झुमा लिम्बु, रैथाने सङ्गीतकी अभियन्ता

तस्बिरः बिएल

सांगीतिक क्षेत्रमा संगीत सिकेर नआउने छोटो समयका लागि चर्चा कमाउने अनि कुहिरोको कागझैं हराउने प्रसस्तै छन् यहाँ।

त्यस्ता कतिपय मान्छेलाई हामीले देख्दै र सुन्दै आइरहेका छौं। यसो भनिरहँदा साङ्गीतिक क्षेत्रमा लामो समयदेखि संघर्ष गरेर, रातदिन यसैमा समर्पित एवं स्थापित व्यक्तित्वहरु पनि छन्।

गीत सङ्गीतलाई नै जिन्दगी ठानेर आफ्नै मस्तिमा आनन्दमय जीवन बिताइरहने थोरै श्रष्ठा मध्येकी एक हुन् गायिका झुमा लिम्बु।

यो पनि हेर्नुहोस्- बाको लासमाथि खेलेको त्यो पल

पूर्वी नेपालको ताप्लेजुङ मैवा खोला- २ ढुङ्गे साँघुमा जन्मिएकी उनको बाल्यकाल गाउँमै बित्यो। स्थानीय ठोट्ने प्राविबाट औपचारिक शिक्षाको सुरुवात गरेकी उनले मौवाखोलाबाट एसएलसी उत्तीर्ण गरिन्।

सानैलेखि पढाइमा अब्बल उनी पहिलो हुन नसकेपनि उनी तेस्रो कहिल्यै भइनन्। सधै दोस्रो भइरहिन्। 'प्रथम हुन त कहिल्यै सकिएन मात्र दोस्रो भइरहेँ, उनले भनिन्।

कक्षामा दोस्रो-तेस्रो हुनु भनेको पढाइमा राम्रै मानिन्छ। सात-आठ कक्षासम्म राम्रो पढाइ भए पनि पछि खै किन हो उनलाई पढ्ने मन नै लागेन छ। कुराकानीकै क्रममा उनी थप्छिन् –तर पनि एसएलसीमा पास भएँ। यसमा खुसी छु। उनलाई स्कुल जान मन नभए पछि बाबाले फकाएर पठाउनुहुन्थ्यो। 'एकदिन स्कुल गएको थिइनँ। पछि त्यो कुरा बाबालाई थाहा भएछ, मलाई त्यस दिन बाबाले फकाएर स्कुल लैजानु भएको भयो र छुट्टी नहुन्जेल गेटमा कुरिरहनु भएको थियो, उनले भनिन्।

३६ वर्षिय झुमा सङ्गीतमा २०५८ सालबाट लागेकी हुन्। उनको पहिलो गीत २०६० सालमा रेकर्ड भएको थियो। सुरूमा बजारमा आएको त्यही 'ए साइला....' बोलको गीत सर्वाधिक रूचाइयो। त्यस गीतमा उनैले आवाज दिएकी थिइन्।

बाल्यकालमा पनि स्कुलका विभिन्न कार्यक्रमहरुमा भाग लिने गर्दथिन् झुमा। उनी भन्छिन्, 'यदि म लिम्बु परिवारमा नजन्मिएको भए सायद दर्शक र स्रोताले मलाई चिन्न हुन्थेन होला। म गायिका पनि बन्ने थिइनँ।'

लिम्बु जातिमा अरू जातिमा जस्तो रोकटोक नहुने भन्दै उनले अगाडि भनिन्, 'मैले बुवा आमालाई कहिल्यै टेरिनँ, सानैबाट म मेरा चाहनाको पछाडि दौडिने गर्थेँ। सानो हुँदा लोक दोहोरी, पप र आधुनिक गीत सुन्दै हुर्किएकी झुमा २०५८ सालबाट आराधना संगीत सुरू गरिन्।

'धरानमा मेरा गुरूहरू चन्दन कुमार श्रेष्ठ, चन्डिप्रसाद काफ्ले हुनुहुन्थ्यो। उहाँहरुसँग धेरै सिक्ने मौका पाएँ। पछि वरिष्ठ सङ्गीतकार गायक अम्बर गुरूङ मेरो गुरू बन्नुभयो। १० वर्षसम्म अम्बर गुरूङसँग सङ्गीत सिकिरहँदा मलाई आनन्द महसुस भयो', विगतका दिनहरू सम्झिँदै उनले सुनाइन्, 'उहाँले सैद्धान्तिक शिक्षालाई जोड दिएर सिकाउनुहुन्थ्यो। उहाँको सिकाउने शैली मलाई अझै मनपर्छ।'

