भक्तपुरमा निर्वाचन तयारी पूरा, यातायात सञ्चालनमा रोक

फाइल तस्बिर: बिएल

भोली मंसिर १४ गते भक्तपुर क्षेत्र नं १ को प्रदेश क मा हुने उपनिर्वाचनको सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचनका लागि आवश्यक कर्मचारी र निर्वाचन सामग्री मतदान केन्द्रसम्म पुगिसकेको कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन कार्यालयले शुक्रबार मतदाता परिचय पत्र समेत वितरण गरेको छ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मतदान केन्द्र, मतदान स्थल र निर्वाचन हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिने बताउँदै सुरक्षाको हिसाबले सम्पूर्ण तयारी पुरा भईसकेको बताए।

मतदानस्थलमा नेपाल प्रहरी, बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गर्ने तयारी छ। प्रजिअ भट्टले सादा पोशाकमा सुरक्षाकर्मी पनि आवश्यकताअनुसार तैनाथ हुने बताए।

निर्वाचनका दिन मध्यपुरथिमिको राधेराधेदेखि अरनिको राजमार्गको उत्तरतर्फको क्षेत्रमा १३ गते राति १२ बजेदेखि १४ गते रातिसम्म यातायातको साधन सञ्चालनमा रोक लगाउने निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन हुने क्षेत्रहरुमा अनुमति पत्र पास बाहेकका सवारी साधनलाई पूर्णरुपमा रोक लगाइनेछ। प्रदेशको निर्वाचनका लागि ९ दलका ९ उम्मेदवार र १० स्वतन्त्र उम्मदेवार गरी कूल १९ जना चुनावी मैदानमा रहेका छन् । यस प्रदेशमा २२ मतदान स्थल र ५४ मतदान केन्द्र रहेका छन्।

प्रकाशित मिति: : 2019-11-29 17:37:18

प्रतिकृया दिनुहोस्