पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतविरूद्धको खेलमा टस जितेको खण्डमा ब्याटिङ गर्न आफ्नो टिमलाई सुझाव दिएका छन्।
आफ्नो कप्तानीमा सन् १९९२ को विश्व कप पाकिस्तानलाई जिताएका इमरान करिब १० महिनाअघि प्रधानमन्त्री नियुक्त भएका थिए।
पाकिस्तानलाई विश्व कप जिताएलगत्तै क्रिकेटबाट सन्यास लिएका इमरान त्यसपछि राजनीतिमा होमिएका थिए।
इमरानले भारतीय क्रिकेटर सुनिल गावस्करको भनाई प्रति पनि सहमति जनाएका छन्। इमरान र सुनिलले उस्तै उमेरमा पाकिस्तान र भारतबाट अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिनिधित्व गरेका थिए। ८० को दशकमा जहाँ सुनिल विश्वको उत्कृष्ट ब्याट्सम्यानमा गनिन्थे, त्यही इमरान पनि अलराउन्डरको रुपमा चर्चित थिए।
पाकिस्तानविरूद्धको खेल अगाडि सुनिलले जितको मन्त्र भनेको ६० प्रतिशत खेलाडीको बलियो मानसिक अवस्था र ४० प्रतिशत उसको खेल्ने क्षमतामा भर पर्ने बताएका थिए।
सुनिलको भनाईप्रति सहमति जनाउँदै इमरानले ट्वीट गरेका छन्, ‘पहिले क्रिकेट खेल्दा मलाई लाग्थ्यो। खेलाडीमा ७० प्रतिशत खेल्ने क्षमता हुनुपर्छ बाँकी ३० प्रतिशत दिमागको उपज हो।’
उनले अगाडि भने, ‘सन्यास लिँदासम्म यसको दुरी ५०–५० प्रतिशत हुनुपर्छ भन्ने मलाई लागेको थियो।’ तर, अहिलेको अवस्थामा आफू गावस्करको भनाई प्रति सहमत भएको भन्दै उनले लेखेका छन्, ‘जितका लागि ६० प्रतिशत बलियो मानसिक अवस्था र ४० प्रतिशत खेल्न सक्ने खुबी हुनुपर्छ भन्ने मेरो साथी गावस्करको भनाई प्रति पूर्ण सहमत छु।’