१६ वर्षमा आँखा गुमाएकी श्रृष्टी युरोपमा ‘मास्टर्स’ गर्ने पहिलो दृष्टिविहिन (भिडियो सहित)

तस्बिरः बिएल

 महिलाकाे सफल कथा–४ 

श्रृष्टी केसी आफ्नो १६ वर्षे यौवनलाई ‘स्वीट सिक्टीन’ को उपनाम दिन्छिन्। उनले १६ वर्षको उमेरमा दृष्टि गुमाएकी थिइन्। भन्छिन्–‘मैले दृष्टि गुमाएकी हुँ तर यसले मलाई बाँच्ने कला सिकाएको छ।’

‘मोटिभेशनल स्पीकर’ को रुपमा अन्तर्राष्ट्रियस्तरमै नाम कमाएकी श्रृष्टीको जीवन कथालाई पछ्याउँन हामी भक्तपुरस्थित उनको घर पुगेका थियौं।

बिहान ९.३० मा उनको घर पुग्दा उनी जावलाखेलस्थित अंगेनो रेष्टुरेन्टमा एउटा गैरसरकारी संस्थाले आयोजना गर्न लागेको महिला सशक्तिकरण सम्वन्धि तालिमको ‘गेष्ट स्पीकर’ को रुपमा सहभागी हुने तयारीमा थिइन्।

याे पनि हेर्नुहाेस।

घरमा मेकअपकै दौरान श्रृष्टीले बीएल नेपाली सेवाले हरेक सोमबार प्रकाशित गर्ने ‘महिलाका सफल कथा’ शृंखलासँग भनिन्, ‘शरीरको एक भाग गुम्दैँमा जीवनको सबै कुरा सकिने होइन्।’

अपाङ मैत्री नभएको हाम्रो समाजसँग लड्नका लागि श्रृष्टिले ५ वर्षअघि सन् २०१४ मा ‘ब्लाइन्ड रक्स’ नामक एउटा संस्था स्थापना गरेकी थिइन्।
जुन दृष्टीविहिनहरूका लागि आवाज बन्न थालेको छ।

श्रृष्टी परिवारकी कान्छी छोरी हुन्। भक्तपुर गठ्ठाघरमा दुई दाजु (एकजना बैंकर र दोस्रो व्यापारी) पछि उनको जन्म भएको हो। शिक्षित परिवारमा जन्मिएकी श्रृष्टी पढाईमा अब्बलै थिइन्।

श्रृष्टी कार्यक्रमको तयारीमा व्यस्त रहँदा मैले उनको आमा र बुवासँग कुरा गर्ने मौका छोपिहाले।

‘बच्चामा ऊ निकै चञ्चले थिईन्। कुनै पनि कुरामा प्रतिवाद गरिहाल्ने। वकिल बन्छे कि भन्ने लागेको थियो,’ बुवा राजेश्वरमान केसीले सुस्केरा लिँदै भने।
सानोमा उनको गायन र नृत्य कला पनि राम्रो थियो।

कक्षा ८ मा अध्ययनरत रहँदा एक्कासी उनको आँखा चिलाउन थाल्यो। डाक्टरले गलत औषधि दिए। उनको आँखामा जलविन्दु भयो। दुई वर्षभित्रै उनी केही नदेख्ने भइन्।

‘एसएलसी परीक्षा दिएलगत्तै २०६५ सालमा उसले आँखा देख्न छोडी,’ आमा परमेश्वरीको आवाज एकछिन रोकियो।

याे पनि हेर्नुहाेस।

श्रृष्टि अहिले पनि पुरानो कुरा यसरी सम्झिन्छिन्, ‘सुरुमा त मलाई संसार नै सकियो जस्तो लागेको थियो। घर बस्दा बस्दै डिप्रेसन होला जस्तो भयो।’

यति बेला उनले स्कुलमा शिक्षकहरूले भनेको एउटा वाक्य सम्झिइन्, ‘तिमीले त नाचेर पनि पेट पाल्न सक्छौं।’

उनी विगतमा फर्किइन्, ‘मैले उहाँलाई फोन गरेर म स्कुलमा डान्स सिकाउन आउछु भने। उहाँले हुन्छ भन्नुभयो। यसपछि मैले आफैंले पढेको सिद्धार्थ विद्यापिठ स्कुलमा डान्स सिकाउन थाले।’

सुरुमा उनलाई देख्नेहरू भन्ने गर्थे–लौं यसको जिन्दगी वर्वाद भयो।

तर, मनमा उनले अठोट गरिसकेकी थिइन्, एकदिन आमालाई गर्व हुने काम गरेर देखाउँछु।

‘आमाको आशुलाई आफ्नो शक्ति बनाए। मैले एसएलसीको रिजल्ट आउने वित्तिकै कलेज खोज्न थाले,’ उनले भनिन्, ‘दृष्टीविहिन भएकै कारण थुप्रै कलेजले मेरो भर्ना अस्विकार गरे।’

याे पनि हेर्नुहाेस।

तर, डिल्लिबजारको कन्या मल्टिपल कलेजले उनको भर्ना स्विकार गर्यो। यति बेला उनले जीवनकै सबैभन्दा कठिन समय गुजारेकी थिइन्।