झण्डै दुई दशक सङ्गीत क्षेत्रमा बिताइसकेकि झुमाले हालसम्म ४०० भन्दा बढी गीतमा आवाज दिइसकेकि छन्। कुशल लय शब्द सङ्कलक समेत रहेकी झुमा रैथाने सङ्गीतलाई माटोको आवाज भन्न रूचाउँछिन्।

लिम्बलेु हालसम्म विभिन्न देशमा गएर सांगीतिक क्षेत्रमा थुप्रै प्रशिक्षणसमेत लिएकी छन्। 'सङ्गीत अथवा कुनै पनि विषय किन नहोस् व्यवहारिक ज्ञान मात्र भएर हुँदैन सँगै सैद्धान्तिक ज्ञान हुन जरूरी हुन्छ। म कहिल्यै खालि बस्दिनँ। खालि भएको समयमा किताबहरु पढिरहन्छु र नजानेको अरुलाई सोध्छु। कसैलाई सोध्ने क्रममा लाज नमानिकन सोध्नुपर्छ', उनले भनिन्।

२०५८ सालको अन्तिम तिर काठमाडौं आएकि लिम्बु सङ्गीतमा भर्ना हुन रत्न राज्य क्याम्पसमा पुगेकी थिइन्। क्याम्पसमा राजनीति हाबी भएकाले नियमित कक्षा नहुँदा उनलाई त्यहाँ दिक्क लाग्यो। त्यसपछि उनी हिँडिन् ललितकला क्याम्पसतिर । उतै भर्ना भइन्।

राष्ट्रियय धुनसमेत लोक संगीतमा भएको बताउने लिम्बु सङ्गीतमा धेरै रसहरू भएको बताउँछिन्। निकै गम्भीरतापूर्वक उनले भनिन्, 'मलाई आधुनिक रस मन पर्छ। मुन्दुम् गाउन अव्यस्त भइसकेकि लिम्बु रिसर्चरसमेत हुन्।

रिसर्चकै क्रममा उनी कयौपटक पूर्वी नेपालको पाँचथर,तेह्रथुम, इलाम, ताप्लेजुङलगायतका स्थानमा गएकि थिइन्।

'हामीले अहिले मुन्धुममा काम गरिरहेका छौँ। त्यो पनि हाम्रो काम कच्चा पदार्थको रूपमा हो। एउटा फलामजस्तो, जसलाई हतियार बनाउन समय लाग्छ नै। आउने पुस्ताले त्यसलाई झनै मजाले लिएर जाने हो। यसरी आउने अर्को–अर्को पुस्तालाई काम गर्ने वातावरण राम्रो हुँदै जान्छ', उनले भनिन्।

'हामी मुन्धुममा काम गरिरहेका छौँ। अन्य समुदायका मानिस पनि संगीतमा छँदैछन्। हरेक समुदायको मान्छेलाई आफ्नो संगीतको माया त छँदैछ। त्यसका लागि चाहिँ संगीत पढ्नुपर्‍यो। म्युजिकोलोजी पढ्नुपर्‍यो।

अहिलेको संगीतको बजार र व्यावसायिकताको कुरा अर्कै हो। रैथाने संगीतको ठाउँ अर्कै हो। व्यावसायिकता भनेको संगीतलाई प्रयोग गरेर आफू बाँच्ने हो। आफू बाँच्ने र परिवार बचाउने संगीत पनि चाहिन्छ। तर रैथाने, आफ्नो अस्तित्व र पहिचान जोडिएको संगीत पनि मर्न हुन्न। यसका लागि इच्छाशक्ति ठूलो कुरा हो, संगीतकै लागि काम गरौँ भन्ने मानिस निकै कमै हुन्छन्।

बाहिर सुन्दा उनको आवाज निकै कडा जस्तो लागे पनि उनको भित्रि हृदय सफा छ। दिन दुःखीप्रति सहयोगी भावना उत्तिकै छ उनमा। 

