैका लागि यो सैह्य हुन सक्दैन।

प्रकाशित मिति: : 2023-09-20 20:55:00

प्रतिकृया दिनुहोस्