‘१० कक्षासम्म पढ्दा सबै देख्थे। तर, आईएपछि ‘ब्रेललिपि’ मा पढ्नु पर्दा निकै गाह्रो भयो।’

तर, यति हुँदा पनि उनले २०६५ सालमा आईएमा त्रिभुवन विश्वविद्यालय टप गरिन् र राष्ट्रपतिवाट अवार्ड पाइन्।

२०६९ सालमा पनि नेपाली साहित्यमा टियु टप गरेर स्नातकको परीक्षा पुरा गरिन्।

‘म आँखा देख्दा कहिल्यै ‘फस्ट’ भईन् तर दृष्टिविहिन भएपछि कहिल्यै सेकेन्ड हुनु परेन,’ उनी भन्छिन्।

कुराकानी कै क्रममा श्रृष्टीले अनुहारको मेकअप पुरा गरिन्। उनीसँगै स्कुटीमा गठ्ठाघर चौकमा रहेको उनको कार्यालय ‘ब्ल्यान्ड रक्स’ पुगेपछि उनले यो खोल्नुको उद्देश्य बताइन्।

याे पनि हेर्नुहाेस।

‘सन् २०१२ मा भारतको केरलास्थित कान्थार इन्टरनेशनलबाट मैले महिला सशक्तिकरण, सामाजिक न्याय, नृत्यलगायत विषयमा तालिम लिएपछि मलाई लाग्यो नेपालमा पनि यस्तै काम किन नगर्ने?’

दृष्टिविहिन भएपछि उनले जीवनलाई नजिकबाट नियालेकी छिन्। उनी आँखा देख्नुभन्दा नदेख्नुको मज्जा निकै हुने बताउँछिन्। भन्छिन्, ‘तपाईहरू बाहिरको विकृति देखेर निकै ‘डिस्टर्ब’ हुनुहुन्छ। हामीले नचाहिँदा कुरा देख्दैनौ। त्यसैले तपाईहरू भन्दा हाम्रो दिमाग शान्त र आनन्दमय हुन्छ।’

सन् २०१५ मा युरोपेली महासंघको नियमित कोटाबाट उनी ‘कोरियोमण्ड्स इन्टरनेशनल जाइन्ट्स मास्टर्स डिग्री इन डान्स एन्थ्रोपोलिजिका’ गर्न नर्वे हानिइन्। उनी यो कोर्ष गर्ने विश्वको पहिलो र एकमात्र दृष्टीविहिन हुन्। डिग्रीको ४ वटा सेमेस्टर भिन्न भिन्न देश नर्वे, फ्रान्स, हंगेरी र बेलायतबाट गर्नुपर्ने हुन्छ।

श्रृष्टीले अन्तिम सेमेस्टर बेलायतको रोहाम्छेन विश्वविद्यालयबाट पुरा गर्दा आफ्नो बुवा–आमालाई कालो टोपी शीरमा लगाएको हेर्न नेपालबाट बोलाएकी थिइन्।

त्यो घटना अहिले पनि उनको स्मृतिमा सबैभन्दा सुखद् क्षण भएर बसेको छ। भन्छिन्, ‘मेरो आँखा बिग्रिएपछि चिन्ताले रुने मेरी आमा त्यतिबेला निकै खुसी हुनुहुन्थ्यो।’

याे पनि हेर्नुहाेस।

त्यसैले हिजोआज उनी घमण्ड गर्छिन्, ‘दृष्टीविहिन भएपनि आमाको गर्विलो छोरी बन्न सफल भएकोमा।’

श्रृष्टी हिजोआज ‘ब्लाइन्ड रक्स’ नामक संस्थामार्फत स्वदेश र विदेशमा ‘मोटिभेशनल स्पिच’ दिन व्यस्त रहन्छिन्। आफैले तालिम लिएको केरलाको कान्थारी ईन्टरनेसनल ईष्टिच्युटमा वर्षको एकपटक २ महिनाको लागि ‘गेष्ट स्पिकर’को रुपमा तालिम दिन जान्छिन्।

नेपालमा एकपटक ‘स्पिच’ दिँदा उनी २० देखि ३० हजारसम्म पारिश्रमिक लिन्छिन्। कुनै संस्थाले पैसा नदिएर सेतो छडी दिन्छन्। उनी त्यो छडी दृष्टिविहिनलाई बाँड्ने गर्छिन्।

यति बेला उनी भदौ २१ मा आयोजना हुन लागेको ‘मिस्टर एण्ड मिसेज ब्लाइन्ड रक्स’ प्रतियोगिताको तयारीमा जुटेकी छिन्।

 

 

 

 

 

 

 

याे पनि पढ्नुहाेस।

श्रीमान् विदेशमा बेपत्ता भएपछि बदलिएको कल्पनाको जिन्दगी (भिडियोसहित)

हिरोइन बन्ने शौख पालेकी दीपा यसरी बनिन् डाक्टर (भिडियोसहित)

प्रकाशित मिति: : 2019-08-26 19:35:45

प्रतिकृया दिनुहोस्