भारतको जितमा अमित शाहको राजनीतिक बयान– भारतले फेरि पाकिस्तानलाई स्ट्राइक गर्यो

तस्वीरः एजेन्सी

विश्व कपको बहुप्रतिक्षित खेलमा पाकिस्तानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमको आधारमा ८७ रनले पराजित गरेपछि भारतीय गृह मन्त्री अमित शाहको राजनीतिक बयान बाहिर आएको छ।

उनले ‘टिम इन्डिया’ लाई बधाई दिने क्रममा ट्वीट गरेका छन्, ‘भारतको तर्फबाट पाकिस्तानलाई अर्को स्ट्राइक। परिणाम त्यही निस्कियो। पुरै टिमलाई उत्कृष्ट प्रदर्शनका लागि बधाई। सबै भारतीयलाई यो जितप्रति गर्व छ र जितको उत्सव मनाइरहेका छन्।’

बर्षाले प्रभावित खेलमा भारतले पहिलो ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ३ सय ३६ रन बनाएको थियो। पाकिस्तानले ‘डकवर्थ एन्ड लुइस’ नियमको आधारमा ४० ओभरमा ३ सय २ रनको लक्ष्य पाएको थियो। तर, पाकिस्तानी टोली ६ विकेटको क्षतिमा २ सय १२ रनमा खुम्चियो।

भारतमा अहिले सर्जिकल स्ट्राइकको खुब हल्ला छ। लोकसभा निर्वाचन अगाडि भारतले पाकिस्तानमा प्रवेश गरेर आतंकवादीहरूको अड्डामा ‘एयर स्ट्राइक’ गरेको दावी गर्दै आइरहेको छ। यो घटनाका कारण लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) लाई फाइदा पुगेको थियो। बिजेपी पहिलो पल्ट पूर्ण बहुमतसहित दोस्रो कार्यकालका लागि सरकार बनाउन सफल भएको थियो।

लोकसभा निर्वाचनको सफलतापछि अमित शाह पहिलो पल्ट गृह मन्त्री नियुक्त भएका थिए।

प्रकाशित मिति: : 2019-06-17 10:36:10

प्रतिकृया दिनुहोस्