बिएल नेपाली सेवासँगको कुराकानीमा उनले भनिन्,– लोक गीत र मेरो आफ्नै माटोबाट निस्किएको रसलाई संसारभरि चिनाउन चाहन्छु।'

विभिन्न स्वदेशी र विदेशी गुरूबाट सङ्गीतको तालिम लिइसकेकी लिम्बुको चाहना रैथाने सङ्गीतको विकास गर्नु छ। यति बेला उनको रैथाने नामक संस्थाले नेपालीको माटोबाट सिर्जित सङ्गीतलाई उठाउनमा सहयोग गरिरहेको छ।

अन्याय अत्याचार सहन नसक्ने झुमा सङ्गीतमा पनि क्रान्ति ल्याउन चाहन्छिन् अहिलेको गीतसङ्गीतको चर्चा गर्दै उनले भनिन्, 'हालको गीत सङ्गीतमा मौलिकता छैन गीत सुन्दा पनि निस्तो भात खाएजस्तो लाग्छ।'

हिन्दी टोनलाई कपि नगर्न सर्जकलाई सुझाव दिन्छिन् उनी। झुमा भन्छिन् सङ्गीतभित्र पनि विकृति छ, यसलाई बिस्तारै निर्मुल पार्दै जानुपर्छ कला पनि समाजको ऐना हो। त्यसैले रैथाने संकृतिको उत्थान र त्यसको उठान गर्नमा सहयोग गरिदिन सबैसँग अनुरोध गरिन्। 'हामीले पनि आफ्नो सङ्गीत संस्कृतिलाई जिवन्त बनाउन लागि पर्नुपर्छ।

'नेपालमा अझै सङ्गीतमा राम्रोसँग पढाइ हुने गरेको छैन। विद्यार्थीलाई कसरी पढाउने कसरी कक्षालाई रोमाञ्चक बनाउने यहाँका गुरुलाई थाहै छैन। जबसम्म हामी सङ्गीतको सैद्धान्तिक पक्षलाई अध्ययन गर्न सक्दैनौं तबसम्म हामी सङ्गीतमा निपूर्ण पनि हुन सक्दैनौ', उनले भनिन्, 'सङ्गीतको व्यवहारिक पक्षलाई मजबुत बनाउन सङ्गीतको सैद्धान्तिक पक्षलाई अध्ययन गर्नु नै पर्छ।'

अझ, अहिलेको पुस्ताले पहिलेको पुस्ताजसरी साधना गर्न नसक्ने भन्दै उनले भनिन्- अधिकांशलाई दुई–चार वर्ष संगीत सिकेपछि पुग्यो भन्ने लाग्छ। पहिलेको पुस्ता आफैँ गीत लेख्न, पढ्न, आफूले गरेको संगीतमाथि न्याय दिएर बोल्न सक्थे। अहिलेको पुस्ता कसलाई कति राम्रो देखियो, कसको गीत कति सुनियो भन्ने कुरामा अल्झिएको छ। संगीतलाई गम्भीर रूपमा लिनुपर्नेमा कतिपयले मजाक ठानिरहेका छन्। तर, सबैले होइन। अहिले यसरी अल्झिएकाहरू पनि एक दिन रैथाने संगीतमै फर्किनेछन्, जब उनीहरूलाई पहिचानको संकट पर्नेछ।

दशैंको कारणले काम गर्न नपाएको र दशैं पश्चात पेन्डिङमा रहेका सम्पूर्ण गीतहरुलाई निरन्तरता दिने उनले बताइन्।

उनका कामकाजका आफ्ना छुट्टै तालिका छन्। समयको महत्वलाई ध्यान दिएर साङ्गीतिक गोरेटोमा अनवरत पाइला चालिरहेकी हक्की र निडर स्वभावकी झुमाको अर्को विशेषता सत्य र न्यायको पक्षमा आवाज उठाउनु हो।

सङ्गीतले हृदयको आवाज पनि बोल्छ। समाज परिवर्तनको उचित मार्ग पनि हो सङ्गीत। यस्तो सुमार्ग अपनाएर सुकर्ममा लागिपरेकी झुमाको उत्तरोत्तर प्रगतिको कामना।

प्रकाशित मिति: : 2019-09-30 18:02:45

प्रतिकृया दिनुहोस्