विश्व कपअन्तर्गत वेष्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण रद्द भएको छ। साउथहाम्पटनमा भएको खेल वर्षाका कारण ७ ओभर मात्र सम्भव भयो। दुवै टिमले १–१ अंक बाँडे।
पछिल्लो तीन वटा खेल इंग्ल्यान्ड, बंगलादेश र भारतसँग पराजय भोगेको अफ्रिकी टोलीले पहिलो अंक जोडेको हो। टस जितेर वेष्ट इन्डिजले ब्याटिङका लागि अफ्रिकालाई क्रिजमा बोलाएको थियो।
अफ्रिकाले ७ दशमलव ३ ओभरमा २९ रन जोड्ने क्रममा २ विकेट गुमाइसकेको थियो। दुवै विकेट सेल्डन कोटरेलले लिएका थिए। हासिम अमला ६ र एडेन मार्करामलाई ५ रनमा आउट गरेका थिए। वेष्ट इन्डिजको तीन खेलबाट ४ अंक भएको छ। खेल रद्द हुँदा कप्तान फाफ डुप्लेसिस (०) र क्विन्टन डिकोक (१७) क्रिजमा थिए।
यसपालिको विश्व कपमा वर्षाका कारण दोस्रो पल्ट खेल प्रभावित भएको हो। यसअघि ब्रिस्टलमा पाकिस्तान र श्रीलंकाबीच भएको खेल पनि वर्षाका कारण प्रभावित बन्न पुगेको थियो।