एकदिवसीय क्रिकेटमा भारतीय कप्तान विराट कोहलीसँग अनगिन्ती कीर्तिमान छ। तर, उनी आइतबार अस्ट्रेलियाविरूद्ध मैदानमा उत्रिँदा अर्को कीर्तिमानलाई आफ्नो नाममा लेखाउन आतुर रहने छन्।
विराट अस्ट्रेलियाविरूद्ध एकदिवसीयमा सर्वाधिक सतक बनाउने भारतीय ब्याट्सम्यानको सूचीमा आफूलाई अगाडि राख्ने अभियानमा छन्। यो कीर्तिमान सचिन तेन्दुलकरको नाममा छ। सचिनले अस्ट्रेलियाविरूद्ध एकदिवसीयमा ९ सतक बनाएका छन्।
विराटले पनि ८ वटा सतक बनाइसकेका छन्। आइतबार खेलमा सतक बनाएर उनी सचिनको बराबरी गर्ने अभियानमा छन्।
अस्ट्रेलियाविरूद्ध विराटको प्रदर्शन उत्कृष्ट छ। उनी कङ्गारुविरूद्ध रन बनाउने मामिलामा तेस्रो नम्बरमा पर्छन्। उनले ३४ खेलमा ५३ दशमलव ०६ को औषतले १६ सय ४५ रन बनाइसकेका छन्।
भारतले विश्व कपअन्तर्गत आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरिसकेको छ।